सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दोस्रो कोरोना संक्रमित युवती अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् । उनलाई केही बेरअघि उपचाररत टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले डिस्चार्ज गरेको छ ।

चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् ।

स्वस्थ भएर अस्पतालबाट घर फर्कनुअघि ती युवतीले संक्रमण भएपछि नहडबडाउन र नआत्तिन आग्रह गरेकी छिन् । आत्मविश्वास र दृढ इच्छाशक्तिले नै कोरोना भाइरसमाथि विजय पाउन सम्भव हुने बताउँदै उनले आफ्नो उपचारमा सहयोग गर्नुहुने सबै चिकित्सक र स्वास्थ्कर्मी एवं अस्पताल प्रशासनप्रति आभार व्यक्त गरेकी छिन् ।

गत चैत ४ गते फ्रान्सबाट नेपाल आएकी १९ वर्षीया यी युवती गत चैत १० गते टेकु अस्पताल भर्ना भएकी थिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएदेखि नै आफूलाई निकै सचेत र सजग राखेकी यिनले घरमा पनि पूर्णत: क्वारेन्टाइनको अनुशासन निर्वाह गरेकी थिइन् । पछि टेकु अस्पतालमा स्वाब परीक्षण गर्दा संक्रमण देखिएलगत्तै अस्पतालमा नै बसेर उपचार गराउँदै आएकी थिइन् ।

आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् । उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । शनिबारको रिपोर्ट पनि नेगेटिभ आएकाले डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए ।

फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना सं‌क्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् ।

संक्रमितमध्ये उपचारपछि निको भएकी यिनी दोस्रो नेपाली हुन् । यसअघि कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानबाट आएका एक संक्रमित युवक उतिवेलै निको भएर घर गइसकेका थिए । यो काेराेना विरूद्ध नेपाली चिकित्सकहरुको लागि दोस्रो सफलता हो ।

अहिले टेकु अस्पतालमा धादिङका संक्रमित युवा उपचाररत छन् । पछिल्लो समय नेपालमा काेराेना संक्रमितको संख्या ३० पुगेकाे छ । यीमध्ये पूर्णरूपमा निकाे हुनेकाे संख्या २ पुगेकाे हाे

गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि ठीक भएर घर फर्किसकेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »