अर्काे महामारीकाे तयारीः भुपेन्द्र लामा

संक्रमणिय रोग आँखाले नदेखिने सुक्ष्मजीवहरू जस्तै व्यक्टेरिया, भाइरस, प्यारासाइट, फन्जाइ आदिले लगाउँदछ । पृथ्वीमा अनगिन्ती प्रजातिका सुक्ष्मजीवहरू पाइन्छन् । वातावरणीय प्रभावका कारण तिनका जीनहरुमा बदलाव र अन्य सुक्ष्मजीव, जनावर वा मनिसको जीनसँग ति सुक्ष्मजीवहरुको जीनको मिश्रणका कारण नयाँ प्रजातिका सुक्ष्मजीवहरुको उत्पति भइरहेको हुन्छ ।

सबै सुक्ष्मजीवहरुले मानिसमा रोग लगाउँछ भन्ने भने होइन, कतिपय त मानिसको लागि उपयोगी पनि सावित भएका छन् । समय समयमा नयाँ किसिमको सुक्षमजीवहरुले मानिसमा नयाँ रोग लाग्ने गरेको छ । पहिला देखिनै लाग्दै आएको रोगहरुको अलावा उदयमान एवं पुनः उदयमान संक्रमणिय रोगहरुले विश्वलाई नै आक्रान्त परिरहेको छ । सामन्यतय संक्रमणिय रोगहरु निश्चित भुगोलमा सिमित भएको पाइन्छ तर आजको भुमण्डलिकरणको युगमा मानिसहरुको सहज आवागमनका कारण संक्रमणिय रोगहरुले विश्वव्यापी महामारीको रुप लिने सम्भावना अझ बलियो भएको छ ।

हाल विश्वभरी नै नयाँ कोरोना भाइरसको संक्रमण (कोभिड-१९) फैलिएको छ र नेपाल पनि त्यसबाट अछुतो छैन । यस बखत नेपालमा पाँच संक्रमित व्यक्तीको प्रयोगशाला परिक्षणबाट पुष्टि भएको छ भने सरकार यसको रोकथाम तथा नियन्त्रणको लागि विभिन्न कदम चालिरहेको छ । यसको पुर्वतयारी गतिलो नभएको हुँदा रोकथाम र नियन्त्रणको कदमहरु अत्यन्त सकसपूर्ण भएको देखिन्छ ।

महामारीको कुनै निश्चित देश हुदैन, न त यसलाई कुनै सिमाले छेक्न सक्छ । महामारी आइरहन्छन्, गइरहन्छन्, संक्रमणजन्य सुक्ष्मजीवहरुको उदयमा मानिसको सायदै नियन्त्रण रहन्छ । महामारी पछि अर्को महामारी कुर्नु मानाव समाजको बाध्यता जस्तै भएको छ । एउटा महामारीसँग जुध्दै, त्यसबाट सिक्दै अर्को महामारीको तयारी गर्नु आवश्यक देखिन्छ ।

यसै सन्दर्भमा राष्ट्रिय, अन्तर्राष्ट्रिय अनुभवलाई मध्यनजर गर्दै मौजुदा महामारीबाट सिकेर अर्को महामारीको तयारी कसरी गर्ने भन्ने विषयमा यो आलेख तयार पारिएको हो ।

जनस्वास्थ्य संरचनाको मजबुतिकरण

कुनै पनि देशले महामारी सँग लड्नको लागि आफ्नो जनस्वास्थ्य प्रणालीलाई बलियो बनाउनु पर्दछ । जनताको स्वास्थ्य सुरक्षा, निगरानी, जनसंख्या स्वास्थ्य मुल्यांकन, स्वास्थ्य प्रवर्द्धन जस्ता आयामहरु बलियो भएको देशहरुले महामारी विरुद्धको संघर्षमा सजिलै जित हासिल गरेको पाइन्छ ।

हरेक तहको सरकारहरु बीच समन्वय र सहकार्य गरि संसाधन युक्त मजबुत सांगठनिक संरचना निर्माण गरिनु पर्दछ । यस अन्तर्गत संक्रमणिय रोग सम्बन्धि एक विषेश निकायको गठन गरिनु पर्दछ । हरेक स्थानिय तहमा संक्रमणिय रोग रोगथाम तथा नियन्त्रण अधिकृतको व्यबस्था गरिनु पर्दछ । साथै गुणस्तरिय एवं उन्नत स्वास्थ्य सेवाको प्रत्याभूती हरेक स्थानिय तहहरुमा पुर्याउन आवश्यक देखिएको छ । त्यस्तै संक्रमणिय रोगको महामारी रोकथाम तथा नियन्त्रण तथा आपतकालीन परिस्थितिको पुर्वतयारीको लागि मजबुत राष्ट्रिय रणनीति बनाउनु पर्दछ ।
संक्रमणिय रोगको निगरानी, महामारी अनुसन्धान तथा व्यवस्थापनको लागि क्षमता अभिवृद्धि

महामरीजन्य रोगहरुको निगरानी, अनुसन्धान नै रोग विरुद्ध लड्ने प्रमुख हतियार हो । यसले महामारी व्यवस्थापनमा ठूलो सहयोग पुर्याउदछ । विभिन्न विषय विज्ञहरुको कार्यदल बनाइ जनस्वास्थ्य प्रशासन र वैज्ञानिक समुदायको बीच समन्वय र सहकार्यको मार्ग प्रसस्त गरिनु पर्दछ ।

इपिडिमियोलोजी, वातावरण र मानविय जोखिम जस्ता आयमहरुको विज्ञानिक अनुसन्धानका निष्कर्षहरुको अध्ययन गरि सुझावहरुको कार्यान्वयनमा जोड दिनु पर्दछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई मजबुत बनाई यसको काम कार्यवाहीलाई चुस्त र प्रभावकारी बनाउनु पर्दछ । साथै स्वास्थ्य वैज्ञानिक, इपिडिमियोलोजिष्टहरुको क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनु पर्दछ ।

प्रयोगशालाहरुको भुमिका सुदृढीकरण

विश्वमा भएका विभिन्न महामारीहरुले जनस्वास्थ्य र स्वास्थ्य सेवामा प्रयोगशालाको महत्त्व दर्शाएको छ । जनस्वास्थ्य प्रयिगशालाहरु नै रोगको कारक सुक्ष्मजीव पत्ता लगाउने, त्यसको निगरानी गर्ने र आपतकालीन परिस्थितिमा शिघ्र प्रतिक्रिया जनाउने मुख्य केन्द्र हो । हाल देश एकमात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परिक्षणको चाप बढ्दो मात्रामा छ ।

अत्याधुनिक जनस्वास्थ्य प्रयोगशालाहरुको स्थापना देशको विभिन्न भुगोलमा गरिनु पर्दछ । हुन त प्रदेश सरकारहरुले पनि आफ्नो आधरभुत स्तरको जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्दै छन् । यस्ता प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाहरुलाई अत्याधुनिक बनाउनु पर्दछ । जनस्वास्थ्य प्रयोगशालालाई विविधीकरण गरि नमुना परिक्षणका अलावा इपिडिमियोलोजी अनुसन्धान, वातावरणिय अनुसन्धान, अप्लाइड र आधारभूत वैज्ञानिक अनुसन्धानको कामको जिम्मेवारी दिनु पर्दछ । त्यस्तै सुक्ष्मजैविक रिफ्रेन्स प्रयोगशालाहरुको स्थापना गरि आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन गरिनु पर्दछ ।

सबै जनस्वास्थ्य प्रयोगशालाहरुको संजाल निर्माण गरि समन्वय र सहकार्य गराउनु पर्दछ । यसका साथै अस्पतालका प्रयोगशालाहरुलाई पनि सुदृढीकरण गरि उन्नत प्रविधिको व्यवस्था गर्नु पर्दछ ।

जनशक्तिको विविधीकरण र क्षमता विकास

जनस्वास्थ्य प्रणाली नै दक्ष जनशक्तिको काँधम निर्भर रहेको हुन्छ । विभिन्न विषयगत क्षेत्रको दक्ष जनशक्तिको समन्वयत्मक कार्य नै जनस्वास्थ्य प्रणालीको बलियो आधार हो ।

नेपालको जनस्वास्थ्य प्रणालीलाई हेर्ने हो भने अधिकांश दक्ष जनशक्तिको अभाव रहेको देखिन्छ । संक्रमणिय रोग सम्बन्धि विशेष विज्ञता भएको पब्लिक हेल्थ माइक्रोवयोलोजिष्ट, मेडिकलरक्लिनिकल माइक्रोवयोलोजिष्ट, संक्रमण नियन्त्रण विशेषज्ञ, अस्पताल इपिडिमियोलोजिष्ट आदिलाई जनस्वास्थ्य सेवामा जोड्नु पर्दछ । मौजुदा जनस्वास्थ्य शिक्षाको समिक्षा गरि उच्च प्राविधिक एवं व्यवसायिक ज्ञान भएको जनशक्तिको उत्पादनमा जोड दिनु पर्दछ ।

उदयमान संक्रमणिय रोगको अनुसन्धानमा वृद्धि

संक्रमणिय रोग सम्बन्धी अनुसन्धानहरुले संभावित महामारीको पुर्व अनुमान र त्यसको रोकथाम, नियन्त्रण र उपचारमा अत्यन्त महत्वपूर्ण भुमिका निर्वाह गर्दछ । नेपालमा हाल धेरै न्यून मात्रामा उदयमान संक्रमणिय रोगको अनुसन्धान भएका छन् ।

अनुसन्धान प्रयोगशालाहरुको अभाव र लगानिको कमिको कारण कयौं स्वास्थ्य वैज्ञानिकहरु पलायन हुन बाध्य छन् । यस किसिमको अनुसन्धानमा वृद्धि गर्बको लागि अत्याधुनिक र नवीनतम प्रविधि युक्त विशेष अनुसन्धान केन्द्रहरुको स्थापना गरि बहुआयामिक अनुसन्धान जस्तै मोलिकुलर वायोलोजी, जीनोमिक्स्, डाटा एनलाइसिस्, वयोइन्फर्मेटिक्स् आदिको अध्ययन अनुसन्धान गराउनुपर्दछ ।

अतः मौजुदा महामारीको रोकथाम तथा नियन्त्रणको अभियानमा देखा परेका चुनौतीहरु बाट सिकेर अर्को महामारीको पुर्वतयारी गर्नु पर्दछ । मजबुत जनस्वास्थ्य प्रणाली, सुदृढ प्रयोगशाला, दक्ष जनशक्तिको व्यवस्थापन, रोगहरुको निगरानी तथा अनुसन्धान, मनोवैज्ञानिक तयारी जस्ता आयामहरुलाई विशेष जोड दिनु पर्दछ ।

यसका लागि राजनैतिक इच्छाशक्ति, असल सुचना संचार र यथेष्ट लगानी आवश्यक सर्तहरु हुन । आजैबाट अर्को महामारीको पुर्वतायरीलाई बलियो बनाउने हो भने भविष्यमा ठूलो मानविय क्षेती हुनबाट जोगिन सकिन्छ ।

लेखका पब्लिक हेल्थ माइक्रोवायोलोजीका विद्यार्थी हुन्

+ posts
Language »