काष्ठमण्डप पुननिर्माणका लागि महानगरकाे ५ करोड थप सहयाेग
मूर्त अमूर्त सम्पदा बचाउन अरुसँग सहयोग माग्नु पर्दैन : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले काष्ठमण्डप पुननिर्माण समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोड रुपैयाँ थप रकमको चेक प्रदान गर्नुभएको छ । बिहीबार हनुमानढोका दरबार संरक्षण कार्यक्रमले आयोजना गरेको कार्यक्रममा प्रमुख शाक्यले उक्त चेक हस्तान्तरण गर्नुभएको हो । महानगरको रणनीतिक नेतृत्वमा सरकारी तथा नागरिक संघ संस्थाको सहभागितामा काष्ठमण्डपलाई छिटो, मौलिक स्वरुप र दिगो रुपमा पुनःनिर्माण गर्न प्रदेश सभा सदस्य राजेशकाजी श्रेष्ठ नेतृत्वको समिति र काठमाडौं महानगरबीच सहमति भएपछि २०७५ जेठ २९ गते काम थालनी गर्न ५० लाख रुपैयाँ र त्यसै बर्षको असोज २७ गते थप ५ करोड रुपैयाँ उपलब्ध गराइएको थियो । यसरी उपलब्ध गराइएको रकमबाट हालसम्म पुननिर्माणको करीब ५५ प्रतिशत काम समाप्त भएको जनाउँदै समितिबाट थप रकम माग भएपछि महानगरले बाँकी काम अघि बढाउन ५ करोड थप रकम उपलब्ध गराएको हो ।

रकम प्रदान गर्दै मेयर शाक्यले भन्नुभयो ”महानगरले काम शुरु गर्न ५० लाख रुपैयाँ दिँदा काम हुन्छ कि हुँदैन भन्ने आममानसमा शंका थियो । बिस्तारै काम शुरु भयो, जग राखियो । काम अघि बढ््यो । कामको प्रगति राम्रो भएपछि हामीले थप ५ करोड रुपैयाँ दियौं । त्यसबाट पुननिर्माणको काम करीब ५५ प्रतिशत सकिएको छ । यसबाट थप आशा जागेको छ । हामी हाम्रै कार्यकालमा यसको निर्माण सक्छौं । महानगरभित्रका सांस्कृतिक सम्पदाको मर्मत सम्भार तथा प्रवर्धन गर्न हामीले अरुको बाटो हेर्नु पर्दैन । महानगर आफैंले खर्च गरेर सम्पदा पुननिर्माण गर्छ ।” मेयर शाक्यको भनाइ थियो । त्यस क्रममा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले — श्रोत भएर मात्र पनि काम गराउन चुनौती भएको बताउँदै सीप र कला भएका कलाकार भेला गराएर समितिले काम गराउनु नै ठूलो उपलब्धी भएको धारणा राख्नुभयो । पैसाको खाँचो हुन दिँदैनौं । समयमा पुननिर्माण सम्पन्न गराउनमा समितिले ध्यान दिनुप¥यो । उपप्रमुख श्रेष्ठको भनाइ थियो ।

त्यस क्रममा बोल्दै संघीय संसद सदस्य कृष्णगोपाल श्रेष्ठले — महानगरको नेतृत्वमा उदाहरणीय काम भएको टिप्पणी गर्नुभयो भने प्रदेश सभा सदस्य एवं पुननिर्माण समितिका ंसंयोजक राजेशकाजी शाक्यले — लक्ष्यअनुसार कामको प्रगति भइरहेकोले समयमा काम सम्पन्न गर्ने योजना सुनाउनुभयो ।

कामको प्रगति
अहिलेसम्म काष्ठमण्डप पुननिर्माणमा ५ हजार क्यूफिट काठ उपभोग भइसकेको पुननिर्माण समितिले जनाएको छ । अझै १० हजार क्यूफिट भन्दा धेरै काठ आवश्यक पर्छ, समितिका संयोजक एवं प्रदेश सभा सदस्य शाक्य भन्नुहुन्छ ”आवश्यक काठहरु तराई क्षेत्रबाट ल्याउन प्रक्रिया चलिरहेको छ । यसको पुनर्निर्माणका लागि दैनिक ४० जना भन्दा बढी कलाकार तथा श्रमिकले काम गरिरहेका छन् ।”
समितिले दिएको जानकारी अनुसार चार घेराको काष्ठमण्डपमा १०० वटा थाम हुनेछन् । संकल्प पूजा गरेर गत माघमा ठड्याइएका २५ फिट अग्ला चारवटा मूल थाम पहिलो घेरा हो । दोस्रो घेरामा जोडाका दरले ३२ वटा थाम ठड््याइनेछन् । तेस्रो र चौथो घेरामा एक—एक वटाका दरले क्रमशः २८ र ३६ वटा थाम राखिनेछन् ।

दोस्रो घेरामा १२ फिट, तेस्रो घेरामा १५ र चौथो घेरामा १२ फिट अग्ला थाम हुनेछन् । सबैलाई चुकुलले अड्याइने छ । मूल थामहरु उठाएर त्यसमाथि सिंहमुखी र शंखमुखी मेथ राखिएको छ । मेथमाथि मूल निदालहरु राख्ने काम पनि सकिएको छ ।


