‘डिस्इन्फेक्टेन्ट टनेल’ काे काम नै छैनः विज्ञहरूकाे विष्लेशण

काठमाडौँ । नागढुंगा हुँदै काठमाडौं प्रवेश गर्ने गाडीलाई संक्रमणमुक्त पार्न नागढुंगामा ‘डिस्इन्फेक्टेन्ट टनेल’ जडान गरिएको छ । टनेलमा सोडियम ‘हाइपोक्लोराइट सोलुसन’ र ‘इनोक्लिन’ मिसाइएको पानी छर्किने गरिएको छ ।

गाडी आएका बेला स्विच थिचेपछि पाइपले रसायनयुक्त पानी छर्किन्छ । कोभिड–१९ संक्रमण फैलिएको क्षेत्रबाट समेत गाडी आउने भएपछि सुन्दर यातायातले शुक्रबारदेखि टनेल सञ्चालन गरेको हो ।

भक्तपुर प्रवेश गर्ने गाडीमा क्लोरिन मिसाइएको पानी छर्किन थालेको धेरै भइसकेको छ । मारवाडी युवा मञ्चले काठमाडौंको वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, धनगढीको सेती र वीरगन्जको नारायणी अस्पतालमा सेनिटाइजर टनेल राखिदिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा पनि यस्ता टनेल राखिएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी भने यस्ता टनेलबाट रसायनयुक्त पानी छर्कनुको अर्थ नरहेको बताउँछन् । ‘गाडीभित्र बसेका मानिसले सरसफाइका विधि अपनाएर सुरक्षित भइन्छ । गाडी बाहिर सफा गरेर केही अर्थ छैन । कोभिड–१९ मान्छेबाट मान्छेमा सर्ने रोग हो । हातबाट, संक्रमितले प्रयोग गर्ने सामानबाट र हाच्छ्युँ गर्दा भाइरस सर्छ । क्लोरिन छर्कनु देखावटी र खर्च बढाउने काम मात्रै हो,’ उनले भने । यसरी छर्केपछि आफू सुरक्षित भएको महसुस गरेर व्यक्तिगत सरसफाइमा कम ध्यान जान सक्ने पनि उनले बताए ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका वरिष्ठ माइक्रोबायोलोजिस्ट निरन्जन थापाले डिस्इन्फेक्टेन्टको मिश्रण छर्किनुको अर्थ नरहेको बताए । ‘लुगालाई संक्रमणमुक्त बनाउन खोजेको हो भने पनि त्यसलाई केही समय डिस्इन्फेक्टेन्टमा डुबाएर सुकाएपछि मात्रै त्यो संक्रमणमुक्त हुन सक्छ,’ उनले भने, ‘गाडीको बाहिरी सतहमा छर्किनुको कुनै औचित्य छैन । भाइरस त्यसरी सर्दैन ।’ थापाले आविष्कारका नाममा यस प्रकारका उत्पादनले स्रोतसाधन दुरुपयोग मात्रै गरेको बताए । माइक्रोबायोलोजिस्ट थापाको विचारसँग संक्रामक रोग विशेषज्ञ डा। अनुप सुवेदी पनि सहमत छन् । ‘कोभिड–१९ कसरी सर्छ भनेर थाहै नभएको मानिसले झैं व्यवहार गरेको देख्दा अचम्म लाग्छ । कुनै संक्रमित व्यक्तिको सम्पर्कमा आए मात्रै यो रोग सर्छ । अहिले सडक, गाडी सफा गरेर नाटक गर्ने समय होइन । राम्रोसँग साबुनपानीले हात धोए भइहाल्यो नि,’ उनले भने ।

डा। सुवेदीले क्लोरिन पानी छर्कंदैमा भाइरस नमर्ने बताए । उनले महामारीको नाममा यसरी स्रोतको जथाभावी दुरुपयोग गर्न नहुनेमा जोड दिए । ‘अहिले त हामीले भएको सामग्री भोलि हुन सक्ने आउटब्रेकका लागि जोगाएर राख्नुपर्छ । गाडी र मान्छेमा क्लोरिन पानी छर्केर केही हुँदैन,’ उनले भने ।

डिस्इन्फेक्टेन्टका रूपमा प्रयोग गरिने तरल पदार्थमा सोडियम हाइपोक्लोराइट, फिनेल लगायतका रसायन हालिएको हुन्छ । यस्ता डिस्इन्फेक्टेन्ट खास गरेर अस्पताल तथा उद्योग कलकारखानाको भुइँ सफा गर्न प्रयोग हुन्छन् । यी रासायनिक पदार्थको सम्पर्कमा आउँदा आँखा, नाक, मुख, कानका साथै फोक्सो र छालामा पनि असर गर्ने छालारोग विशेषज्ञ डा। सुशील पौडेलले बताए । ‘अस्पतालको भुइँ पुछ्ने रसायन आँखा, नाक, कान, मुख वा छालामा पर्‍यो भने सुरुमा चिलाउन थाल्छ । धेरै पर्‍यो भने अरू असर पनि देखिन्छ । त्यसको गन्ध पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ,’ उनले भने ।

विज्ञहरूले कुनै पनि उपादेयता नदेखेका यस्ता सामग्री किन अस्पतालहरूमै पनि प्रयोग भइरहेका छन् भन्ने जवाफ कसैसँग छैन । त्रिवि शिक्षण अस्पतालमा कार्यरत क्रिटिकल केयर विभागका प्रमुख डा। सुवास आचार्यले यस्ता टनेल पैसा र समयको बर्बादी मात्रै भएको बताए । ‘यो वाहियात हो । क्लोरिन पानी छर्केर संक्रमणमुक्त भइँदैन । बरु त्यो पैसाले कुनै अस्पतालको भुइँ पुछे केही दिनलाई सफा हुन्छ,’ उनले भने, ‘हामीलाई आईसीयू पुछ्न क्लोरिन छैन, यहाँ मान्छे सडकमा पीपीई लगाएर गाडीमा क्लोरिन पानी छर्किरहेको देख्छु । उदेक लाग्छ ।’

डा। आचार्यले स्थानीय तहले संक्रमण फैलिन नदिने नाममा दाताबाट प्राप्त पैसा दुरुपयोग गरेको हुन सक्ने उल्लेख गर्दै त्यसलाई सरकारले नियन्त्रण गर्नुपर्नेसमेत बताए । ‘यो रेडक्रस लगायतका अन्तर्राष्ट्रिय संघसंस्थाले बिना कुनै प्रमाण यसरी बाटोमा टायर पखाल्ने काम गरिरहेका छन् । यो ठीक होइन । ती सामग्री भोलि महामारी फैलिए अस्पताल सफा गर्न चाहिन्छ । त्यसलाई जोगाउनु पो पर्छ ।’

डा। आचार्यको कुरामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभागका प्रमुख डा। सञ्चिवकुमार शर्माको पनि सहमति छ । ‘यस्ता केमिकल निश्चित विधिबाट तयार गरी निश्चित समयमा प्रयोग गर्दा प्रभावकारी हुन्छ,’ उनले भने, ‘डिस्इन्फेक्टेन्टमा प्रयोग गरिने केमिकलले मानिसको छाला, फोक्सो, आँखामा प्रत्यक्ष असर गर्छ । म त टनेलभित्र छिरेर आएँ भनेर मानिसले हात सफा नगर्ने पनि हुनसक्छ ।’ सोडियम हाइपोक्लोराइट मानव शरीरका लागि हानिकारक हुने उनले बताए ।

टनेलमा जडान गरिएको स्प्रिंकल गर्ने पाइप ट्यांकीमा जोडिएको छ, जहाँ डिस्इन्फेक्टेन्ट र पानी मिसाएर जम्मा गरिएको हुन्छ । हाल वीर अस्तालमा दुइटै गेटमा यस्ता टनेल जडान गरिएको छ । बिरामीलाई अस्पताल प्रवेश गर्नुअघि टनेलको स्विच थिचेर छिर्न आग्रह गरिएको छ । वीर अस्पतालका कार्यकारी निर्देशक डा। केदारप्रसाद सेन्चुरीले यसले स्वास्थ्यलाई असर गर्ने भन्दै विवाद भइरहेकाले अब बन्द गर्ने बताए ।

सडकमा समेत क्लोरिन राखेको पानी सवारी साधनमा छर्किने गरिएको छ । जिल्लाजिल्लामा पनि आविष्कारका नाममा यस्ता टनेल स्थानीय तहको सहयोगमा निर्माण गरेर बाटोबाटोमा राखिएका छन् ।

टेकु अस्पतालले सहयोगमा प्राप्त गरेको सेनिटाइजर टनेल प्रयोगमा नल्याएको डा। राजभण्डारीले बताए । ‘सुरुका केही दिन प्रयोग गर्‍यौं । तर अहिले प्रयोगमा छैन,’ उनले भने । सेनिटाइजर टनेलको ट्यांकीमा राखिने केमिकलले कपडासमेत बिगार्ने गरेको राजभण्डारीले जानकारी दिए ।

पुनको परियोजना बन्द

राष्ट्रिय आविष्कार केन्द्रले सेनिटाइजर टनेल बनाउने योजना बन्द गरेको छ । चिकित्सकले टनेलबाट छर्किने केमिकलले स्वास्थ्यमा असर गर्ने सल्लाह दिएपछि यो परियोजना बन्द गरिएको केन्द्रका प्रमुख महावीर पुनले बताए ।

उनले नमुनाका लागि एउटा तयार गरेर चिकित्सकसँग सल्लाह गरेका थिए । ‘राम्रोका लागि नयाँ प्रविधि बनाउनुपर्नेमा उल्टै असर गर्छ भने, अनि किन बनाउने भनेर रोकें,’ पुनले भने ।

निजी कम्पनीहरूले भने धमाधम यस्ता टनेल बनाइरहेका छन् । रातोपुलस्थित एएसएपी डिजाइन कम्पनीले उपत्यका र बाहिर राखिएको सेनिटाइजर टनेल बनाएको हो । शनिबार कम्पनीमा तीनवटा तयारी अवस्थामा थिए भने थप तीनवटा बन्दै थिए । एउटा टनेल एक लाख ५० हजारमा बिक्री गरिरहेको कम्पनीका सञ्चालक आसिस बन्सलले बताए ।

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »