असारे विकासमा सडकको अनावस्यक तडकभडक

कृष्ण गिरि /रावा बेसी गाउँपालिका,खोटाङ्ग

नेपालमा असारको दिनमा विकास बजेट खर्च गर्ने संस्कारनै बसेको छ । जब नेपाल सङ्घीय लोकतान्त्रिक गणतान्त्रमक मुलुक भयो त्यसपछि विकासमा केही सुधार भएको कुरालाई नकार्न सकिदैँन तर अधिकांस स्थानीय तहका जनप्रतिनिधिहरूको दिमागमा विकास भनेकै सडक मात्र हो भन्ने छाप बसेको देखिन्छ ।

स्थानीय तहमा भएको एउटा सडकलाई स्तर उन्नति गर्नुको सट्टा नयाँ नयाँ कोरिडोरहरू खोलिन्छ । सडकसडकमा घर हैन कि घरघरमा सडक पुर्याउने लहरनै चलेको छ । यस्तै लहर अन्तर्गत धेरै बजेट खर्च गरेर चार घरको बस्ती भएको ठाउँमा सडक पुर्याइन्छ । उक्त बजेटले त्यस बस्तीनै सडक छेउको उपयुक्त ठाउँमा सार्न पुग्छ । यसरी सार्नाले एकातिर पारिस्थितिक प्रणाली र पर्यावरणमा पर्ने क्षति जोगिन्छ भने अर्कोतिर बस्ती सहरीकरणको अवधारणातिर उन्मुख हुन्छ । जसको कारण अन्य सेवा तथा सुविधा वितरणमा पनि सहजता आउँछ ।

विनाश बिना विकास सम्भव छैन तर दिगो विकासको नीति अवलम्बन गर्नुको सट्टा भूमिपति र ठालुवर्गकै भूमिको मूल्य बढाउने उद्देश्यले सडक लम्ब्याउने र छोट्याउने गरिन्छ जसको कारण सयौं वर्षको इतिहास बोकेका सार्वजनिक सम्पदा लोप हुने स्थितिमा पुगेका छन् । त्यस्तै मुठी खाएर मुरी उब्जाउने समयको सडक निर्माणले कुलो तथा नहरमा नराम्ररी क्षति पुगेको हुँदा श्रमजीवी वर्ग किसानलाई सिंचाइमा समस्या आई उनीहरुको रोजिरोटी समेत धरापमा परेको छ ।

यसरी पहिलो आधारभूत आवश्यकता गाँसनै कटाई कम प्रयोगमा आउने जथाभावी खोलिने सडकको नयाँ कोरिडोरले मलाई लाग्दैन कि स्थानीय तहलाई फाइदा पुर्याउँछ । भुगर्भबिद्धको उपस्थिति बिना ठूलाले जता भन्यो उतै फित्ता कुदाउने दैनिक भत्ता हिसाब गर्ने जागीरे प्राविधिकको भरमा सिकारु अपरेटरले चलाइएको मेसिनले कति क्षति गर्ला कल्पना गर्नुस् त ? अनि क्षतिपूर्तिका नाममा गरीब जनता बाट रगत र पसिना मिश्रित उठाइएको करको पैसा ल यति उति भन्दै छरिन्छ । कति क्षति भएको छ निरीक्षण गर्नु पर्दैन ? के थाहा त्यो क्षतिपूर्ति बढी पो हुने हो कि ? नपुग्ने पो हो कि ?

यसरी न्यूनब्यक्तिहरूको हितको लागि अधिक ब्यक्तिहरूलाई अहित गरिन्छ भने त्यसलाई विकास मान्ने कि नमान्ने ? गम्भीर प्रश्न यो हो ? यहाँ मेरो भन्दा बढी चौतारीमा गफ गरेर बस्ने किसानको आक्रोशित आवाजलाई लिपिबद्ध गरेको छु। बरु कतिपय ठाउँमा “तेरो बाउको टाउको” लाई “हजुरको पिताको शिर”बनाएको छु । त्यसैले कुनै पनि ठाउँको विकास उक्त ठाउँको रीति,थिति, सस्कृति, जनसंख्या र भूगोललाई ख्याल गरि उपयुक्त समयमा अधिकांस जनताको उपभोगमा पहुँच पुग्न सक्ने हुनुपर्दछ ।

  • लेखक समसामयीक बिषयमा कलम चलाउने व्यक्ति हुन्
+ posts

Leave a Reply

Your email address will not be published.

Language »