काेराेना परिक्षण, नयाँ प्रोटोकल अवैज्ञानिक भएको जनस्वास्थ्य विज्ञहरु दाबी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) को परीक्षणका लागि बनाएको नयाँ प्रोटोकल अवैज्ञानिक भएको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।

क्वारेन्टिनमा बस्नेको संख्या अप्रत्याशित बढेको र प्रयोगशालामा धेरै नमुना होल्ड भएको भन्दै मन्त्रालयले ‘नेशनल टेस्टिङ गाइडलाइन फर कोभिड-१९’ बनाएको छ ।

यसले तीनवटा प्राथमिकता समूह छुट्याएको छ ।

पहिलो प्राथमिकता समूहमा संक्रमण फैलिएको समुदाय, आइसोलेसनमा बसेका व्यक्तिहरु र संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरु पर्नेछन् ।

दोस्रो प्राथमिकता समूहमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दीर्घरोग भएका बिरामीहरु र अस्पतालमा काम गर्ने एम्बुलेन्स चालक र अन्य स्टाफहरु पर्छन् ।

तेस्रो प्राथमिकतामा लक्षण भएका तर माथिका कुनै प्राथमिकता समूहमा नपरेका व्यक्तिहरु पर्नेछन् ।

नयाँ प्रोटोकलअनुसार कोरोनाको कुनै लक्षण नभएका, ट्राभल हिस्ट्री नभएको र आफैं परीक्षण गराउन पुग्नेहरु परीक्षणको प्राथमिकतामा पर्ने छैनन् ।प्रोटोकलको अधिकांश बुँदाहरुमा बिरामीलाई रुघाखोकीको लागेको वा ज्वरो आएको हुनुपर्ने उल्लेख छ । त्यसैगरी श्वास प्रस्वाशमा समस्या भएको वा ज्वरो आएको छ भने पनि संक्रमण फैलिएको क्षेत्रबाट फर्किएको १४ दिन भएको हुनुपर्ने भनिएको छ ।

त्योबाहेक कोरोनाको अन्य लक्षण भएता पनि ज्वरो आएको वा श्वासप्रश्वासमा समस्या भएकाहरुलाई मात्र पीसीआर टेष्ट गर्ने भनिएको छ ।

सरकारले बनाएको नयाँ मापदण्डहरु अवैज्ञानिक भएको संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी बताउँछन् । उनका अनुसार समुदायमा संक्रमण फैलिने जोखिम भएको बेला यस्तो टेस्टिङ प्रोटोकल घातक सावित हुन्छ ।

जीवाणु वैज्ञानिक डा. सुदीप खड्काका अनुसार कोरोना संक्रमण देखिएका एक तिहाई मानिसलाई सुरुवाती चरणमा लक्षण देखिँदैन । त्यसैगरि सबै संक्रमितलाई सुरुवाती चरणमा ज्वरो आउँछ भन्ने छैन । संक्रमितमा लक्षण देखिएको खण्डमा सुरुमा ४४ देखि ९८ प्रतिशतलाई मात्र ज्वरोको लक्षण देखिन्छ ।

त्यस्तै रुघाखोकी ४६ देखि ८२ प्रतिशत संक्रमितलाई देखिन्छ भने श्वास प्रस्वासमा समस्या ३१ प्रतिशत संक्रमितलाई मात्र हुन्छ । त्यस्तै थकान र जिउ गल्ने ११ देखि ४४ प्रतिशत संक्रमितलाई मात्र हुन्छ । ‘त्यसैले यो प्रोटोकल अवैज्ञानिक छ’ डा. खड्का भन्छन्, ‘यो जनस्वास्थ्यमाथिको गम्भिर खेलवाड हो ।’

एक हजार जना कोरोना संक्रमितलाई आधार मानेर गरिएको पछिल्लो अध्ययनका अनुसार अस्पताल भर्ना हुँदा ४४ प्रतिशतलाई ज्वरो थियो भने भर्ना भएको केही दिनपछि त्यो क्रम बढेर ८९/९० प्रतिशत पुग्यो । यो अध्ययनले पनि ज्वरोलाई आधार मानेर टेस्ट गर्न नहुने डाक्टर खड्का बताउँछन् ।

‘अहिले क्वारेन्टिनमा कुनै पनि लक्षण नदेखिएको तर घर पुगेपछि मृत्यु भएका केस देखिइसके, कतिपयको संक्रमण स्रोत पत्ता लगाउन सकिएको छैन्’ डाक्टर सुवेदी भन्छन्, ‘यस्तो अवस्थामा यस्तो प्रोटोकल अनुसार टेस्ट गर्दा सम्भावित संक्रमित नै छुट्न सक्छन् किनकि, कतिपय लक्षण भएकाहरुलाई सुरुवाती चरणमा ज्वरो नै आउँदैन ।’

यो प्रोटोकलले सरकारको कोरोनासम्बन्धी बुझाई झल्किएको मन्त्रालयका एक अधिकारी बताउँछन् । उनका अनुसार स्वास्थ्य मन्त्रालय अझै नेपालमा वा काठमाडौंजस्ता ठाउँमा समुदायमा संक्रमण फैलिएकै छैन भन्ने भ्रममा छ । लक्षण नहुनेले रोग सार्न सक्दैनन् भन्ने हिसाबले मन्त्रालयले यो प्रोटोकल बनाएको भन्दै उनले भने, ‘हामीसँग सुझाव त लिन्छन्, तर निर्णय भएर आउने बेला सबै उल्टो आउँछ ।’

नयाँ प्रोटोकलले सबै बिरामीलाई लक्षण देखिए पनि ज्वरो अनिवार्य हुनुपर्ने बुझाएको जनस्वास्थ्य विज्ञ डा. किरणराज पाण्डे बताउँछन् । टेस्टिङ प्रोटोकल साँघुरो बनाउँदा धेरै संक्रमितहरु छुट्न सक्ने उनको तर्क छ ।

‘ज्वरो, रुघाखोकी वा श्वास-प्रश्वासमा समस्या हुनेमध्ये कुनै एउटा लक्षण देखिए मात्रै पनि पीसीआर गर्ने प्रोटोकल बनाएको भए धेरै राम्रो हुन्थ्यो’ डाक्टर पाण्डे भन्छन्, ‘यही टेस्टिङ प्रोटोकल फलो गर्न थाल्यौं भने हामीले महामारी नियन्त्रण गर्न सकिन्न ।’

त्यसै गरी क्वारेन्टिनमा बसेका र लक्षण देखिएकालाई आरटी- पीसीआर गर्ने नयाँ प्रोटोकलमा उल्लेख छ । क्वारेन्टिनमा बसे पनि श्वासप्रश्वासमा समस्या छैन, कोभिडको कुनै लक्षण छैन भने त्यतिकै घर पठाउन मिल्ने भनिएको छ । तर, हाललाई आरडीटी गर्ने भनिएको छ ।

यो बुदाँले पनि जनस्वास्थ्यमाथि खेलबाड गर्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । र, यसलाई सुर्खेतको पछिल्लो घटनाले पुष्टि गर्छ ।

सुर्खेत पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वषर्ीय युवक जेठ ७ गते भारतबाट आएका थिए । बबई नाकाका उनको आरडीटी टेष्ट गर्दा नेगेटिभ आयो । उनलाई सुर्खेत, विद्यापुरको जनता माविको क्वारेन्टिनमा १४ दिन राखियो र फेरि आडीटी गरियो । त्यसमा पनि रिपोर्ट नेगेटिभ आएपछि २१ गते घर गए । घर गएकै राति उनको निधन भएको थियो ।

सुर्खेतमा पीसीआर विधिबाट गरिएको परीक्षणले उनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो घटनाले आरडिटी टेस्टको भर पर्दा गम्भीर दुर्घटना हुने प्रमाणित गरेको छ । ‘गतिलो -मापदण्ड पुगेका) क्वारेन्टिनस्थल नभएसम्म आरडीटी टेस्ट गरेर घर पठाउने निर्णय ठीक छैन’ डा. पाण्डे भन्छन्, ‘क्वारेन्टिनस्थल नसुधार्ने र आरडीटी गरेर पठाउने हो भने यस्ता घटनाहरु घटिरहन्छन् ।’

एक त आरडीटी टेष्ट आफैंमा भरपर्दो छैन । यसबारे विश्वभर प्रश्न उठ्दै आएको छ । त्यसमाथि अहिले देशभरका अधिकांश क्वारेन्टिन मापदण्ड अनुसारका छैनन् । संक्रमण सार्ने अखडा बनेका क्वारेन्टिनमा बसेकाहरुलाई आरडीटी टेष्ट गरेर गरेर घर पठाउनु भनेको त्यतिकै जान दिएसरह हुने जनस्वास्थ्य विज्ञ डाक्टर समिरमणि दीक्षित बताउँछन् । ‘क्वारेन्टिनमा बसेकाहरुलाई मात्र नभएर पुरै समुदायलाई धोका दिनु हो’ डाक्टर दीक्षितले अनलाइनखबरसँग भने ।

उनी एउटा उदाहरण दिन्छन् ।

एउटा क्वारेन्टिनमा ३० जनाको समूह छ । त्यहाँ भएका सबैले एउटै शौचालय प्रयोग गर्छन् । सामाजिक दुरी कायम गर्दैनन् । एउटै कोठामा खाँदिएर सुत्छन् ।

त्यहाँ भएकामध्ये केही मानिस कोरोना संक्रमित थिए । तर, लक्षण देखिएको छैन । अब उसबाट क्वारेन्टिनमा बसेको कुनै दिन (त्यो टेष्टको अघिल्लो दिन पनि हुनसक्छ) अरुमा संक्रमण सर्‍यो । तर क्वारेन्टिन बसेको १४ औं दिनमा टेष्ट गर्दा नयाँ संक्रमण देखिँदैन । किनकि उनीहरु भर्खर संक्रमित भएका हुन् । उनीहरुलाई संक्रमण नभएको भनेर पठाउँदा थाहै नपाई घरघरमा कोरोना पुग्छ र समुदाय स्तरमा फैलिन्छ ।

डाक्टर दीक्षितका अनुसार कुनै व्यक्ति कोरोना संक्रमित भएको करिब ९/१० दिनपछि बल्ल शरीरमा एन्टिवडी विकास हुन्छ । त्यसैले १४ दिन क्वारेन्टिनमा बसेपछि आरडीटी टेस्ट गर्नु उपयुक्त हुन्छ भनिएको हो । यसका लागि क्वारेन्टिन बस्नेहरुले स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गरेको हुनुपर्छ ।

किनकि संक्रमण फैलिएको क्षेत्रबाट आएको कुनै पनि मानिसलाई क्वारेन्टिनमा राख्नु भनेको संक्रमित भएको हुनसक्छ । र अरुलाई पनि संक्रमित बनाउन सक्छ । तर उ कहिले संक्रमित भएको छ भन्ने थाहा नहुने भएकाले संक्रमित रहेछ भने अरुलाई नसारोस् र संक्रमित भएको छैन भने अरुबाट पनि संक्रमण नसरोस् भनेर प्रोटेकल बनाइएको छ ।

हाम्रा अधिकांश क्वारेन्टिनमा क्वारेन्टिनको स्वास्थ्य सुरक्षासम्बन्धी कुनै पनि मापदण्ड पालना भएको छैन । त्यसमाथि लक्षण नदेखिएकाको पीसीआर नगर्दा संक्रमित सहजै छुट्न सक्ने विज्ञहरु बताउँछन् ।

डाक्टर खड्काका अनुसार एक चौथाई संक्रमितमा कुनै लक्षण नदेखिए पनि उनीहरुले संक्रमण सार्न सक्छन् । तसर्थ, सोही कारण क्वारेन्टिनमा बस्नुपर्ने भनेर निक्र्यौल गरिएका हरेकले मापदण्ड पालना गर्नुपर्छ र पीसीआर टेस्ट नै गर्नुपर्छ । ‘लक्षण नदेखिएको खण्डमा टेस्ट नगर्ने हो भने क्वारेन्टिन गर्नुको कुनै अर्थ रहँदैन’ डाक्टर खड्का भन्छन् ।

नयाँ प्राेटाेकल

MoHP-Testing-Guidelines-Final-2077-02-20

अनलाइन खबरबाट साभार ,

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »