Change Action Nepal को सहयोग अनि आरोही स्याङ्तानले देखेको घ्याङ्फेदी

शर्मिला स्याङ्तान, काठमाडाैँ

सात घन्टा ट्रकको यात्रा अनि चार घन्टाको लामो पैदल यात्रा पश्चात नुवाकोट दुप्चेश्वर १ घ्याङ्फेदी सिसिपुमा मानव अधिकारकर्मी इन्दिरा घले र म आइपुग्यौं ।

यो ठाउँमा केहि दिन अघि बाढीपहिरो जोखिम क्षेत्र भनि हामीले समाचार र सामाजिक संजालमा देखेका थियौं। जिल्लाका केही जनप्रतिनिधिहरु सङ्ग सोधखोज गरी त्यहाँको आधारभुत आवश्यकताको बारे पत्ता लगाई Change Action Nepal को सहयोगमा हाम्रो यात्रा तय भएको थियो । समस्यामा परेका समुदायको लागि १००० लिटरको ३ थान पानी ट्याङ्की ,१०० थान पानीको फिल्टर ,महिलाहरुका लागी स्यानेटरी प्याड, विद्यार्थी भाइ-बहिनीहरूको लागि खेल सामाग्री जस्तै: भलिबल, फुटबल र स्वास्थ्य सामाग्रीहरु माक्स, ह्यान्ड स्यानिटाइजर, ह्यान्डवास र थर्मलगन दुई सेट लिएर हामी पुगेका थियौँ ।

घ्याङ्फेदी सिसिपु यात्रा मेरो दोस्रो पटक हो । प्राकृतिक सुन्दरताले भरिपुर्ण यो ठाउँ चेलीबेटी बेचबिखन गर्ने क्षेत्र भनेर चिनिन्छ । करिब १३४ घर धुरी तामाङहरु बसोबास गर्ने यहाँ केही सम्पन्न परिवार देखी धेरै बिपन्न परिवार बसोबास गर्दछन् । यहाँका धेरै महिलाहरु पढ्न र लेख्न जान्दैनन् त्यही कारणले गर्दा धेरैजसो बालविवाह विकराल समस्या देखिन्छ । यसरी पटक-पटक आएर उनीहरु सङ्ग बुझ्दा उनीहरुले पढ्न नपाएकोमा धेरै दुःख मान्दछन् ।

गाउँ नजिक एउटा प्राथमिक विद्यालय रहेको छ तर विद्यालयको भवन अत्यन्तै नाजुक रहेछ र जिल्लाको सदरमुकामबाट टाढा रहेकोले शिक्षकहरुको नियमित उपस्थिति नहुने कुरा स्थानीय बासिन्दाहरुको गुनासो थियो । अशिक्षाको कारणले गर्दा अत्याधिक मात्रामा मध्यपान र धूम्रपानको कारणले महिलाहरुको स्वास्थ अवस्था नाजुक देखिन्छ । बिरामी भएको बेलामा करिब दुई घण्टा हिडेर स्वास्थचौकीमा जान झन्जट मान्दै धामीझाँक्रीको भर परेको देखिन्छ। धामीझाँक्रीबाट नै रोग निको हुन्छ भन्ने अन्धविस्वास व्याप्त रहेको देखिन्छ। विशेष गरेर गर्भवती र प्रसुती सेवा बाट बञ्चीत देखिन्छन् । अस्पताल टाढा भएको र यातायात सुबिधा नभएको कारण घाँस काट्न जाँदा ,जङ्गलमा ,बाटोमा नै बच्चा जन्माएको पाइयो र सुत्केरी हुँदा पौष्टिक आहार खानु पर्छ ,आराम गर्नुपर्छ भन्ने ज्ञान समेत नभएको पाइयो । नेपाल सरकारले प्रदान गरिएको सामाजिक सुरक्षा अन्तर्गतको वृद्ध भत्ता ,अपांग भत्ता र विधुवा भत्ता समेत उपयोग गर्न नपाएको हामीले पायौँ ।

अहिले आएर किशोरीहरुमा पढ्नु पर्छ ,केही सिक्नु पर्छ भन्ने ज्ञान अाएकाे स्थानीय सन्चमायाले बताइन् । यति कुरा हुँदा-हुँदै पनि साधन स्रोतको अभाव र सूचनाको पहुँच नहुँदा भाग्यलाइ दोष दिने प्रशस्तै गाउँलेहरु देखियो। बिडम्बनाको कुरा के छ भने सदियौँ देखी यहाँ बसोबास गर्दै आएका बासिन्दाहरुको जग्गाको धनिपूर्जा समेत छैन । स्थानीयका अनुसार गोसाइँकुण्डको गुठी भित्र यहाँको जमिन पर्छ भन्ने कुराको जानकारी मात्र छ तर गुठीले के काम गर्छ ? भन्ने कुरा समेत थाहा नभएको स्थानीय विष्णु तामाङ बताउँछन्।

प्राकृतिक विपत्तिको सामना गरिरहेका यो ठाउँ एकदम रमणीय र पर्यटकीय सम्भावना रहेको छ। यो ठाउँमा स्थानीय जनसमुदायलाई सचेतना ,आय आर्जनको कार्यक्रम ,स्थानीय उत्पादनको बजारीकरण ,अर्गानिक खेती प्रति प्रोत्साहन र शैक्षिक विकासमा जोड दिन सकेमा गोसाइँकुण्डको नजिकै अवस्थित यस ठाउँको विकास र समृद्धि असम्भव भने छैन । यस्तै अनगिन्ती योजना अनि महिला सशक्तिकरणको प्रण गर्दै मैले पनि धेरै सिक्ने र सिकाउने मौका पाएकी छु । मेरो गन्तव्य र यात्रा सधैं यस्तै समुदाय र क्षेत्र सङ्ग समर्पित रहने छ ।

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »