सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डोल्पामा लकडाउनमा अस्पताल पुर्‍याउन नसक्दा सुत्केरीको ज्यान गयो

वीरेन्द्रनगर। डोल्पाको ठूलीभेरी नगरपालिका–६, दुरगाउँकी लालुकुमारी रोकायले शुक्रबार दिउँसो करिब १ बजेतिर छोरी जन्माइन् । व्यथा लाग्ने बेलाको अवस्था सामान्य भए पनि बच्चा जन्मिएपछि उनको स्वास्थ्यमा समस्या देखियो ।

बच्चा जन्मिसकेपछि रोकायाको अत्यधिक रक्तश्राव भयो। बढी रक्तश्राव हुन थालेपछि उनी बेहोस हुन पुगिन्। बच्चा जन्माइसकेपछि अवस्था झन् गम्भीर बन्दै गयो। तर, ‘लकडाउन’ को डरले घरका मान्छेले तुरुन्त अस्पताल लिन सकेनन्।

‘जताततै लकडाउन छ,’ भतिज भुजबहादुर रोकायले भने, ‘घरबाटै निस्कन नपाएको बेला त्यति टाढा रहेको अस्पताल कसरी पुग्ने भन्ने डर पनि भयो, हेर्दाहेर्दै काकी बितिन्।’ लकडाउनका कारण कोही पनि अस्पताल लैजान तयार नभएनका उनले बताए।

ठूलीभेरी नगरपालिकामै रहेको माझपल स्वास्थ्य चौकी पुग्‍न साढे दुई घण्टा लाग्छ। लकडाउनको डरले टाढा रहेको स्वास्थ्य चौकी जान नसकेको उनका भजुबहादुरले बताए।

बारम्बार बेहोस् भइरहेकी रोकायलाई घर नजिकै रहेका स्वास्थ्यकर्मी हरिबहादुर रोकायले प्राथमिक उपचार गरी उनलाई होसमा ल्याउने प्रयास गरेका थिए। एकपटक त उनी होसमा पनि आइन्। अन्ततः प्रयास असफल भयो। बच्चा जन्माएको करिब ३ घण्टापछि लालुकमारीको मृत्यु भयो।

‘लकडाउन नभएको भए नगरपालिकामा पनि खबर गर्ने थियौँ,’ भुजबहादुरले भने, ‘यस्तो अवस्थामा को सहयोग गर्न आउला र भन्ने भयो त्यसैले कतै खबर गरेनौँ।’ भएका स्वास्थ्यकर्मीहरु पनि अहिले सबै कोरोना भाइरस संक्रमित खोज्नमै व्यस्त भएकाले लालुकुमारीको ज्यान बच्न नसकेको उनले बताए।

मृतकका छिमेकी एवम् समाजसेवी लक्ष्मी कार्कीले आफू नजिकै हुँदा पनि खबर नभएको बताए। ‘मलाई खबर आएको भए उद्दारका लागि पहल गर्थेँ,’उनले भने, ‘लकडाउनले गर्दा कसैलाई खबर गर्ने जमर्को गरेनछन्, अब आमाको मृत्यु भइसक्यो, सरकारले बच्चाको लालनपालनको व्यवस्था गर्दिनुपर्छ।’ नगरपालिकासँग बच्चालाई दूध खुवाइने आमा खोजिदिन आग्रह गरिएको उनले बताए।

२२ वर्षीया लालुकुमारीले शुक्रबार जन्माएको बच्चा उनको तेस्रो सन्तान हो। ठूलीभेरी नगरपालिकाका उपप्रमुख योगेन्द्र शाहीले लकडाउनका कारण पनि सुत्केरीको मृत्यु भएको बताए।

‘मान्छेको आवतजावत कम छ अहिले,’ उनले भने, ‘विपन्न वर्गका परिवारमा उद्दारको लागि कहाँ सम्पर्क गर्ने भन्ने पनि विकटमा थाहा हुँदैन।’ लकडाउनमा मानिसको गाउँघरमा पनि चहलपहल नहुँदा सुत्केरीको समस्याबारे खबर गर्न नसकेको हुन सक्ने उपप्रमुख शाहीको भनाइ छ। डोल्पाका धेरै महिलाहरु अस्पतालमा नगई घरमै असुरक्षित सुत्केरी हुनाले यस्तो समस्या आएको उनले बताए।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले मन्त्रालयमा पनि कुनै किसीमको खबर नआएको बताए। लकडाउन भए पनि खबर आएको भए जटिल अवस्थाका बिरामीको उद्दार गर्न सकिने उनको भनाइ छ।

भर्खरै

सम्बन्धित खबर

Language »