दुरगामी महत्वको योजना बनाउन सक्ने एम्बुस टाइगर क. राम्जी र सफल चेहेरे मोर्चा : डम्बर थामी ‘अनुपम’

लेखक :डम्बर थामी ‘अनुपम’

यतिबेला मैले युद्धविजयका रक्तिम पानाहरू पल्टाउन खोज्दैछु । यी मृत्युन्जयी पानाहरू रगतले लतपतिएका छन् । रगतले कटकटिएका पनि । यी रक्तिम पानाहरूमा सहयोद्धाहरूका प्रतिविम्बहरू परावर्तन भईरहेका छन् । युद्धभूमिमा पोखिएका रगतका प्रत्येक बुँदहरू इतिहासको सुनौलो अक्षर बनेका छन् । ती आँधीमय दिनहरूमा “संघर्षको सुख नै सर्वोत्तम सुख हो !” भने झैं क्रान्तिको सुख नै हाम्रो सुख थियो । व्यक्तिगत स्वार्थ लोभ, लालच परको कुरा थियो । व्यक्तिगत स्वार्थ कुन चरीको नाम हो थाहा थिएन । आज ढलिन्छ कि भोलि ढलिन्छ केही ठेगान थिएन । थियो त केवल क्रान्ति पूरा गर्ने मक्सद । उच्च साहस र बलिदानी भावना । लडाइँको मैदानमा जाँदा को ? पहिला सहिद हुने भन्ने होडबाजी । मर्न तयार हुने उच्चावेग । लडाईँमा जान नपाएमा कमरेडहरू बीच रुवाबासी नै चल्थ्यो । कति उदात्त भावना थियो । कति महान विचार थियो । कति विशाल क्रान्तिकारी चेत थियो । कति समान धारणा थियो । यही क्रान्तिकारी भावना र उच्च चेतनाले लैस भएर नै हामीले क्रान्तिका अविभाराहरू पूरा गरेका थियौं । ” कमाण्डरको आदेश मृत्यु भन्दा प्यारो हुन्छ ” भन्ने हाम्रो विश्वास थियो । यसरी हामी युद्धमा लहर झैं, छाल झैं अघि बढ्थ्यौं । मैले यहाँ फेरि पनि त्यस्तो युद्धको कुरा गर्दैछु जुन युद्धको कुरा जति गरे पनि कम हुन्छ । त्यो युद्ध हो एम्बुस टाईगर क. रामजीको दूरदर्शी योजना र लडाईँका बहादुर टाईगर क. जीवितको कमान्डमा भएको चेहेरे फायरिङ एम्बुस ।

कमाण्डर क. जीवित


त्यो बेला हाम्रो बेथान स्मृति ब्रीगेड, चौधौं बटालियनको कार्यक्षेत्र (काभ्रे+रामेछाप, दोलखा+सिन्धु) जिल्लामा थियो। बटालियन कमिशार क. कृपाश्वर थिए । (उनलाई पनि अति प्राणघातक रोग क्यान्सरले चुँडेर लगिसकेको छ । उनी पूर्वका एक निष्ठावान क्रान्तिकारी नेता थिए । सैन्य-राजनीति (Politico-Military) मा दखल राख्न सक्ने उनको अनुकरणीय क्षमता थियो । क्रान्तिको दौरानमा थोरै मान्छेले मात्रै यस्तो क्षमता राख्न सक्छन । उनको बारेमा फेरि पनि विस्तृत रूपमा कुरा गर्ने नै छु ।) भर्खरै हामीले मैनापोखरी फायरिङ एम्बुस गरेर ठूलो मात्रामा हतियार कब्जा गरेका थियौं । १६ दिनसम्म १६ सय तत्कालीन शाही सेनाको रेन्जर बटालियनसँग चलेको यो भीषण भिडन्तको चर्चा गरिसकेको छु ।बाँकी प्रसंगहरूको चर्चा फेरि पनि गर्नेछु । यसरी भर्खरै विजय प्राप्त गरेको जोश आकाश छुने खालको थियो । धर्ती हल्लाउने खालको थियो । मैनापोखरी मोर्चापछि काभ्रे जिल्लाको बाङ्थलीमा ब्रीगेड सह-कमान्डर क. पावेलले हाम्रो बटालियनलाई विशेष फौजी तालिम दिएका थिए । यो तालीमले पनि हाम्रो मनोबल निकै माथि उठायो । केही नयाँ फौजी ट्याक्टिस र प्रविधि सहित आएको यो फौजी प्रशिक्षण निकै महत्त्वको थियो । त्यसपछि दुई जिल्ला र रिङ क्षेत्रमा काम गर्ने जिल्ला पार्टीहरू र फौजी संगठनहरूको हेडक्वार्टर बीच एउटा विशेष महत्त्वको संयुक्त बैठक बस्यो । र सिन्धुपाल्चोक जिल्लाको अरनिको राजमार्गमा पर्ने चेहेरे भन्ने ठाउँमा फौजी हमला गर्ने विशेष योजना बन्यो । किनकि हामीले दुश्मनको लाईफ लाईनलाई पनि ध्वस्त गर्नु थियो ।

एम्बुस टाइगर क. राम्जी

त्यो एरियामा निकै लामो समयदेखि दुश्मनको चहलपहल बढेको थियो । र दमनले सिमा नाघ्दै थियो । प्रतिरोध कार्वाहीस्वरुप जसरी भए पनि योजना सफल पार्नु पर्ने थियो । त्यो स्थानको निरन्तर रेक्की गर्दै आएका थिए, एम्बुस टाईगर क. गोबिन्द बजगाईं (रामजी) ले । (क. रामजीलाई किन एम्बुस टाईगरको उपनाम दिईएको हो भने धेरै सफल एम्बुस आक्रमणहरू उनकै योजना र कमान्डमा भए । सरल स्वभाव भएका क. रामजी निकै चादुर्दिक ढंगले फौजी योजना बनाउन माहिर थिए । उनको योजना धेरै बैज्ञानिक र वस्तुवादी हुन्थ्यो । ” दुश्मनलाई कसरी चक्मा दिने र भमराले झैं चक्कर काट्ने ?” भन्ने युद्धनियमको स्पिरिटलाई सृजनशील ढंगले लागू गर्ने रणकौशलता उनमा थियो । रोड पारीको दुश्मनको फर्मेशनलाई रोड वारीबाट पनि आक्रमण गर्ने र माथिबाट पनि फ्ल्यांक एट्याक गर्ने, दुश्मनको फर्मेशनलाई तहसनहस पार्ने र हतियार कब्जा गर्ने योजनाको डिजाइन र फौजी भिजन उनैले बनाएका हुन । अझ उनले एरिया एम्बुसको पनि परिकल्पना गरेका थिए । रामेछापको डडुवा सुर्केमा बंकर खनेर लहरे माइन हानेको योजना पनि उनैको हो । दोलखा जिल्लाको मैनापोखरीको रोडमा ढाड राखेर एम्बुस गर्ने योजना पनि उनैको हो। मुडे फायरिङ आश्चर्यजनक एम्बुस हमलाको योजना पनि उनैको हो ।) यसरी हाम्रो सैन्य हेडक्वार्टर र जिल्ला हेड्क्वार्टरको टोलीको स्पिरिट खुब मिलेको थियो । जिल्लाका कमरेडहरू क.ललित,क.अस्मिता, र एरिया सेक्रेटरी क. राजीव । र हाम्रो बटालियनको राजनैतिक कमिशार क. कृपाश्वर। अनि हाम्रो कमाण्डर क. जीवित र सह कमाण्डर क. रामजी । (शक्ति केन्द्रीकरणको अभियानमा सैन्य फर्मेशनको कमान्ड गर्दै हतियार सहित पूर्व आएका क. जीवित लडाईंका एक हिरो हुन । लागातार दुश्मनलाई धूलो चटाउन खोज्ने उनको अनुपम बहादुरिता थियो । धेरै लडाईंहरू उनको कमान्डमा लडियो । क्रान्तिप्रति दृढ उत्तरदायी र स्पष्ट विचार राख्ने क. जीवितले पूर्वमा अतुलनीय योगदान दिएकाछन। आगामी दिनहरूमा उनको बारेमा पनि विस्तृत चर्चा गर्ने नै छु ।) यस्ता जल्दाबल्दा र जोदाहा कमरेडहरू । हाम्रो बटालियनको पनि शृङ्खलाबद्ध लडाईंहरू शानदार ढंगले जीत हाँसिल गर्दै आएको आगो जस्तै फोर्स । हरदम विस्फोटको लागि तयार रहेको डाईनामाईट जस्तै । बन्दुकको मोजलबाट निस्कनै लागेको गोली जस्तै । लडाइँ जित्ने बेलामा सबै कुराको संयोग यसरी मिलेर आउने रहेछ । त्यसैले त हामी दिग्विजयको अभियानमा थियौं । र शानदार ढंगले सफल पनि भयौं ।
