सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, २९ लाख २० हजार ३७८ जना संक्रमित

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वभर २ लाख मानिसको मृत्यु भएको छ ।विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार २५५ पुगेको छ । संक्रमण हुनेको संख्या भने २९ लाख २० हजार ३७८ पुगेको छ ।

सङ्क्रमितमध्ये ८ लाख ३६ हजार ६७९ जना भने उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा ४.१२ गुणा बढी रहेकाे छ । याे समाचार तयार पारिसक्दासम्म काेराेना संक्रमितमध्ये २८.६४ प्रतिशत निकाे भएकाे छ भने ६.९५ प्रतिशत मृत्यु भएकाे छ ।

पछिल्लाे २४ घण्टमा मात्रै विश्वभर काेराेनाबाट ६ हजार बढीले ज्यान गुमाएका छन् भने झण्डै एक लाख नयाँ काेराेना संक्रमित थपिएका छन् । शनिबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ९७ हजार ७४ थियाे भने संक्रमण हुनेको संख्या भने २८ लाख २७ हजार ८१६ थियाे ।

अहिले १८ लाख ८० हजार ८०४ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५८ हजार २०२ जनाको अवस्था भने गम्भीर रहेको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृतक संख्या दुई लाख दुई हजार चार सय ५५ पुगेको छ । विश्वभर कोरोना संक्रमितको संख्या भने २८ लाख ९२ हजार पुगेको छ ।

कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा ५३ हजार ५ सय ११ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ९ लाख ३६ हजार रहेको छ ।

चीनको सरकारी सञ्चार माध्यमका अनुसार कोरोना भाइरसका कारण पहिलो पटक ११ जनवरीमा मानिसको मृत्यु भएको थियो । त्यसपछि अहिलेसम्म यो भाइरस दुई सय १० देशमा फैलिएको छ ।

अमेरिकासहित पाँचवटा देशमा मृतक संख्या २० हजार भन्दा माथि छ । जसमा इटलीमा २६ हजार ३ सय ८४, स्पेनमा २२ हजार ९ सय २, फ्रान्समा २२ हजार ६ सय १४ र बेलायतमा २० हजार ३ सय १९ जनाको मृत्यु भएको छ ।

बेलायती गृहमन्त्री प्रिती पटेलले मृतकको यो संख्या दुखदायी भएको बताएकी छन् । तर बेलायतमा मृतक संख्यामा घरमा र नर्सिङ होममा मृत्यु हुनेको संख्या जोडिएको छैन । त्यसैले मृतक संख्या अझ बढी हुने अनुमान गरिएको छ ।

फ्रान्समा मृतकको कुल संख्यामा केयर होममा मृत्यु हुनेको संख्या पनि जोडिएको छ । त्यहाँ मृतक संख्या अघिल्लो दिनको तुलनामा शनिबार ३ सय ६९ जनाले बढेको छ ।

अहिलेसम्म विश्वभर २८ लाख ६८ हजार पाँच सय ३९ जना संक्रमित फेला परिसकेका छन् । सबैभन्दा बढी अमेरिकामा नौ लाख २४ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने स्पेनमा संक्रमितको संख्या दुई लाख २३ हजार नाघेको छ । इटालीमा अहिलेसम्म एक लाख ९५ हजारभन्दा धेरै संक्रमित भएका छन् ।

विश्वभर अहिलेसम्म आठ लाख ११ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । जर्मनीमा अहिलेसम्म एक लाख नौ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । त्यस्तै अमेरिकामा करिब एक लाख निको भएका छन् भने स्पेनमा पनि ९५ हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्किसकेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »