एम्बुलेन्स् वालीसँग एक दिन: मिलन लामा दाेङ

काठमाडौँ । कोरोना भाइरस अर्थात कोभिड-१९ को निरन्तर रिपोर्टिङको क्रममा विभिन्न व्यक्तिहरुसँग भौतिक दुरी कायम गर्दै भेट्ने अवसर मिलेको थियो ।

कोभिड- १९ को बारेमा जनतालाई सचेतना जगाउनका लागि निरन्तर रिपोर्टिङकै क्रममा एक जना मित्रसँग मेरो सामाजिक संजालमा संवाद हुन थालेकोथियो । उहाँ पनि स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्ति भएको हुनाले कोरोना भाइरसको बारेमा बढी संवाद हुने गर्दथ्यो ।

लकडाउनको करिब ५५ या ५६ औं दिनमा उहाँले मलाई एक जना बहिनीको अन्तरवार्ता लिनका लागि मलाई करिव साँझको ८ बजे तिर सामाजिक संजाल मार्फत अनुरोध गर्नुभयो । मैले उहाँको विगत र वर्तमानको बारेमा बुझ्दै गएपछि अन्तरवार्ताका लागि म तयारी भएँ।

एक दिन मलाई एक्कासी अपरिचित नम्बरबाट फोन आयो । “दाई यता कतै खाना बाँड्ने ठाउँ छैन ?” एकछिन त म अक्मकिएँ ।

उनले फेरी बोलिन् “मलाई चिन्नु भएन । म लक्ष्मी थापा मगर । राममाया वाइवाको साथी । उहाँले नै दिनुभएको तपाईको नम्बर ।”

मैले उहाँलाई सरकारले सामुहिक खाना वितरण गर्ने सबै कार्य बन्द गरिसकेको हुनाले अहिले कतै नपाउने जानकारी दिएँ । तर मेरो मनले मानेन । एक मनले सोचचेँ घरमा नै बोलाएर खाना खुवाइ दिउँ । म आफैँले नचिनेको मान्छे कसरी रातको समयमा कोठामा बोलाउने ? मैले केहि निर्णय गर्न सकिन । फेरि उनीले नै फोन गरेर भन्दै थिइन् “दाई म बनेपा नै गएँ । मेरो रेष्टुरेन्ट छ । म त्यहीँ बस्छु ।”

त्यो रात साँच्चिकै भन्ने हो भने मलाई राम्रोसँग निन्द्रा नै लागेन । एक महिला, एक एम्बुलेन्स चालक । जो कोरोनाको समयमा एम्बुलेन्स चलाएर सेवा गरिहेको छ । मैले मनमनै सलाम गरे ती नारीलाई ।

करिव रातको दश बजे मेरो सामाजिक संजालको म्यासेन्जरबाट जानकारी पाएँ । “सर लक्ष्मीलाई त छिमेकीहरुले कहाँ, कताबाट भनेर सोधेर हैरान पारिहेको छ रे ।”

म्यासेज हेरेर मनमनै अचम्म मानीरहेँ ।

भोलिपल्ट मैले लक्ष्मी थापा मगरलाई संवादका लागि सारा खबरको अफिसमा बोलाएको थियो । स्वास्थ्यकर्मी राममाया वाइवाले खाना लिएर आइपुगिन् ।

करिब दिनको १२ बजेको थियो होला । लक्ष्मी भोकै रहेछ ।

साँझको पाँच बजेको थियो । एम्बुलेन्स चालक लक्ष्मी थापाको फोन थियो ।

“दाई तपाईँ आएर मलाई बचाइ दिनु पर्यो । मलाई त यहाँ छिमेकीहरुले बस्न नै नदिने भयो म के गर्ने होला ?”

उनले रुँदै फोन गरेको मलाई अहिले जस्तो नै लागिरहेको छ ।

सारा खबरको फोटो पत्रकार पेमा दोङ र म हावाको बेगमा काठमाडौँको नयाँ बाँनेश्वर स्थित बुद्वनगरमा पुग्दा घटनाको दृश्य साँच्चिकै मन रुवाउने नै थियो ।

एम्बुलेन्सबाट कोरोना सर्छ भन्दै कराइ -कराइ विरोध गर्नेहरुको सामु नेपाल पुलिस पनि नतमस्तक नै थियो ।

अवरोध मिलाउन खटेका प्रहरीले नजिकैको निजी अस्पतालमा पार्किङ गर्ने व्यवस्था मिलाएको थियो तर मनमोहन अस्पतालले गाडी पार्कीङ र बस्नेको व्यवस्था गरिदिने भनेपछि एम्बुलेस लिएर हामी पनि स्वयम्भुमा आयौँ ।

स्वयम्भुमा रहेको मनमोहन अस्पतालका डाक्टरहरुले एम्बुलेन्सबाट कोरोना सर्छ कि सर्दैन यसबारे बोल्न नै चाहेनन् ।

मेरो प्रश्न अहिले पनि अधुरो नै छन् । के साँच्चिकै एम्बुलेन्सबाट कोरोना सर्छ ? तर दुखद खबर त के रह्यो भने हामी हिँडेको केहि समयपछि मनमोहन अस्पतालमा पनि एम्बुलेन्स राख्न दिएनछ।

बनेपामा पुगेर “दाई मलाई त मनमोहनमा पनि बस्न दिएन । बेनपामा आएर बसेको छु । समाचारमा यही लेख्नु होला ।”

एम्बुलेन्स चालक लक्ष्मी थापा मगरले रुँदै फोन राखिन् ।

मेरो एकदिन एम्बुलेन्स वालीसँग यसरी नै वित्यो । म अहिले पनि सोच्छु । नेपालमा एम्बुलेन्स चालकहरु प्रति यस्तो व्यवहार गर्ने हो भने साँच्चिकै कोरोना भाइरसको महामारी फैलिएको दिन के होला ?

यो प्रश्नको जवाफ मैले कुनै दिन त पाउँछु होला । अहिलेलाई एम्बुलेन्स वाली सँगको सम्वाद हेर्न नभुल्नु होला ।

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »