जानी राखाैंः नोवेल कोरोना भाइरस कसरी सर्छ ?

यतिबेला विश्व नै नोवेल कोरोना भाइरसबाट पीडित र आतंकित छ। यो लेख्दासम्म यस भाइरसबाट विश्वमा १ लाख ८ हजार ७ सय ७० जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १७ लाख ७७ हजार ९९ पुगिसकेको छ।

कोरोना भाइरसको संक्रमणबाट हुने रोेगलाई वैज्ञानिकले कोभिड-१९ नाम दिएका छन्। यो रोग लाग्ने मानिसको मृत्यु हुने क्रम जारी रहे पनि यसका बिरामी सबैको मृत्यु हुँदैन बरु अत्यन्तै कम मात्रामा मात्रै हुन्छ भन्ने कुरा उपचारपछि निको हुने मानिसको संख्याले पुष्टि गरिरहेको छ।

यी पंक्ति लेख्दासम्म विश्वमा कोरोना संक्रमितमध्ये उपचारपछि ४ लाख २ हजार ७ सय ९ जना निको भइसकेका छन्।

यो कसरी सर्छ ? कस्तो वातावरणमा बढी फैलिन्छ जस्ता विषयमा केही प्रारम्भिक तथ्य बाहिर आइसकेका भए पनि अझै अनुसन्धान जारी नै छ।

अनुसन्धानकर्ताका अनुसार कसैकसैमा यो रोगले सामान्य प्रभाव मात्रै पार्छ भने केहीमा यो रोग मृत्युको कारण बनिदिन्छ।

त्यसो भए यो नयाँ भाइरसले कसरी शरीरमा आक्रमण गर्छ र मानिसको ज्यान जान्छ?

अनुसन्धानकर्ताका अनुसार मानिसको शरीरमा प्रवेश गरिसकेपछि भाइरस फैलिन र स्थापित हुन केही समय लाग्छ। उनीहरू भन्छन्, ‘यसलाई इन्क्युबेसन पिरियड अर्थात् संक्रमणकाल भनिन्छ।’

त्यो बेला भाइरसले मानव शरीरको कोषभित्र पसेर तिनलाई आफ्नो नियन्त्रणमा लिन्छन्।

नजिकै कसैले खोकिरहेको छ भने तपाईंले सास फेर्दा कोरोना भाइरस ९औपचारिक नाम सार्स–कोभ–२) शरीरमा पस्न सक्छ। दूषित वस्तु वा सतह छोएर आफ्नो अनुहार छुँदा पनि यो भाइरस शरीरमा छिर्न सक्छ।

त्यसले पहिला तपाईंको घाँटीभित्रका कोष, श्वासनली र फोक्सोलाई असर गर्न थाल्छ। अनि बिस्तारै ती अंग कोरोना भाइरस उत्पादन गर्ने कारखानाजस्तै बन्न पुग्छन् र धेरै भाइरस उत्पादन हुन थाल्छन्। तिनले शरीरका थप कोषमा आक्रमण गर्छन् र त्यहीं बस्छन्।

तर प्रारम्भिक अवस्थामा मानिस बिरामी हुँदैन। अझ कसैलाई त कहिल्यै कुनै लक्षण पनि देखिँदैन।
भाइरस स्थापित हुने संक्रमणकालीन अवधि सरदर ५ दिन भएको पाइएको अनुसन्धानकर्ता बताउँछन्।

उनीहरूका अनुसार कोभिड(१९ दसमध्ये ८ जनाका लागि सामान्य रोग हो। जसलाई रुघा लाग्ने र ज्वरो आउने हुन्छ। अनि शरीरका अंग, घाँटी तथा टाउको दुख्ने समस्या पनि आउन सक्छन्, तर यी लक्षण देखिन्छन् नै भन्ने छैन।

ज्वरो आउनु र असहज महसुस गर्नु शरीरको प्रतिरक्षा प्रणाली सक्रिय भएर भाइरसँग संघर्ष गरिरहेको अवस्था हो। जति बेला भाइरस कुनै बाह्य तत्त्व हो भन्ने बुझेर हाम्रो प्रतिरक्षात्मक प्रणालीले त्यससँग लड्न साइटकाइन नामक प्रोटिन परिचालन गर्छ।

यस्तो बेला प्रतिरक्षा प्रणाली पूरै सक्रिय हुन थाल्छ। तर सँगसँगै शरीरमा पीडा हुने र तापक्रम बढ्ने अर्थात् ज्वरो आउने हुन्छ।

कोरोनाभाइरस संक्रमण भएका बेला सुक्खा खोकी लाग्छ। त्यति बेलासम्म भाइरस कोषमा बिस्तारै सक्रिय हुन सुरु गर्छन्। केही मानिसलाई खकार पनि आउन सक्छ।

यस्ता लक्षण देखिएमा बिरामीलाई ओछ्यानमा आराम गर्न लगाइन्छ र पर्याप्त झोल कुरा खान दिइन्छ। प्यारासिटामोल पनि दिइन्छ। यति बेला अस्पताल नै लगेर विशेष उपचार गर्न आवश्यक हुँदैन।

एक हप्तासम्म रहन सक्ने यो अवस्थामा प्रतिरक्षा प्रणाली सक्रिय भएका कारण धेरैजो बिरामीलाई निको हुन्छ।
तर केही केहीलाई गम्भीर प्रकारको समस्या उत्पन्न हुन सक्ने विज्ञ बताउँछन्। उनीहरूका अनुसार

अहिलेसम्मको अनुसन्धानले पत्ता लगाएको तथ्य यत्ति नै हो। तर नयाँ अध्ययनले कोही बिरामीको नाकबाट धेरै सिँगान आउने गरेको पनि देखाएको छ।

यदि रोग अझै गम्भीर हुँदै गयो भने भाइरसविरुद्ध प्रतिरक्षा प्रणालीको अधिक सक्रियता त्यसको कारण हुन सक्छ।

प्रतिरक्षा प्रणाली सक्रिय हुँदा शरीरमा फैलिने रसायनले शरीरमा जलन हुन सक्छ। तर त्यसलाई सावधानीपूर्वक सन्तुलन मिलाउनुपर्ने हुन्छ। धेरै जलन भइरहे शरीरमा धेरै हानि पनि हुन सक्छ।

किङ्स कलेज लन्डनकी चिकित्सक नथाली म्याक्डर्मटका अनुसार भाइरसले प्रतिरक्षा प्रणालीमा असन्तुलन ल्याउन थाल्यो भने शरीरमा धेरै जलन हुन सक्छ, त्यस्तो बेला के भइरहेको हो थाहा नहुन पनि सक्छ। फोक्सोमा हुने जलन नै निमोनिया हो।

मुखबाट स्वास नली हुँदै हामीले फेर्ने सास अर्थात् वायु फोक्सोमा भएका ससाना कोठामा पुग्छ। त्यही कोठाबाट अक्सिजन रगतसँग मिसिन्छ र कार्बनडाइअक्साइड बाहिर निस्किन्छ।

तर निमोनिया हुँदा ती साना कोठा पानीले भरिन थाल्छन् र त्यसै कारण सास फेर्न कठिन हुन्छ। यस्तो बेला कसैकसैलाई त सास फेर्न सहज बनाउने भेन्टिलेटर आवश्यक पर्छ।

अनुसन्धानकर्ताका अनुसार कोरोना संक्रमितमध्ये ५ प्रतिशत मानिसलाई मात्र अति गम्भीर रोेग लागेको पाइएको छ। यति बेलासम्म शरीर निस्तेज हुन थाल्छ र मृत्यु हुने सम्भावना बढी हुन्छ।

यति बेला मानिसको रोग प्रतिरोध गर्ने प्रणाली नियन्त्रणभन्दा बाहिर पुगिसकेको हुन्छ र पूरै शरीरभित्र क्षति पुगिरहेको हुन्छ।

यस्तो बेला बिरामीको रक्तचाप डरलाग्दो तहमा झरेर शरीरका अंगले काम नगर्ने वा पूरै विफल हुने ‘सेप्टिक सक’ भनिने अवस्था आउने विज्ञ बताउँछन्।

उनीहरूका अनुसार फोक्सोमा धेरै जलन भएर बिरामीले सास फेर्न नसक्ने अवस्था उत्पन्न हुन्छ र बाँच्न आवश्यक पर्नेजत्ति अक्सिजन प्राप्त हुँदैन। त्यस्तो बेला मिर्गौलाले रगत सफा गर्न पनि सक्दैन भने आन्द्रामा समेत क्षति पुग्न थाल्छ। अनि भाइरसले यति धेरै जलन गराउन थाल्छ कि शररीका धेरै अंगले काम गर्न छोडिदिन्छन्।

शरीरको प्रतिरक्षा प्रणालीले भाइरसलाई जित्न सकेन भने भाइरस शरीरका सबै भागमा पुग्न थाल्छ र झन् धेरै क्षति पुर्‍याउन थाल्छ।

यस्तो बेला गरिने उपचार निकै कडा किसिमको हुन्छ। यस्तो बेला एम्को भनिने बाहिरी यन्त्रको सहायताले रगतमा अक्सिजन दिने प्रणाली प्रयोग गरिने विशेषज्ञ बताउँछन्।

त्यो कृत्रिम फोक्सोजस्तै हो जसले शरीरको रगतलाई बाक्लो नलीको सहायताले बाहिर निकाल्छ त्यसमा अक्सिजन भर्छ र फेरि भित्र पठाउँछ। तर भाइरसको प्रभाव बढ्दै गएमा क्षति खतरनाक तहमा पुग्छ। त्यति बेला हाम्रा अंगले शरीरलाई जीवित राख्न सक्दैनन्।

चिकित्सकले जति प्रयास गर्दा पनि कोभिड-१९ का केही बिरामीलाई बचाउनै नसकिएको बताएका छन्।
उहानको जिन्यितान अस्पतालमा मृत्यु भएका सुरुका दुई बिरामीबारे ल्यान्सिट मेडिकल जर्नलमा भनिएको छ– ‘स्वस्थ हुँदा पनि उनीहरूले लामो समयदेखि धूमपान गर्ने गरेका थिए, जसका कारण उनीहरूको फोक्सो कमजोर भएको थियो।’

उक्त जर्नलका अनुसार पहिलो बिरामी एक ६१ वर्षीय पुरुष थिए जो गम्भीर निमोनियाबाट पीडित भएपछि अस्पताल पुगेका थिए। उनलाई सास फेर्न निकै कठिन भइरहेको थियो र भेन्टिलेटरमा राख्दा पनि उनको फोक्सोले काम गर्न सकेन र उनको मुटुले पनि काम गर्न छोड्यो। र, अस्पताल भर्ना गरिएको ११ दिनपछि मृत्यु भयो।

अर्का बिरामी पनि ६९ वर्षीय पुरुष थिए। उनलाई सास फेर्न गाह्रो हुने समस्या भएको थियो। उनको उपचार गर्न ‘एम्को’ उपकरण प्रयोग गरिएको थियो, तर गम्भीर निमोनिया र रक्तचाप निकै तल झरेकाले उनलाई बचाउन नसकिएको चिकित्सकले बताएका छन्।बीबीसी

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »