नेपालकाे पुरानाे प्रिन्टिङ प्रेस बन्द, ६६ वर्ष पुरानाे इतिहासकाे विर्सजन

काठमाडौं। वैशाखको पहिलो साता संचालक कनकमणि दीक्षितले जब जगदम्बा प्रेसको हात्तीवन कार्यालयमा स्टाफहरुलाई डाकेर आफ्ना कुरा राख्न थाले, त्यहाँ एक किसिमको शून्यता छायो।

उनी स्वयंको गला पनि अवरुद्ध थियो। किनकि, बुवा कमलमणिले ६६ वर्षअघि स्थापना गरेको देशकै अग्रणी छापाखाना बन्दको घोषणा उनी गर्दै थिए। यसबीच जगदम्बा अनवरत साढे ६ दशक नै संचालनमा थियो।

‘जुनबेला मैले स्टाफहरुलाई प्रेस बन्दको घोषणा सुनाउन खोजें‌, मेरो गला नै अड्कियो। मैले कुरा राख्न थाल्दा पनि ‘हाम्रो बुवाले हामीलाई क्षमा गर्नुहुनेछ’ भनेर शुरु गरेको थिएँ,’ दीक्षितले गह्रुँगो आवाजमा भने।

डेढ महिनाअघि ४० जनाको हाराहारीमा रहेका जगदम्बाका कर्मचारीहरुलाई उनले प्रेस बन्दको जानकारी गराए। दुई साताअघिबाट भने छापाखाना औपचारिक रुपमै बन्द भएको छ। प्रेसको हिसाब-किताब राफराफ नहुन्जेलसम्मका लागि उच्च व्यवस्थापनका कर्मचारीहरु मात्र बाँकी छन्। बाँकी सबै कर्मचारीलाई असारसम्मकै तलब दिनेगरी अहिले उपदान दिएर बिदा गरिसकिएको छ।

निजी लगानीमा संचालित नेपालकै पुरानो यो प्रेस अहिले बिक्रीमा चढाइएको छ। जगदम्बा स्रोतको भनाइमा, मेशिन तथा उपकरणको बजार मूल्य मूल्यांकन गरेर त्योभन्दा लगभग आधा मूल्यमा प्रेस बेच्न खोजिएको छ। ६ वटा मुद्रण मेशिनसँगै सीटीपी, बाइन्डिङ, फोल्डिङ, कटिङ, डाइ लगायत ४३ प्रकारका मेशिन तथा उपकरणहरुको जम्मा ११ करोड १२ लाख २७ हजार रुपैयाँ तोकेर बिक्रीमा राखिएको छ।

‘बुवाले शुरु गरेको प्रेस हामीले चलाउन सकेनौं। यसमा हामीलाई दिक्दारी त छ, तर यो पनि एउटा संस्था भएकाले कम्पनी जुन तरिकाले एउटा ढाँचासहित चलाउनुपर्ने थियो त्यसमा ढंग नपुगेर र बजारको अवस्था हेरेर बन्द गरेका हौं,’ दीक्षितले भने।

मेशिन तथा उपकरण मात्र किनेर अन्यत्र लगेर पनि चलाउन सक्ने वा अहिले हात्तीवनमा रहेको प्रेसको सम्पूर्ण सेटअपसहित किनेर त्यहीँ चलाउन चाहनेलाई जग्गासमेत उपलब्ध गराउन सक्ने पनि दीक्षितले बताएका छन्।

हात्तीवनमा जगदम्बा प्रेसको कम्पाउन्ड करीब २२ रोपनीको छ। त्यसमध्ये प्रेस चलाउनका लागि आवश्यक हुनेजति जग्गा नयाँ खरीदकर्तालाई दिनसक्ने उनको भनाइ छ। प्रेस यथास्थितीमै किनेर त्यहीँ चलाउन चाहे १० देखि १२ रोपनीसम्म जग्गा लिजमा दिने बताइएको छ।

प्रि–प्रेसको सीटीपीदेखि छपाई र पोस्ट प्रेससम्मका सम्पूर्ण काम गर्न सक्ने(अपस्ट्रिम टु डाउनस्ट्रिम) प्राविधिक क्षमता रहेको जगदम्बा नेपालका छापाखानाहरुमध्ये सबैभन्दा आधुनिक हो। लगानीका दृष्टिले पनि यो यहाँका अन्य प्रेसहरुभन्दा ठूलो छ। अहिलेको बजार मूल्यका आधारमा करीब २० करोड १५ लाख रुपैयाँ बराबरको यसको मेशिनरी तथा उपकरण नै रहेको बिक्रीका लागि जगदम्बाले तयार पारेको मूल्यांकन विवरणबाट देखिन्छ।

संचालक दीक्षितका अनुसार प्रेस बन्द गर्ने निर्णय अकस्मात गरिएको भने होइन। ‘करीब १० वर्षअघिदेखि नै यो घाटामा चलिरहेकाले केही वर्षयता अब सकिँदैन कि भन्ने हामीलाई लागेको थियो। किनकि, जुन तरिकाले प्रिन्टिङको बजार विकास होला भन्ने अनुमान थियो, त्यो अनुसार भएन,’ उनले भने।

बुवा कमलमणिको शेषपछि प्रेस सम्हाल्ने जिम्मा पूर्णरुपमा दीक्षित दाजुभाइ कुन्द र कनकमणिको काँधमा आयो। तर दुवैजनाले त्यसअनुसार प्रेसमै केन्द्रित भएर समय दिन नसकेपछि यसलाई संचालन खर्चसमेत धान्न नसक्ने अवस्थाबाट बाहिर ल्याउन झन् गाह्रो हुँदै गएको थियो।

जगदम्बालाई टिकाउन अन्यत्रका प्रेस संचालन अभ्यास हेरेर त्यहीअनुरुप विशिष्ट विभागहरु नै खडा गरेर काम गर्न खोज्दा पनि नसकेपछि यसलाई बन्द गर्नु परेको दीक्षितको भनाइ छ। उनी भन्छन्, ‘एकातर्फ यो क्षेत्रमा पायोनरिङ काम गर्दै गयौं, तर अन्ततोगत्वा संस्था टिकाउन नाफामा जानैपर्छ। त्यसो हुन नसकेपछि बन्द गर्नुको विकल्प नै भएन।’

उनका अनुसार ‘अपरेटिङ ब्रेक इभन’ का लागि नै जगदम्बाको वार्षिक कारोबार १५ करोड रुपैयाँको हुनुपर्ने अवस्था थियो। ‘तर त्यसको नजिक पनि आउन सकिएन। सधैं घाटामा कहिलेसम्म चलाउन सकिन्छ र,’ उनले भने। जगदम्बाको कारोबार खुम्चँदै गत वर्ष नौ करोड ६० लाख रुपैयाँमा झरेको प्रेसका लेखा शाखासम्बद्ध एक कर्मचारीले जानकारी दिए।

दीक्षित भन्छन्, ‘बजारको लयभन्दा अगाडि बढेर समयको माग सम्बोधन गर्ने सोचले अत्याधुनिक मेशिनहरु नेपालमा भित्र्यायौं। जुराई­–जुराई माया गरेर छपाईका सबै चरणका लागि चाहिने मेशिनहरु एक–एक गरेर थप्दै जगदम्बालाई टप-टु-बटम प्रेस बनायौं। एक–दुई वर्षअघिसम्म पनि प्रेस थप अपग्रेड गर्ने क्रम चलिरहेकै थियो, तर त्यतिबेलै यसलाई अब चलाउन नसकिने भयो भन्ने हाम्रो विश्लेषण भयो।’

अहिले संचालनमा रहेका व्यापारिक प्रेसहरुमध्ये सबैभन्दा पुरानो भएकाले जगदम्बा ‘क्लाइन्ट बेस’, व्यापार, ख्याति इत्यादि सबै दृष्टिले अन्यभन्दा अगाडि रहेको छापाखाना उद्योगका जानकारहरु बताउँछन्। यसका बाबजुद यसले संचालन खर्चसमेत उठाउन नसकेर बन्द गर्नुपर्ने अवस्था आउनुले नेपालमा प्रिन्टिङ प्रेसको भविष्यप्रति संशय उब्जिएको छ।

दरबारमा काम गर्नेका सन्तानका लागि खोलिएको थियो छापाखाना

इतिहासकार तथा भाषाविद् स्वर्गीय कमलमणि दीक्षितले सन् १९५४ मा यो प्रेस आजको जस्तो विशुद्ध व्यापारिक सोचले थालेका थिएनन्। त्यसताका दरबार र आफ्नो घरमा काम गर्ने व्यक्तिका सन्तानहरुलाई काम मिलोस् भन्ने ध्येयले उनले प्रेस खोलेका थिए।

रानी जगदम्बाकुमारीदेवी राणाको नाम राखेर त्यसताका लिथो छपाई विधिबाट थालिएको ‘जगदम्बा प्रेस’ अफसेट प्रिन्टिङमा पनि नेपालको पायोनियर मानिन्छ।

नेपाली मुद्रण उद्योगमा थुप्रै नयाँ अभ्यासहरुको थालनी गरेको श्रेय जगदम्बालाई जान्छ। पुस्तकहरु नेपालमै छाप्ने परम्परा पनि यसले बसाल्यो। नेपालमा भित्ते पात्रोको थालनी पनि जगदम्बा प्रेसले नै शुरु गरेको थियो। ‘फोर कलर’ अफसेट प्रिन्टिङमा पनि विदेश नगई नेपालमै काम गर्न सकिँदो रहेछ भन्ने छाप बसालेको जस पनि जगदम्बालाई नै छ।

विसं २०११ सालमा जगदम्बा प्रेस संचालनमा आउँदा बालाजु औद्योगिक क्षेत्रमा ‘जोर गणेश’ नामको अर्को एउटा छापाखाना थियो, जुन धेरै वर्षअघि बन्द भइसकेको छ । त्यसअघि गोरखापत्र संस्थानले मात्र छापाखाना राखेको थियो। यी दुईबाहेक नेपालमा जगदम्बा प्रेस स्थापना हुनुअघि अरु छापाखाना सायदै खुलेका थिए।

साढे ६ दशकअघि कमलमणिले एउटा एउटा अक्षर कम्पोज गरेर फर्मामा मिलाएर कसेर राख्ने ‘कोल्ड मुभेबल टाइप’को ट्रेडल मेशिनबाट जगदम्बा प्रेस शुरु गरेका थिए।

कमलमणिले सबैभन्दा पहिले ल्याएको ट्रेडल मेशिन अहिले पनि यसको छापाखाना स्थलमा सुरक्षित छ। प्रेसका अरु सबै सामान बेच्दा पनि उक्त मेशिन भने बिक्री नगर्ने कनकमणिले बताए। ‘त्यो ट्रेडल मेशिन हामी बेच्दैनौं,’ उनले भने, ‘जगदम्बा प्रेसको लिगेसी र बुवाको सम्झनाका लागि त्यसलाई पाटन ढोकामा ल्याएर भए पनि चलाएर राख्नेछौं।’

किताब छपाईका लागि उक्त मेशिन धेरै वर्ष चलाएको जगदम्बाले प्रिन्टिङ माग बढ्दै गएपछि सन् १९७५ मा आफ्नै ‘टाइप फन्ड्री’ सेटअप गर्यो।

‘चेक मेशिन’ समेत भनेर चिनिने ‘अडास्ट डोमिनेन्ट’ ब्रान्डका दुईवटा सिंगल कलर मेशिन ल्याएर सन् १९८८ मा कमलमणिले जगदम्बामार्फत आधुनिक छपाई प्रविधिको ‘अफसेट प्रिन्टिङ’ लाई नेपाल भित्र्याए। त्यसको पाँच वर्षपछिबाट कुन्द र कनकमणिले अन्तरराष्ट्रियस्तरको छपाई गर्न सक्नेगरी मेशिन तथा उपकरणहरुलाई स्तरोन्नती र विस्तार शुरु गरेर जगदम्बा प्रेसलाई आजको स्वरुपमा ल्याएका हुन्।

बुवा कमलमणिलाई सम्झँदै कनकले भने, ‘नेपाली छापाखाना जगतमा एउटा लिगेसी बोकेको अग्रणी संस्थाको अवसान भयो। उहाँले हामीलाई क्षमा गर्नुहोला।’

विजमन्डुबाट साभार

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »