सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

क्वारेन्टाइन बनाउने निर्णयको अबरोध गर्दै शिक्षककै नेतृत्वमा भत्काइयो विद्यालय

जाजरकोट। लकडाउनमा भारतबाट आएका नागरिकलाई राख्न क्वारेन्टाइन बनाइएपछि जाजरकोट भेरी नगरपालिका– ६ का बासिन्दाले शिक्षककै नेतृत्वमा विद्यालय भवन भत्काएका छन् । भारतबाट फर्केकालाई क्वारेन्टाइनमा राख्दा कोरोना संक्रमण फैलिने भन्दै उनीहरूले विद्यालय भत्काएका हुन् ।

भेरी नगरपालिकाले भारतलगायत विभिन्न मुलुकबाट आएका स्थानीय बासिन्दालाई राख्न स्थानीय कृष्ण प्राथमिक विद्यालयको भवनमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार वडा कार्यालयले विद्यालयमा विदेशबाट आएकालाई राख्न खोज्दा शिक्षक जयबहादुर शाहीकै अगुवाइमा विद्यालय नै भत्काइएको वडाध्यक्ष शशि बुढाले बताए । शिक्षक शाही छिमेकी गाउँ भेरेस्थित लक्ष्मी माविमा कार्यरत छन् ।

क्वारेन्टाइन बनाउने विद्यालय भत्काएपछि भारतबाट फर्किएका स्थानीयलाई व्यवस्थापन गर्न समस्या भएको छ । विद्यालय भत्काएको विषयमा सोधपुछ गर्दा उल्टै आफूलाई पनि ज्यान मार्ने धम्की दिएको वडाध्यक्ष बुढाको गुनासो छ ।

भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले विद्यालयको भवन भत्काउने र स्थानीय सरकारको कामलाई अवरोध पुर्‍याउनेलाई कारबाही गरिने बताए । जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले घटनाबारे बुझ्ने जानकारी दिए ।

लकडाउनको समयमा पनि भारतका विभिन्न सहरबाट जाजरकोटवासी फर्किने क्रम जारी छ । अहिलेसम्म आएकालाई सदरमुकाम खलंगा तथा आसपासका क्षेत्रका विद्यालय र सरकारी भवनमा राख्ने गरिएको छ । संख्या बढ्न थालेपछि गाउँपालिकामा क्वारेन्टाइन बनाउन लगाइएको थियो । देशबाहिर रहेका करिब पाँच हजार जाजरकोटवासी गाउँ फर्किने अनुमान गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »