जलश्रोत ताथ सिंचाइमन्त्री वर्षमान पुनकाे निर्देशनः मिटर रिडिङ नभएको अवस्थामा ग्राहकलाई जरिवाना नलिनु

काठमाडौं। ऊर्जा, जलश्रोत ताथ सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेलाई बुधबार मन्त्रालयमा बोलाएर तत्काल कोरोना भाइरस (कोभिड-१९) प्रकोपका कारण मिटर रिडिङ नभएको अवस्थामा नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएकाे छ।

कोरोना नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीका कारण प्राधिकरणका अधिकांश ग्राहस्थ र औद्योगिक ग्राहकको मिटर रिडिङ हुन सकेको थिएन।

कतिपय ग्राहकबाट उक्त अवधिमा मिटर रिडिङ नभएका कारण जरिवाना लगाइएको गुनासो आएपछि मन्त्री पुनले तत्काल प्राधिकरणको उच्च नेतृत्वलाई बोलाएर जरिवाना नलगाउन निर्देशन दिएका हुन्।

मन्त्री पुनले यसअघि जरिवाना लिइएको भए उक्त रकम ग्राहकले आगामी महिना बुझाउने शुल्कमा मिलान गर्न पनि निर्देशन दिएका छन्।

‘जरिवाना लिएको त्यो अब बुझाउने शुल्कमा मिलान गर्नुस् र जरिवाना नलिने व्यवस्था मिलाउनुहोस्’, मन्त्री पुनले भने। यो अवधिको तत्काल मिटर रिडिङ गराउन र कर्मचारी गएर रिडिङ गर्न नसेकेको अवस्थामा ग्राहक आफैंलाई मिटरको नम्बर टिपाएर शुल्क लिन पनि आग्रह गरेका छन्।

यसैबीच प्राधिकरणले मन्त्री पुनको निर्देशन तत्काल कार्यान्वयन गरेको छ। आफूले मन्त्रालयबाट कार्यालय फर्केलगत्तै जरिवाना नलिन देशभरका वितरण केन्द्रलाई एकैसाथ निर्देशन दिइसकेको र सार्वजनिक सूचना समेत जारी गर्न लागेको निमित्त कार्यकारी निर्देशक कोइरालाले बताए।

मन्त्री पुनले खराब मौसम, प्रणालीको खराबी वा अरु प्राविधिक कारणले विद्युत अनियमित भए तत्काल समस्या समाधान गर्न निर्देशन दिएका छन्।

त्यसका लागि ‘इमिडेट रेस्पोन्स टोली’ बनाउन उनको सुझाव छ। लकडाउनयता ९० लाख विद्यार्थी घरमै बसेर अनलाइन कक्षा लिइरहेको भन्दै मन्त्री पुनले विद्युत नियमित नभए उनीहरुको पढाइ प्रभावित हुनेतर्फ सचेत हुन अनुरोध गरे।

‘वितरण प्रणालीमा सानो भन्दा सानो गडबडी नआओस्’ उनले भने, ‘यदि समस्या आएको अवस्थामा तत्काल समाधान होओस्।’

मन्त्री पुनले मौसम लगायतका कारण अनियमित भएको विद्युत सेवा तत्काल सुचारु गराएकामा प्राधिकरण नेतृत्वलाई धन्यवाद दिए। गत साता मौसमका कारण उपत्यकासहित मुलुकका विभिन्न स्थानमा विद्युत सेवा आंशिक प्रभावित भएको थियो। त्यति बेला पनि मन्त्री पुनले प्राधिकरणको उच्च नेतृत्वलाई मन्त्रालयमा बोलाएर सेवा तत्काल नियमित गर्न निर्देशन दिएका थिए।

यस्तैगरी मन्त्री पुनले लकडाउन अवधिमा सरकारले ग्राहस्थ र औद्योगिक ग्राहकलाई दिने भनेको छुट तत्काल कार्यान्वयन गर्न पनि निर्देशन दिएका छन्।

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »