सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आजदेखि भक्तपुरमा लकडाउन थप कडा: घर बाहिर निस्कन निषेध, सडक पसल पूर्ण बन्द

भक्तपुर। भक्तपुरमा दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि जिल्लास्तरीय विपद् व्यवस्थापन समितिले आज (बिहीबार)देखि लकडाउनलाई थप कडाई गर्ने भएको छ ।

बुधबार बसेको समिति बैठकले अत्यावश्यक कामबाहेक स्थानीयलाई घर बाहिर निस्किन नदिने निर्णय गरेको हो ।जिल्लामा कोभिड–१९ संक्रमणको उच्च जोखिम तथा समुदायमा विस्तारको खतरा देखिएकाले नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन र आवश्यक वस्तुबाहेक व्यापार, व्यवसाय, उद्योग सञ्चालनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।

त्यस्तै, संक्रमित व्यक्तिहरुको यात्रा विवरणका आधारमा अविलम्ब कन्ट्याक्ट ट्रेसिङ गर्ने, उनीहरुको बासस्थान सिल गर्ने, परिवारका सदस्यहरुको तुरुन्त कोरोना परीक्षण र आवश्यक परे आइसोलेसन र क्वारेनटाइनको व्यवस्था स्वास्थ्य कार्यालय र भक्तपुर अस्पतालले मिलाउने निर्णय समितिले गरेको छ ।

समितिले भक्तपुरबाट अन्यत्र जिल्लामा जाने गरी जारी गरिएका यसअघिका सबै सवारी पास खारेज गर्ने निर्णय गरेको छ । बैठकले भक्तपुर प्रवेश गर्ने र बाहिर जाने अति आवश्यक बाहेकका व्यक्ति तथा सवारी साधन निषेध गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

नगरपालिकाहरुले क्वारेन्टाइनको व्यवस्था गर्ने, वडाहरु मार्फत आफ्नो क्षेत्रमा बाहिरबाट आएकाहरुको लगत संकलन गर्ने, निगरानी गर्ने, कोरोना परीक्षण गराउने र त्यस्ता व्यक्तिहरुलाई आवश्यकता अनुसार क्वारेन्टाइनमा पठाउने काममा समन्वय गर्ने निर्णय गरेको प्रजिअ पाण्डेले बताइन् । बैठकले स्थानीय र सरोकारवाला निकायबाट खाद्यान्न तथा आपूर्तिको व्यवस्थापन तथा नियमनको काम गर्ने, विपन्न र खाद्यान्न अभाव भएकाहरुलाई राहत उपलब्ध गराउने निर्णय समेत गरेको छ

जिल्लाका पालिकाहरुले लकडाउनको समय वा अघि अन्यत्र गएर आएका व्यक्तिहरुलाई स्वास्थ्य परीक्षणबिना घरमा प्रवेश नदिन घरधनीलाई अनुरोध गरेको छ । जिल्लाको मध्यपुर थिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका वडा कार्यालयहरुले उपत्यका बाहिर गएर आएका नागरिकलाई स्वास्थ्य परिक्षण बिना प्रवेश नदिन अनुरोध गरेको हो । भक्तपुरमा बसोबास गर्ने दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्थानीय तहहरुले डेरा छोडेर गएका र लकडाउन बढेपछि र्फिता आएकाहरु निगरानी बढाएको हो ।

त्यसैगरी, मध्यपुरथिमि नगरपालिकाले उच्च सतर्कता अपनाउादै अरनिको राजमार्ग र पुरानो सडक बाहेक अन्य सहायक सडकहरुमा सार्वजनिक अवागमन पूर्णरुपले निषेध गर्ने निर्णय गरेको छ । नगरपालिकाले प्रेस विज्ञप्ती जारी गर्दै लकडाउनलाई कडाइ गर्नुका साथै सडक, पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

नगर क्षेत्रभित्र आफ्नो घर वा भाडामा बस्ने व्यक्तिहरु उपत्यका बाहिर गएको भए फर्कि आउन नदिने र आएको भए परिक्षण नगरी प्रवेश नदिन घर धनीलाई आग्रह गरेको छ । घरधनीले सजक नगराएको पाइए कारबाही गर्ने नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

नगरपालिकाले लकडाउनलाई प्रभावकारी बनाउन औषधी पसल तथा अति आवश्यक वस्तुका पसल बिहान ९ बजेसम्म मात्र संचालन गर्न दिने र अन्य व्यवसाय अर्को सूचना जारी नभएसम्म अनिवार्य बन्द गर्ने निर्णय गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »