प्रहरीले दर्ता गर्न नमानेको जाहेरी दिन जसपाका नेताहरु सरकारी वकिलको कार्यालय पुगे

काठमाडौं । अपहरण मुद्धाको जाहेरी दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न डा. सुरेन्द्र यादव पार्टीका नेताहरुलाई लिएर बबरमहलस्थित कार्यालय पुगेका हुन् ।

पूर्वराज्यमन्त्री यादवसँगै जसपाका नेताहरु राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ पनि छन् ।

बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद डा. यादवलाई १० वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए । यादवले आफूलाई जबर्जस्ती काठमाडौं ल्याएको भन्दै अपहरणको मुद्धामा अनुसन्धान गर्न जाहेरी दिन लागेका हुन् । उनीहरुले महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिन खोजेको थिए तर प्रहरीले दर्ता गर्न मानेन ।

पूर्व आईजीपी खनाल, श्रेष्ठ र बस्नेतले तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयासमा १० वैशाखमा महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएका थिए । समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरे ।

भोलिपल्ट बिहानै सांसद यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरूको सम्पर्कमा पुगेका थिए । पछि यादवले आफूलाई अपहरणकै शैलीमा काठमाडौं ल्याइएको बयान दिएका छन् ।

तर, खनाल, श्रेष्ठ र बस्नेतले भने उनकै सहमतिमा काठमाडौं ल्याइएको बताउँदै आएका छन् ।

+ posts

Leave a Reply

Your email address will not be published.

Language »