नागार्जुन राष्ट्रिय निकुञ्जमा डढेलो, टुँडिखेलमा घोडेजात्रा

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।

आइतबार दिँउसो डढेलो लागेपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल जानकारी दिए ।

पोखरेलका अनुसार हेलिकोप्टरमा पानी भर्नका लागि होटल सब्रिनाको स्वीमिङ पुल र मेलम्ची खानेपानी आयोजनाको पानी प्रयोग गरिएको थियो ।

त्‍यअघि काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल आगो नियन्त्रणका लागि पुगेका थिए ।

टुँडिखेलमा घोडेजात्रा

काठमाडौं उपत्यकामा आइतबार विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्वका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाले विभिन्न कला–कौशल प्रस्तुत गरेका थिए । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी लगायत सरकारका विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । उपत्यकामा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले सुरक्षाको लागि सीमित पाहुना र कम सहभागी गराइ कार्यक्रम गरिएको नेपाली सेनाले जनाएको छ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।

यसै कारण प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । गत वर्ष कोरोना महामारीका कारण बन्दाबन्दी जारी गरिएकै दिन घोडेजात्रा परेकाले कार्यक्रम स्थगित गरिएको थियो । यस वर्ष पनि सेनाले थोरैलाई आमन्त्रित गरेर सांकेतिकरूपमा मात्र जात्राका कार्यक्रमलाई निरन्तरता दिइएको हो ।

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »