सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चीनबाट स्वास्थ्य सामग्री ल्याउनका लागि नेपाली सेनाद्वारा २ अर्ब २६ करोड बराबरको सम्झौता

काठमाडौँ । नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्याउनका लागि १ करोड ८४ लाख ४१ हजार ७ सय ६ डलर (सवा दुई अर्व रुपैयाँ)को सम्झौता गरेको छ । सेनाले जीटुजी प्रक्रियाबाट स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न लागेको हो ।

सेनाले चीनको सरकारी कम्पनी सिनो फार्मसँग गरेको सम्झौताअनुसार अनुसार सेनाले उक्त फार्मलाई राष्ट्र बैंकमार्फत एक करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर भुक्तानी गरहेको हो । नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्याउनका लागि आइतबार मात्रै अन्तिम सम्झौता गरेको थियो ।

नेपालको तर्फबाट सेनाका सम्भाररथी प्रभुराम शर्मा र चीनको तर्फबाट त्यहाँका वाणिज्य मन्त्रालयका प्रतिनिधिबीच सम्झौता भएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

प्रवक्ता पाण्डेले उक्त कम्पनीले सम्पूर्ण सामग्री गोन्जाउमा जम्मा गरिदिने र त्यसपछि ढुवानी गरेर नेपाल ल्याउने बताए। उनले अतिआवश्यक सामग्रीहरु जस्तै पीपीई, एन–९५ र पीसीआर टेस्टका सामग्रीहरुलाई पहिलो चरणमा वाइडवडी वा अन्य विमानबाट छिटै ल्याउने बताए।

सेनाले सुरुमा अतिआवश्यक सामग्री विमानबाट ल्याउने र त्यसपछि अन्य सामग्री सडक यातायात मार्फत पनि ल्याउन सक्ने जनाएको छ। प्रवक्ता पाण्डेका अनुसार सडक ढुवानीको लागि चीनस्थित नेपाली राजदुतावासमा रहेका सैनिक सहचारीबाट र नेपालस्थित चिनियाँ राजदुतावासबाट एजेन्टहरुको खोजी भइरहेको बताए।

प्रवक्ता पाण्डेले सम्झौता अनुसार फर्मले पैसा प्राप्त भएको सात दिन भित्रमा अतिआवश्यक सामग्री जम्मा गरिदिने र गोन्जाउमा रहेको महावाणिज्य दुतावासले खबर गर्ने र त्यसलाई ल्याउनको लागि जहाजको तयारी गर्ने बताए।

अन्य स्वास्थ्य सामग्री र औषधिहरु भने दुई साताभित्र जम्मा हुने र त्यसपछि ल्याउने बताए। उनले विश्वभरबाट स्वास्थ्य सामग्री माग भएकोमा नेपाल ८१ औ नम्बरमा परेको चिनियाँ पक्षले जानकारी दिएको बताए। ‘त्यसका बाबजुद हामीले अतिआवश्यक सामग्रीलाई एक साता भित्रमा दिनको लागि भनेका छौ,’ उनले भने।

भारतबाट भने औषधि ल्याउन अझै केही सामय लाग्ने भएको छ। प्रवक्ता पाण्डेका अनुसार भारतबाट ल्याउने औषधिहरु दोस्रो चरणमा पछि आवश्यक पर्ने छन्। सेनाले भारतलाई ५३ थरी औषधि र सामग्रीको सुची पठाएको छ। ‘उनीहरुले ती औषधिहरुको मूल्यको रेट पठाएका छैनन्,’ उनले भने।

चीनले दिने सबै सामग्री व्यापारिक सहर ग्वान्जाओ ल्याइने र त्यहाँबाट नेपाल सरकारले ल्याउने जानकाररी गराइएको छ । यस अगाडि पनि स्वास्थ्य सेवा विभागले ३ वटा कम्पनीसँग झन्डै ३० करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता गरिसकेको छ ।

बैशाख ५ गते गरिएको सम्झौताअनुसार २ साताभित्र उक्त सामग्री आइपुग्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »