ग्रील उद्योगबाट पनि समृद्धि सम्भव छ : ठुलोबाबु श्रेष्ठ

( प्रथम उपाध्यक्ष, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल)


संघर्षशील व्यक्तित्व र कर्मले खारिएका ठुलोबाबु श्रेष्ठ राजनीतिक, सामाजिक र व्यवसायमा निरन्तर सक्रिय छन् । तत्कालिन माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत भईसकेका उनी नेकपा सिन्धुपाल्चोकको उदाउँदो नेता समेत हुन् । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको प्रथम उपाध्यक्ष रहेका उनी आउँदो साधारण सभाबाट अध्यक्षको शसक्त दाबेदार हुन् । सुरुदेखि नै वामपन्थी आन्दोलनमा लागेका उनी निरन्तर सक्रिय छन् । पारिवारिक राजनीतिक प्रभाव खासै थिएन, तर म स्कुल पढ्दैदेखि कमिटिहरुमा बसेर काम गरियो, त्यो पनि भुमिगत रुपमा । २०४८ सालमा हालका सभामुख अग्नि प्रसाद सापकोटा उम्मेद्धार थिए । त्यहीबाट मेरो राजनीतिक यात्रा सुरु यात्रा सुरु भएको हो, प्रेरणा पनि उहाँ नै हुनुहुन्छ । शसस्त्र प्रहरीमा जागिर समेत खाए, पछि राजनीतिकै कारण छाडेको सुनाए । माओवादी जनयुद्धलाई तन, मन र धनले सघाएका उनले पार्टीकै सल्लाहमा जागिर छाडेको स्मंरण सुनाए । भूमिगत राजनीति हुँदै माओवादी शान्ति प्रक्रियामा आएपछि खुल्ला राजनीति सुरु भयो । त्यसवीचमा कठोर दिनहरुको सामना गरियो । घर परिवार थियो, आम्दानीको स्रोत केही थिएन । पार्टीको भूमिगत राजनीति लगायत यि सबै पारिवारिक समस्याकावीच पनि राजनीति, समाजसेवा छाड्न सकिएन । देश र जनताको लागि निरन्तर लागियो र लागिरहेको छु, लागिरहने छु ।


पारिवारिक अवस्था सहित तपाईको संघर्षहरु छोटोमा बताईदिनोस न ?


हाम्रो परिवार विशुद्ध किसान परिवार हो । बाबु आमामा छोराछोरीलाई पढाउँनुपर्छ भन्ने सोच खासै थिएन । घरको खेतीपातीको काममा ध्यान दिए हुन्थ्यो भन्ने सोच्नु हुन्थ्यो । ०४८ सालमा काठमाडौं आए । त्यसपछि फेरी अर्को संघर्ष सुरु भयो । स्कुल पढ्दैदेखि वामपन्थी राजनीतिमा लागेका झन नसा बढ्दै गयो । यसरी आजसम्म अनवरत लागिरहेको छु ।


वामपन्थी राजनीतिलाई नै किन रोज्नुभयो ?


गरिव, समानताको आवाज बोल्ने, शोषण बिरुद्ध बोल्ने, जातिपाति नमान्ने सबै समान हुन भन्ने विचार राख्ने, सर्वहाराको कुरा गर्ने र देशको आमुल परिवर्तनको कुराहरु प्रशिक्षणमा सुनाईन्थ्यो त्यही कुराले मलाई तान्यो । हो, आजको दिनमा हिजोको जस्तै छ त कम्युनिष्ट पार्टी भन्दाखेरी जनताको मन जित्दै आज देशमा निरन्तर सत्ता सम्हाल्ने अवस्थासम्म जनताले पु¥याएका छन् । राम्रासंगै केही नराम्रा पनि भएका छन् । नेताहरुको कार्यशैली केही परिवर्तन भएका होलान् । त्यसमा पनि दण्डित गर्ने काम कार्यकर्ता तथा जनताको हो । र गरि पनि रहेका छन् । आज वामपन्थीहरुकै संघर्षले देशमा निरंकुश राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र, संघीयता, समानुपातिक समावेशी र धर्मनिरपेक्षता आएको छ, संविधानसभाबाट संविधान आएको छ । यि पछिल्लो परिवर्तनलाई संस्थागत गर्न सबै पक्ष एकजुट भएर लाग्नुपर्दछ । र लागिरहेका अवस्था छ ।


ग्रील तथा स्टील व्यवसायमा कसरी प्रवेश गर्नु भयो ?


तत्कालिन माओवादी शान्ति प्रक्रियामा आईसकेपछि केही न केही त काम गर्नै पर्दथ्यो । घरपरिवार थियो, तिनीहरुको लागि केही न केही गर्नु पर्ने अवस्था थियो । यसरी बाध्यात्मक ढंगले यस व्यवसायमा लागें र आजसम्म निरन्तर रहेको छु । न्यु भ्याली मेटल उद्योग वनस्थलीमा अवस्थित रहेको छ । यसको अलावा व्यवसायीहरुको हकहितको लागि पनि निरन्तर लागि रहेको छु । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको संस्थापक प्रथम उपाध्यक्ष रहेको छु । एरिया, इकाई, क्षेत्र, जिल्ला हुंदै केन्द्रसमम्म पुगेको हुं । त्यसैले यस व्यवसायको हरेक समस्या बुक्ष्ने अवसर पाएको छु ।


ग्रील तथा स्टील व्यवसायका समस्या र समाधान के के हुन् ?


नेपालमा ग्रील तथा स्टील व्यवसायको इतिहास लामो भएतापनि खासै विकास भएको पाइन्न । नयाँ नयाँ प्रविधि विश्वमा आईरहेका छन् । तर नेपालमा नीति निर्माताहरुको अदुरदर्शीताको कारण अरु उद्योग सोचे जस्तो फस्टाउन सकेको छैन । देशको असहज परिस्थिति, व्यवसायिक वातावरण नहुनु, चरम श्रमिक समस्या हुनु, उर्जा संकट, मुल्यमा एकरुपता नहुनु र सुरक्षाको अभाव लगायतका समस्याको कारण देशको सबै जसो व्यवसाय दिनप्रतिदिन धरासायी बन्दै गईरहेको छ । नेपालमा ग्रील तथा स्टील व्यवसाय पुरानै शैली, ढंग र प्रविधिले चलिरहेको थियो । अहिले भने नयाँ नयाँ प्रविधि आईरहेका छन् । राज्यलाई अझै घच्घचाईरहेका छौं । देशमा आवश्यक पर्ने मेटल फेब्रिकेटिङ सम्बन्धि सम्पूर्ण कामहरु यसै व्यवसायबाट गरिंदै आईएको छ । विगतमा एउटा वर्गले मात्र गरिने पेशाको रुपमा चिनिएको यस व्यवसाय आज सबै जातजाति समुदाय सबैको पेशाा बनेको छ । सरकारले यो व्यवस्थित वातावरण बनाएको खण्डमा यो व्यवसायको भविष्य उज्वल रहेको छ । अहिले दर्ता गर्नै मुस्किल छ, झन्झटिलो छ, यसलाई सरल बनाउन महासंघ लागिरहेको छ । यसलाई सहज बनाउन सकेको खण्डमा रोजगारी सृजना हुनु साथै राजस्व पनि वृद्धि हुन्छ । जसले राज्यको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्नुको साथै वाम सरकारले परिकल्पना गरेको सुखी नेपाली समृद्ध नेपालको सपना पूरा गर्न सकिन्छ । त्यसैले यस व्यवसायलाई सरकारले व्यवस्थित र मर्यादित बनाई संरक्षर र संवद्र्धन गर्न जरुरी छ ।


ग्रील व्यवसायको अवस्था कस्तो छ ? सकारात्मक पक्ष के के हुन् ?


देश संघीयतामा गएपछि ग्रील तथा स्टील व्यवसायको माग झनै बढेको पाइन्छ । यसलाई व्यवस्थित गरी कानुनी दायरामा तीन तहकै सरकार भएका कारण सजिलो पनि भएको छ । अहिले पनि हाम्रो यस व्यवसायलाई दर्ता गर्न अवरोध सृजना भएका छन् । तर पनि महासंघले यस क्षेत्रमा भएका केही समस्याहरुको बारेमा कार्यहरु अगाडि बढाईएको छ । नयाँ प्रविधि भित्राएर ध्वनि प्रदुषण कम गर्ने आवागमनमा असर नपर्ने हिसावले काम गर्नुपर्छ भनेर लागिरहेका छौं । त्यस्तै हाम्रो लक्ष्य भनेको सबै व्यवसायलाई कानुनी दायरामा ल्याउने र व्यवस्थित गर्ने नै हो । अहिले निर्यात भन्दा आयत बढिरहेको अवस्थामा ग्रील तथा स्टील व्यवसायमा ८० प्रतिशत आत्मानिर्भर भईसकेका छौं । नयाँ प्रविधि ल्याउने र सोही किसिमको जनशक्ति विकास गर्ने हिसावले हामी लागिरहेका छौं । पहिले भारत र अन्य देशबाट सामान ल्याउनु पर्ने बाध्यता थियो । अर्डर गरेर लामो समय कुरेर सामान नेपाल आउथ्यो । कति समानहरु काम नलाग्ने हुन्थे, कुच्चिन्थे पनि । अहिले हामीलाई आवश्यक पर्ने कच्चा पदार्थ आउन थालेपछि हामीले फेब्रिकेटिङ गर्छौं । हिजोका दिनमा फेब्रिकेटिङ गरेका सामान आउँथ्यो अहिले हामी आफै फेब्रिकेटिङ गछौं । त्यसमा आयत गर्ने ८० प्रतिशत रोकेका छौं । हामीले प्रति वर्ष ४० अर्ब भन्दा बढीको मेटल, फेब्रिकेटिङ गरेर सेवा दियौं । हिजो त्यो पैसा बाहिर जान्थ्यो । यो वैधानिक उद्योगको तथ्याङ्क मात्रै ४० अर्बको हो ।


अहिले कति उद्योग छन् ? अवैधानिक पनि धेरै छन् भन्ने सुनिन्छ नि ?


झन्डै ११ हजार उद्योगहरु सञ्चालित छन् । अहिले पनि पचास प्रतिशत भन्दा धेरै उद्योगहरु दर्ता छैनन् । हामीले वैधानिक रुपमा चलेका उद्योगहरुको मात्र तथ्याङ्क राख्ने हो । बाँकीलाई समेट्दै जाने र दर्ताको लागि सुझाव र हौसला प्रदान गर्छौ । त्यसैले कानुनी दायरामा ल्याउन महासंघ निरन्तर अग्रसर रहेको छ । सरकारले केही समय अघि दर्ता रोकिदिदा आफुखुसी उद्योगहरु सञ्चालन भए तर अनुगमन भएन । हामीले राज्यलाई सुझाव दिने हो कानुन नै हातमा लिन मिल्दैन ।


तपाईहरुले ग्रील जोनको कुरा पनि गर्नुभएको छनि ?


हो, हामीले ग्रील जोनको पनि कुरा गरेका छौं । पछिल्लो समय विद्युत आपुर्ति नियमित हुँदा ठुलो राहतको महसुस गरेका छौं । हाम्रो २० प्रतिशत मात्र काम उद्योगमा हुन्छ । बाँकी काम शहर भित्रै, बोलाईएको स्थान वा अन द स्पोट गएर काम गर्नुपर्ने हुन्छ । अव्यवस्थालाई व्यवस्थित गराउने प्रयास स्वरुप हामीले ग्रील जोनको माग गरेका हौं । आखिर सम्पूर्ण पुर्वाधारमा ग्रील तथा स्टीलको प्रयोग भएकै हुन्छ । अहिले झन व्यवस्थित शहरको कुरा आईरको छ, छिटो छरितो रुपमा काम गर्न सकिने ग्रील तथा स्टीलको फाईदा धेरै रहेका छन् । त्यसैले राज्यले हामीबाट भरपुर सहयोग लिओस । काम गर्ने वातावरण बनाईदिओस, हामी पनि सहयोग गर्न तयार छौं ।


प्रसंग बदलौं, विश्वलाई कोरोना माहामारीले आक्रान्त पारिरहेको छ, कत्तिले यसलाई हाउगुजी पनि भनेका छन् तपाई के भन्नु हुन्छ ?


हुनत म साइन्सको बारेमा खासै जान्दिन । विश्वमा कोरोना रोग भनेर प्रमाणित गरिसकेको छ । विश्व ठप्प रहेको छ, अर्थतन्त्र ठप्प रहेको छ । दशौं लाख मान्छे मरिसकेका छन् विश्वमा । संक्रमितको संख्या करोडौं रहेको छ । यो एक किसिमले यो कोरोना महामारी नै हो । अहिलेसम्म यस रोगको उपचारको लागि भ्याक्सिन समेत बन्न सकिरहेको छैन । त्यसैले विश्व आक्रान्त बनेको छ । म आफै पनि केही समय अघि संक्रमित भए । नआत्तिकन डाक्टरको सल्लाह अनुसार चल्ने हो भने आत्तिनु पर्दैन । विस्तारै पूर्ण रुपमा सञ्चो हुन्छ ।


तपाईको हस्पिटल बसाई कस्तो रह्यो ? हस्पिटलमा रेखदेख कस्तो भयो ?


हस्पिटल बसाई बाध्यताले हुने कुरा हो, रहरले गईदैन । ह्याम्स हस्पिटलमा भर्ना भएं । उक्त ठुलो र वरिष्ठ डाक्टरहरु मिलेर खालिएको भनिएको हस्पिटलले राम्रो सेवा दिएन । पैसा मात्र असुल गर्न खाजे जस्तो ग¥यो । त्यहाँको अव्यवस्थाले मलाई दुखित तुल्याएको छ । त्यहाँबाट सशस्त्र प्रहरी हस्पिटल बलम्बुमा ट्रान्सफर गरेपछि उपचार राम्रो भयो । व्यवस्थित तरिकाले उपचार भयो । भिआईपी कक्षमा उपचार भयो । राजनीतिक पहुँच र सहयोग पनि राम्रो भयो । म सहि बाटोमा हिंडेको रहेछु भन्ने कुरामा परिवार विश्वस्त हुनुको साथै पूर्ण विस्वास पनि गरेका छन् ।

कोरोनामा ग्रील तथा स्टील व्यवसायी महासंघले के के ग¥यो ?


महासंघको अगुवाईमा हामीले सकेको धेरै सहयोग ग¥यौं । सहयोग गर्दा गर्दा कति व्यवसायी साथीहरु रित्तो समेत भए । बरु राज्यले हाम्रो मर्का बुझेन । कति व्यवसायीहरुले बैंकबाट ऋण लिएका छन् ब्याज समेत असुलिरहेका छन् । महासंघले त बोलेकै छ, राज्यले पनि बोलिदिनु प¥यो नि तर त्यसो भईरहेको छैन । हामीले गरिब दिनदुखीहरुलाई खाना खुवाउनेदेखि लिएर ठाउँठाउँमा पानी ट्याङ्की, सेनिटाईजर र साबुन पानीको व्यवस्था ग¥यौं ।

अन्त मा केहि छ कि?

अन्त्यमा के भन्न चाहन्छु भने व्यवसायी साथीहरु काम नगरी नहुने अवस्था छ । लापरवाही नगरी सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सामग्री प्रयोग गरेर काम गर्न सबैलाई अनुरोध गर्दछु । आफु पनि बाचौं र अरुलाई पनि बचाउने उपाय खोज्दै कोरोनालाई जित्नु पर्ने अवस्था रहेको छ । त्यसै बाटोमा हिड्न सम्पूर्णमा आह्वान गर्दछु ।

+ posts
Language »