काष्ठमण्डप पुननिर्माणका क्रममा दुरहाम् विश्वविद्यालयले गरेको ‘कार्बन डेटिङ्ग’ परीक्षणले काष्ठमण्डपको मूल थाम माथिको मेथ पाँचौं, भित्री जगको गारो सातौं र त्यस बाहिरको जग नवौं शताव्दीको बनाइएको तथ्य बताएको छ । यसरी हेर्दा काष्ठमण्डप चरणगत रुपमा निर्माण भएको पुष्टि हुन्छ । सत्तल (काष्ठमण्डप) निर्माण हुनुभन्दा करिब दुई हजार वर्षअघि त्यहाँ खेती हुने गरेको विश्वविद्यालयको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले काष्ठमण्डपलाई उपत्यकाको सबभन्दा पुरानो र ठूलो सार्बजनिक स्थल मानेको छ । उपत्यकाको नाम काष्ठमण्डपबाटै काठमाडौं भएको मानिन्छ ।


काष्ठमण्डप पुननिर्माण समितिसँग सहकार्यको पृष्ठभूमि

महानगरपालिकाको वडा नं.२० मा रहेको ऐतिहासिक पुरातात्विक तथा प्राचीन महत्वको स्मारक काष्ठमण्डप २०७२ बैशाख १२ मा गएको महाविनाशकारी भूकम्पले पूर्णरुपमा क्षति थियो । यसको पुरातात्विक महत्वलाई पूर्ववत् कायम गर्न भत्कनु पूर्वको स्वरुप, शैली र संरचना अनुसार पुुननिर्माण गर्ने÷गराउने विषय लामो समयदेखि अन्यौलतामा थियो । यसैबीच २०७५ साल वैशाख १८ गते काठमाडौं क्षेत्र नं. ८ क का प्रदेश सभा सदस्य राजेशकाजी शाक्यको नेतृत्वमा गठित ५५ सदस्यीय काष्ठमण्डप पुननिर्माण समितिले नगर कार्यपालिकामा पुननिर्माणका लागि प्रस्ताव पेश गरेको थियो । सोही प्रस्तावलाई आधार मानेर कार्यपालिकाले २०७५ जेष्ठ २४ गते समितिको प्रस्तावबमोजिम पुननिर्माण कार्य अघि बढाउने निर्णय गरेको थियो ।

सहमतिका मुख्य बुँदा


सहमति पत्रमा, नेपाल सरकार संस्कृति सम्पदा तथा पर्यटन मन्त्रालय, पुनःनिर्माण प्राधिकरण र पुरातत्व विभागको राय परामर्श र काठमाडौं महानगरपालिकाको रणनीतिक नेतृत्वमा सरकारी र नागरिक संघसंस्थाको सहयोग र सहभागितामा काष्ठमण्डपको पुननिर्माण गरिने कुरा उल्लेख छ ।

११ बुँदामा सम्पन्न सहमति पत्रमा काठमाडौं महानगरलाई प्रथम पक्ष र समितिलाई दोश्रो पक्ष भनिएको छ काठमाडौं महानगरपालिकाको प्रतीकका रुपमा रहेको काष्ठमण्डप पुनर्निर्माण कार्य गर्दा पुरातात्विक, ऐतिहासिक तथा प्राचीन महत्वलाई पूर्ववत् रहने गरी नक्सा डिजाइन, ड्रइङ गरी पुरातत्व विभागबाट स्वीकृत गराएर काम गर्नु पर्ने कुरा उल्लेख गरिएको छ । यसरी तयार गरिने डिजाइन, ड्रइङ तथा स्पेसिफिकेसनलाई सर्वस्वीकार्र्य रुपमा गर्न÷गराउन प्रा. डा. श्री प्रेमनाथ मास्केको अध्यक्षतामा ७ सदस्यीय विज्ञ समितिको व्यवस्था गरिएको छ ।

पुन निर्माण समितिले काष्ठमण्डप पुनःनिर्माण कार्यको मुख्य कार्यान्वयन समितिको रुपमा काम गरिरहेको छ । पुन निर्माण कार्यमा व्यापक जनसहभागिता जुटाउने, यस कामलाई जनचासो र जनसमर्थनको विषय बनाउने जिम्मेवारी पनि समितिको काँधमा छ । यसका लागि महानगरलाई कार्य प्रगति प्रतिवेदन बुझाउनु पर्ने, नागरिक र सरोकारवालाका बीच कम्तीमा ३÷३ महिनामा सार्वजनिक सुनुवाई कार्यक्रम गर्नु पर्ने समितिलाई जिम्मेबारी दिएर पुननिर्माण कार्यलाई पारदर्शी बनाउने प्रयास गरिएको छ । त्यस्तै पुनःनिर्माण कार्यलाई सहभागितामुलक बनाउन काठमाडौं जिल्ला क्षेत्र नं.६, ७, ८ र ९ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्यहरु, काठमाडौं जिल्ला क्षेत्र नं. ६ क, ७ क, ८ क र ९ क बाट निर्वाचित प्रदेश नं.३ प्रदेश सभाका सदस्यहरु र जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख रहेको सल्लाहकार समूह र समाजका लव्ध प्रतिष्ठित व्यक्तिहरुको संरक्षक समितिको व्यवस्था गरिएको छ ।

काष्ठमण्डप पुनःनिर्माण काठमाडौं महानगरपालिकाको महत्वपूर्ण.जिम्मेवारी भएको हुँदा, महानगरकै नेतृत्वमा गठित निर्देशक समितिसँग नियमित छलफल, अन्तरक्रिया गरी प्राप्त राय सुझावका आधारमा पुननिर्माण समितिले काम गरिरहेको छ ।

पुननिर्माण कार्यको नियमित अनुगमन, सुपरीवेक्षण गर्ने र निर्माणको क्रममा तत्काल सुधार गर्नुपर्ने काम गर्न गराउन महानगरका प्रमुख अध्यक्ष र उपप्रमुख, सरोकार राख्ने वडाध्यक्षसहितको निर्देशक समितिको व्यवस्था गरिएको छ । त्यस्तै प्रा. डा. प्रेमनाथ मास्केको संयोजकत्वमा ७ सदस्यीय विज्ञ समिति छ ।

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »