‘घरघरमा योग, परिवारका साथमा योग’ भन्ने नाराका साथ् छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौ‌ँ । जुन महिनाको २१औँ तारिख अर्थात् असार ७ गते आज (आइतबार) देशभर विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त यस वर्ष दिवसको नारा ‘घरघरमा योग, परिवारका साथमा योग’ भन्ने रहेको छ ।

योग दिवसका अवसरमा विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गर्ने भएका छन् । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले सार्वजनिक कार्यक्रमभन्दा पनि प्रविधिलाई उपयोग गरी जुम प्रविधिका माध्यमबाट कार्यक्रम गरिने जनाइएको छ ।

नेपालको अमूल्य निधिका रूपमा रहेको योग, प्राणायाम, आयुर्वेद र जडीबुटीको विकास एवं विस्तार गरी हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै स्वस्थ, समुन्नत र समृद्ध बनाउने अभियानका साथ योग दिवसको कार्यक्रम गर्न लागिएको हो । योगको उत्पत्ति नेपाली भूमिमै भएको विश्वास गरिन्छ ।

राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले प्रस्ताव गरेका थिए । प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री स्व‍ सुशील कोइरालाले समर्थन गरेका थिए ।

योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायत सकारात्मक गुणको विकास हुन्छ ।

प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइन्छ । वर्षकै लामो दिनसमेत हुने आजको दिन आषाढ कृष्ण औँसीमा खण्डग्रास सूर्यग्रहण लाग्दैछ । योग दिवसलाई ग्रहणले छोए पनि योग, ध्यान, जप, तप, पूजा, पाठ गर्न हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।

विसं २०३६ देखि उत्तरायण शुरु हुने माघ १ गते योग एवं प्राकृतिक चिकित्साका अनुसन्धाता डा हरिप्रसाद पोखरेलको सक्रियतामा नेपालमा योग दिवस मनाउन शुरु गरिएको हो ।

+ posts

Leave a Reply

Your email address will not be published.

Language »