फायरिङ एम्बुसको योजना बनेपछि व्यबस्थापनको जिम्मा क. राजीवले लिए । क. राजीव एक उर्जावान यूवा नेता थिए । साथै बौद्धिक पनि । (सानै उमेरमा युद्धमा होमिएका क. राजीव तामाङ समुदायका एक श्रष्टा पनि हुन ।) हामीले आबस्यक माईनहरू, गन पाउडर, जिलेटिन, डाईनामाईट, डिटोनेटरको व्यवस्था गर्‍यौं । मैले करिब पाँच पाथी जति बारुद (गन पाउडर) बनाएँ । गन पाउडर बनाउनमा म निकै सिपालु थिएँ । क्रान्तिकारी जीवनमा सयौं क्विन्टल गन पाउडर बनाएर विष्फोट गरियो । (त्यतिबेला सिलिन्डर माईन बनाउनको लागि गन पाउडरको प्रयोग गरिन्थ्यो।) त्यसपछि म्याप ब्रीफिङ र एसाल्ट कोचिङको काम सक्यौं । यी सबै कामहरू हामीले हाम्रो आधार ईलाका जस्तै गाउँहरू माझिफेदा, ठूलो बाङ्थली, सानो बाङ्थली, चौबास, लिसंखु, निगाले लगायतका गाउँहरूमा सम्पन्न गर्‍यौं। (अहिलेसम्म पनि यी अजम्बरी गाउँहरूको बिछट्टै याद आउँछ । आदरणीय जनताहरूको याद बिछट्टै आउँछ । यी गाउँहरूको मुहार फेरिए कि उस्तै छ होला भन्ने कुराले छाती दुखाईरहन्छ ।) हतियार विन्यास, एसाल्टहरू निर्माण, गोलिगट्ठा, माइन र ग्रिनेडहरू ठिक ठिक ढंगले बिन्यास गरेपछि हाम्रो टोली २०६१ साल भाद्र ७ गते नै वाफल, ठोकर्पा हुँदै चेहेरे पुगेको थियो । र उज्यालो हुनु भन्दा अगाडि नै सबै एसाल्टहरू, माईनिङ टोली र सपोर्ट टोलीहरूले आ-आफ्नो आर्कमा पोजिशनहरू सेट गरिसकेको थियो । त्यो लडाइँमा रिङ्को एउटा टोली पनि क. सबिनको कमाण्डमा सहभागी भएको थियो । (त्यतिबेला रिङ क्षेत्रमा उपत्यका वरिपरि जनमुक्ति सेनाको छ वटा कम्पनीले फौजी आक्रमण बढाएको थियो ।) त्यसैले लडाइँ नयाँ स्पिरिटकासाथ लड्ने उदात्त साहस पैदा भएको थियो ।
यसरी सबै एसाल्टहरूले आफ्नो पोजिशन सेट गरेपछि उज्यालो बिहानीको प्रतीक्षामा रहन्छ । ताराहरू झर्दै जान्छन् । पूर्वतिर रातो-रातो आभा देखिँदै जान्छ । स्थिति एक तमासको हुँदै जान्छ । अरनिको राजमार्गमा बिस्तारै गाडीहरू गुड्न थाल्छन् । मान्छेको चहलपहल बढ्न थाल्छ । बर्खाको समय भए पनि आकाश सफा छ । घामका पाईलाहरू बिस्तारै सर्दैछ्न । सुनकोशी एकोहोरो सुसाईरहेको छ । चराचुरुङ्गीहरू चिर्बिराईरहेकाछन । समय एकनासले सुनकोशीको पानी जस्तै बगीरहेको छ । जनमुक्ति सेनाको सम्पूर्ण एसाल्टहरू दुश्मन आउने समयको प्रतीक्षामा छन । आक्रमणको उचित मौकाको प्रतीक्षामाछन । जब घडीको सुइले एघार बजेको संकेत गर्छ दुश्मन आफ्नो फर्मेशनमा किलिङ रेन्जभित्र बढ्दै आउँछ । उसले केही सोचेको छैन । उ सदाको झैं निर्धक्क छ । जुन ठाउँमा उसले खतराको कुनै महसुस नै गरेको छैन । जब दुश्मनको फर्मेशन किलिङ रेन्जभित्र प्रवेश गर्छ तब जनमुक्ति सेनाको सबै एसाल्टहरूले चट्याङ परे झैं एकसाथ आक्रमण गर्छ । (मुख्य रूपमा तीन वटा कमान्ड थियो । क. जीवित, क. रामजी र क. सविनको । अन्य एसाल्ट र स्टप ग्रुपहरू धेरै थिए । तर सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण थियो ।

बटालियन कमिशार क. कृपाश्वर

क. कृपाश्वरले समग्र स्थितिको आँकलन गरिरहेका थिए । बाहिरी स्थिति पनि बुझिरहेका थिए । किनकि आक्रमणपछि रक्षालाई पनि विषेश ध्यान दिनुपर्छ लडाइँमा ।) माईन बिस्फोट गर्छ । ग्रिनेड हान्छ । एल.एम.जी. बाट पनि भीषण आक्रमण गर्छ । एकछिन अगाडिसम्मको शान्त वातावरण एकछिनमै कोलाहलमय हुन्छ । चेहेरे बारुदको धूवाँले कुहिरीमण्डल हुन्छ । ठूलो-ठूलो आवाजमा टर्पेडोहरू पनि विष्फोट भईरहन्छन । माइनहरू लगातार विष्फोट भईरहन्छन । असिना वर्षे सरि दोहोरो फायरिङ चलिरहन्छ । दुश्मनहरू ढलीरहन्छन । कोही हतियार फालेर आत्मसमर्पण गरिरहन्छन । कोही सुनकोशीमा हाम फालिरहन्छन । फिल्मको पर्दा झैं दृश्य निकै रोमाञ्चक भईरहेको थियो । तर यो फिल्मको पर्दा नभएर जीवन मृत्युको सवाल थियो । एक शक्तिले अर्को शक्तिलाई पराजित गर्ने बहादुरिता थियो । यसरी लडाइँ झन भीषण हुँदै गयो । करिब दुई घन्टाको अन्तरालमा लडाइँ फाईनल भयो । फ्ल्यांक एट्याक गर्ने हाम्रो एउटा टोलीलाई दुश्मनको पनि फ्ल्यांक एट्याक टोलीले किलिङ रेन्ज भन्दा माथि नै आक्रमण गरेछ । त्यहाँ हाम्रो होनहार बी कम्पनीका सेक्सन सह कमान्डर क. मान बहादुर खाती (धर्ती) को शहादत भयो । यसरी क. धर्तीको रगतबाट साटेको हतियार एक थान एल. एम. जी., तीन थान ईन्सास राईफल, तीन थान एस. एल. आर. हजारौं राउन्ड गोलीहरू प्राप्त भयो । यसरी लडाईं विजयको शिखरमा पुग्यो । हामीले क्रान्ति-जिन्दावाद ! को नारा घन्काउँदै फेरि ठोकर्पाको उकालो लाग्दै आफ्नो आर. भि. पोइन्टतिर रिट्रीट भयौं । यो लडाइँमा मेरो भूमिका स्टप ग्रुपको कमान्डमा भए पनि मैले निकै गर्वबोध गरेको छु । किनकि हामी क्रान्तिका दाँती र पेचकिला थियौं । आवश्यक पर्दा जता पनि फिट हुनुपर्थ्यो । म त्यसैमा फिट भएँ ।
यसरी हाम्रो टोलीले यो आक्रमण शानदार ढंगले सफल पारेपछि दुश्मन निकै अत्तालियो । र काभ्रे, रामेछापमा हेलिकप्टरबाट करिब बार्‍ह सयको हाराहारीमा फोर्स खन्याएर अप्रेशन चलायो । अर्को आतंक मच्चायो । तर पनि त्यो बेला हामीले हाम्रो सम्पूर्ण फोर्सलाई जङ्गलमा सिफ्ट गराएर सक्रिय रक्षाको ट्याक्टिस अबलम्बन गर्‍यौं । अग्ला-अग्ला डाँडाहरूमा एल. एम. जी. टोली राख्यौं । मुख्य नाकाहरूमा एम्बुस टोलीहरू तैनाथ गर्‍यौं । बाक्लै ईन्टलीजेन्स परिचालन गर्‍यौं । दुश्मन नफर्कुन्जेल जंगलमै हारबोर सेट गर्‍यौं । त्यतिबेला त्यही युद्धकला अपनाउनु नै बुद्धिमानी हुने थियो । दुश्मन आफ्नो ब्यारेक फर्केपछि फेरि हामी विजयोत्सवको अभियानमा जनसमुदायसँगै रह्यौं । र अर्को लडाइँको तयारीमा लाग्यौं ।

+ posts
Language »