सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना सङ्क्रमणको डरले त्रिभुवन शिक्षण अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमाथि घरबेटीको दुर्व्यवहार

काठमाण्डौ। काठमाण्डौ उपत्यकाभित्र कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले घरबेटीले घर नआउन दबाव दिएको गुनासो गरेका छन् । उनीहरूले अस्पतालमै वा अन्यत्र छुट्टै बस्ने व्यवस्था नहुँदा डेरामा जानुपर्ने बाध्यता रहेको तर घरबेटी तथा छिमेकीबाट दुर्व्यवहार समेत खेप्नुपरेको गुनासो गरेका हुन्।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले त्यसबारे लिखित रूपमा नै अस्पताल प्रशासनलाई गुनासो गरेको त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घ शिक्षण अस्पताल इकाई समितिका सभापति खलबहादुर क्षेत्रीले बताएका छन् ।

क्षेत्रीले भने, “त्यस्तो कुराहरू लिखित नै आएपछि हामीले निकाय प्रमुख अगाडि राखेका छौँ। त्यसबारे निर्देशकज्यूसँग पनि कुराकानी भइसकेको छ।” गत साता शिक्षण अस्पतालमा उपचारत बिरामीमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि उक्त अस्पताल नजिकै डेरा गरेर बस्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई घरबेटीहरूले घरमा नआउन दबाव दिन थालेको चिकित्सकहरू बताउँछन्।

न्याशनल रेसिडेन्ट डक्टर्स एसोशिएसन शिक्षण अस्पतालका अध्यक्ष डा. अनुप उप्रेतीले भने, “कतिपय स्वास्थ्यकर्मीलाई घरबेटीले ‘तपाईंहरू अस्पतालमै बस्नूस्, यहाँ नआउनूस्’ भन्ने तथा कतिलाई ‘पीसीआरको रिपोर्ट देखाउनूस्’ भन्ने गरेको गुनासो आएको छ।”

उनले विशेषगरी आवासीय चिकित्सकहरू, नर्सहरू र अन्य अस्पतालका कर्मचारीले यस्तो समस्या भोगेको जानकारी दिए। “यो समस्या समाधानका लागि सरकारले अविलम्ब हामीलाई अस्थायी बस्ने व्यवस्था मिलाउनु आवश्यक छ,” उनले भने।

शिक्षण अस्पतालमा कार्यरत नर्सहरूले पनि आफूहरूलाई घरबेटीले घरमा नआउन दबाव दिएको बताए। आफ्नै घर भएका नर्सहरूलाई पनि टोलका मानिसहरूले “फलानीले रोग लिएर आउने भई” भन्दै दुर्व्यवहार गरेको शिक्षण अस्पतालका नर्सहरूले नाम सार्वजनिक नगर्न अनुरोध गर्दै बताए।

शिक्षण अस्पतालकी सहप्राध्यापक डा. मेरिना श्रेष्ठले पनि आवासीय चिकित्सकहरूले दुर्व्यवहार भएको गुनासो गरेको बताइन्। उनले भनिन्, “घर र टोलछिमेकमा त्यस्तो समस्या भोगेको कुराहरू कतिपयले सुनाउनु भएको छ।”

भर्खरै

सम्बन्धित खबर

Language »