कवि तथा लेखिका अनिता लामाकाे ”केही सोच र केही सुझाव”

काठमाडाैँ । अनिता लामा विशेषत कवि तथा समसामयिक विषयहरूमा कलम चलाई रहनु हुन्छ । साहित्य पढ्ने लेख्ने मात्रै होइन, यसको माध्यमबाट मानव हितका पक्षमा सुन्दर अभियान सञ्चालन गर्न सकिन्छ भन्नुहुने वहाँ ‘जेसुम’ साहित्य सांस्कृतिक अभियानकी संयोजक पनि हुन् । साहित्य र सामाजिक संजालकाे माध्यमबाट सकरात्मक सचेतना जगाउने कार्यहरू गरिरहने क्रममा काेराेना भाइरसकाे त्रासका कारण नेपाल सरकारले लकडाउन घाेषणा गरेकाे पनि करिब ३ हप्ता पुरा भएर चाैंथाे हप्तामा प्रवेश हुँदैगरेको अवस्थामा यति बेला सामाजिक संजालमा सकरात्मक र नकरात्मक टिकाटिपणीहरू हेर्न र सुन्न पाइन्छन् ।

सामाजिक संजाल मार्फत वहाँले केही सुझाव अनि व्यक्तिगत धारणा राख्नु भएकाे छ । अहिलेकाे अवस्थामा उहाँकाे विचार सान्दर्भिक लागेर नै सारा खबरले उहाँकाे अनुमतिमा उहाँकाे याे सचेत दृष्टिकोण सान्दर्भिक लागेर प्रकाशन गरेकाे छ ।

१) यति राहत दिईयो भन्दै हल्लाखोर मच्चाइएको स्थानीय तहका जनप्रतिनिधिहरूले ठीक मान्छेलाई राहत दिईएको हो, होइन ? दिईएको राहत ४/५ छाक पनि पुग्ने गरि दिईएन भन्ने सुनियो । खान नपाएपछि भोकले चिसो चुल्हो रूङ्दैन नै । त्यसैले रूखासुखा खाएरै सपरिवार बाँचौंला भनेर आफ्नै लयमा आफ्नो थातथलो हिँडे श्रमिकहरू ।

२) राहत दिनका लागि प्रत्येक नगरपालिका/गाउँपालिकाभित्र वडास्तरमा नामावली विवरण संकलन गरिएको थियो । त्यही विवरणको मुख्य आधारमा दैनिक श्रम गरेर खाने व्यक्ति हरूको पहिचान हुन्थ्यो । पुग्दो राहतको व्यवस्थापन हुँदा सायद कोही पनि हिँड्न वाध्य हुँदैनथ्यो । लकडाउनमा सकेसम्म सबैको सुरक्षाको लागि कोही नहिँडेकै राम्रो । तर पनि जान चाहनेलाई स्थानीय प्रशासनसँग समन्वय गरेर सम्बन्धित स्थानीय पालिकाले जिम्मेवारी लिन सकिन्थ्यो र कुनै वैकल्पिक उपायहरू मार्फत् व्यवस्थापन हुन सकिन्थ्यो ।

३) स्वतस्फूर्त बाटोभरि यात्रुहरू कुम्लोकुटुरो बोकेर नानीहरू सहित ग्वारग्वार्ती हिँडीसकेपछि, हिँडेको देखेपछि सम्बन्धित स्थानीय जनप्रतिनिधि, समाजसेवी र प्रहरी प्रशासन मिलेर पनि खाना वा सामान्य चिया चिउरा पानीसम्म व्यवस्था गर्न सकिन्थ्यो, राति हुँदो कुनै स्कुल वा सामाजिक भवनहरूमा बास बसाउन सकिन्थ्यो । यसमा कसैको निर्देशन वा आदेश चाहिँदैन थियोे, मानविय संवेदनाले नै पुग्थ्यो तर हामी सबै संवेदना स्खलित भएकै हो कि भन्ने स्थिति बन्यो ।

४) पत्रकार जगत पनि कुनै चमत्कार ग्रहका होइनन् । मान्छे न‌ै हुन् । त्यसैले सूचना, समाचार दिइरहँदा कसैको पीडा, दुःख, याचनाको प्रदर्शन गरि आफ्नो भ्युवर बढाउने कुत्सित कर्मलाई मात्रै सबै बेला पहिलो रोजाइ नबनाउँदा हुन्छ होला । यस्तो विपद्को सामूहिक सामना गरिरहनुपर्ने मौका र समयमा कम्तिमा पहिलो प्राथमिकता मान्छे र मानवियतालाई दिउँ । पत्रकार मित्रहरू जो सबैभन्दा पहिला यस्तो दृश्यका साक्षी र सहभागी हुने अवसर प्राप्त गर्दछ, निजहरूले नै सबैभन्दा पहिला ‘रेस्क्यु एण्ड रिभाईभ’ को काम र अभियान गर्न सके त्यसको समेत समाचार हामीले पढ्न, हेर्न पाउन सके कति सुवाषित हुन्थ्यो पत्रकार र पत्रकारिता !

५) हाई वे मा पसल हुने जो कोहीले हिजो परिस्थिति सहज हुँदा बन्दव्यापार मज्जाले गरिएकै हो र गरिन्छ पनि । तपाईंको पसलमा भात, खाजा, चिया खाएर सबैभन्दा वढी तपाईंको ब्यवसाय सुचारू गराउने यिनै श्रमजीवीहरू हुन् । कामको खोजीमा उपत्यका प्रवेश गर्ने, दशैं तिहार, छठ, ईद, जितिया, माघी अादिका नाममा यिनै श्रमजीवी र यिनका नातेदारहरू नै सबैभन्दा बढी हाइवे अावतजावत गर्दै तपाइहरूको व्यवसायको पक्का ग्राहक बन्ने गरेका छन् । आज संकटमा एक छाक भात र एक रात अावास दिँदा तपाईंको भकारी रित्तो हुँदैन । हाईवेमा घर हुनेहरूले पनि सकेको सहयोग अवश्य गर्न सकिन्छ ।

६) यो चिसो काठमाडौ उपत्यका लोभ लालची त थियो नै, धूर्त र बहुत दुष्ट पनि भएछ । कोठा छाडेर जान लाग्यो, अब भाडा तिर्दैन भन्ने अनुमान लगाएर भएको झिटिगुन्टा पनि कब्जा गरिदिने घरबेटीहरू पनि भेटिए । केही वर्ष अघिसम्म नुन चिनि चामल ऐंचोपैंचो चल्थ्यो । अहिले त खाघ्यसामानहरू अाफै उपरीमाथि थुपरी गर्ने तर अाँखै अगाडि अभावले बिजोग भएको नदेखे झैं गर्ने पनि देखियो । उनिहरूलाई त सरकारले दिन्छ, हाम्लाई कल्ले खान दिन्छ भनेर रिस गरेको पनि सुनियो । भाडामा सहुलियत यदाकदा बाहेक धेरैले रिस गरेकै बुझियो । डेराका विध्यार्थीहरूमाथि पनि यस्तै रिस गरेको देखियो । परिश्रमले बाँचेका श्रमिकहरू काठमाडौको यो चिसो व्यवहारसँग सायद रूझ्न चाहेनन् र लकडाउनको अनिश्चितताको त्रासदीले पनि हिँड्न वाध्य देखिए ।

७) हाम्रो महानगरभरिका मेयरसाबहरूको बल्ल आज बैठक बसिएको छ र बल्ल जिम्मा लिन्छौं भनिएको छ । ढिलो भएपनि यति कुरो अाएको छ । कुरो आएपछि काम ठ्याक्कै शुरू भईदियोस् भन्ने अनुरोध छ । काठमाडौ उपत्यकाभित्र हुने निर्माणका काममा संलग्न बहुसंख्यक श्रमिकहरू उपत्यका बाहिरका छन् । जसको श्रम र सीपले शहर सजिएको छ, उसलाई आज काठमाडौले देखेन, हेरेन भने यो शहरभित्रको एउटा महत्त्वपूर्ण भूगोलको नायक हुँ भन्ने हक राख्नु नैतिकवान हो होइन आफै प्रश्न, प्रतिप्रश्न गरौं र त्यसको सामयिक जवाफसँगै समाधान रोजौं मेयरसाब !

हामीसँग हज्जार विकल्पहरू छन्, समस्या त सयौं मात्र हो । मात्र मानवता र जिम्मेवारी बहनको कुरा हो । म स्वयं यो समयको एउटा जिम्मेवारी हुँ र लिन्छु । तपाई पनि लिनुस् । अनि भएन, हुनसकेन, गरेन भने मात्रै गाली दिने हक राख्नुस् । अहिलेलाई मिलेर गरौं, महामारीलाई परास्त गरौं । सहज हुँदा त सजिलै हुन्छ, संकटमा नै हो झेल्ने तर कसैलाई नपेल्ने । भबतु सब्ब मंगलम् !

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »