फुटबल खेलाडी सन्तोष साहुखलकाे लिगमा १०० गाेल

आफूले प्रहार गरेको बलले जाली छोए पछि सन्तोष साहुखल मुसुक्क मुस्काए।

दशरथ रंगशाला मैदानमा एकैछिन कुदे।

सहयात्रीहरुको बधाई स्वीकारे। बस्, यतिमै सकियो सन्तोष साहुखलले गोल गरेको खुसीयाली।

यति छोटो खुसीयाली साहुखलले नेपाली फुटबलमा हासिल गरेको उपलब्धिको हिसाबले पर्याप्त थिएन।

उनले पाएको सफलता सानोतिनो होइन, उनी छ दशक पुरानो शहिद स्मारक लिगमा १०० गोल गर्ने पहिलो खेलाडी बनेका हुन्।

यो दुर्लभ उपलब्धि हासिल गर्न उनले १६ वर्ष लामो तपस्या गरेका छन्, स्कुल ड्रेसमै मैदान पुगेर गोल गरेका छन्।

परीक्षा छोडेका छन्, २०६० सालदेखि लगातार लिग खेलेको छन् र विदेशी भूमिलाई कर्मथलो बनाए पनि फुटबलकै लागि पटकपटक देश फर्केका छन्।

खेलजीवनमा कुनै पनि वर्ष लिग खेल्न नटुटाएका साहुखल ए डिभिजन लिगकै सर्वाधिक सफल खेलाडी हुने नै भए।

पूर्वराष्ट्रिय खेलाडी उपेन्द्रमान सिंह भन्छन्, “यो गजबको उपलब्धि हो। आधुनिक नेपाली फुटबलमा यस्तो इतिहास दोहोरिन लामो समय कुर्नुपर्छ।

“यति लामो धैर्यता अबका पुस्तामा शायदै भेटिएला।”

साहुखल बाहेक लिग फुटबलको इतिहासमा ५० भन्दा वढी गोल गर्ने खेलाडीहरु बसन्त थापा, सुरेन्द्र तामाङ, जेविश पाण्डे र रमेश वुढाथोकी छन्।

यी सबै खेलाडीहरुले खेलाडी जीवनबाट सन्न्यास लिइसकेका छन्।

अहिलेका स्ट्राइकरहरुको गोल संख्या लिगमा कमै मात्र छ।

सयौँ गोल
नेपाल पुलिस क्लब बिरुद्ध साहुखलले आफ्नो १०० गोल पूरा गरेका हुन्।

त्यो खेलको १८ औं मिनेटको समय थियो। च्यासल एक गोलले खेलमा पछि परिसकेको थियो।

त्यतिबेला डि बक्समा अनमार्क रहेका साहुखलले हेमन्त श्रेष्ठले प्रहार गरेको फ्रि किकमा ‘वान टच’ प्रहार गर्दै बललाई पोष्टको दिशा देखाए।

डेढ दशकको लिग यात्रामा त्यो उनको सयौं गोल संख्या बन्यो।

उनी त्यतिमा रोकिएनन्। दोस्रो हाफमा च्यासल २-१ ले फेरी खेलमा पछि पर्‍यो। तर ४९ औं मिनेटमा फेरी उनले एक जना विपक्षीलाई छक्याउंदै ब्यक्तिगत दोस्रो गोल गरेर खेल बराबरीमा ल्याए।

वर्षाका कारण भिजेको बुधवारको र‌ंगशालाको चिसो मौसम साहुखलकै नाममा रह्यो।

दुई गोल गरेसंगै उनी जारी लिगमा सर्वाधिक गोलकर्ता (५ गोल )को सूचीमा अग्रस्थानमा पुगेको छ। उनी खेलका म्यान अफ द म्याच पनि भए।

अन्तर्मुखी साहुखलको जवाफ

खेलपछिको पत्रकार सम्मेलनमा उनको आफ्नो स्वाभाविक बानी फेरी देखियो।

न उनी सय गोलको खुशी साट्न आतुर देखिए, न रोमाञ्चित भएर आफ्नो सफलताको गाथा नै सुनाए।

सय गोलको कोसेढुंगा पूरा गर्ने एक्लो नेपाली हुनुको खुशी बारे सोधिएको प्रश्नमा उनको जवाफ थियो – ” सय गोल मेरो लागि महत्वपूर्ण होइन। टिमलाई जिताउन सकेको भए खुशी हुने थिएँ।”

पत्रकारहरुले बारम्बार उपलब्धि कोट्याउन खोज्दा उनको एउटै जवाफ थियो -“सय गोल भन्दा टोलीको प्रदर्शन मेरो लागि ठूलो हो। म मेरो टिम माथी आएको हेर्न चाहन्छु।”

बरु उनी पत्रकार सम्मेलन छोडेर खेलको क्रममा घाइते भएका आफ्ना जापानी साथीसंग भेट्न आतुर देखिएका थिए।

तर उनले आफुले ५० गोल गर्दा भने निकै खुशी लागेको बताए। भने, ” सिनियर दाजुहरुले गोल गरेको देख्दा त्यतिबेला ५० गोल गर्न पाए हुन्थ्यो जस्तो लागेको थियो। गोल संख्या ५० पुग्दा निकै खुशी पनि भएको थिएँ।”

साहुखलले आफ्नो कीर्तिमान युवा खेलाडीहरुले चाँडै तोड्न सकोस् भनी शुभकामना दिंदै भने, ” युवाहरुलाई प्रेरणा मिलोस् मेरो शुभकामना छ।”

साहुखल अन्तर्मुखी देखिएपनि उनका प्रशिक्षक बालगोपाल साहुखलले भने भाईको सफलतामा निकै रमाए।

च्यासलका प्रशिक्षक उनले भने, ” भाईको बानी नै यस्तै हो। धेरै बोल्दैनन्। तर एउटा परिवारको सदस्यको नाताले हामी उनको सफलतामा गौरवान्वित छौं।”

प्रतिद्धन्द्वी नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले साहुखललाई बधाई दिए। अनि ठट्यौली पारामा भने, ” सन्तोषले हाम्रै खेल कुरेर बसिरहेका रहेछन्। आज हामीलाई अप्ठेरोमा पार्‍यो। उनको सफलता भने ठूलो हो। बधाई छ।”

च्यासल युवा क्लबबाट खेलिरहेका साहुखलले पहिलो दुई गोलमा ३ गोल गरेपछि उनको लिग गोल संख्या ९९ पुगेको थियो।

त्यसपछि उनको १०० गोलको चर्चा र प्रतिक्षा भयो।

तर त्यसपछिको दुई खेलमा उनले गोल गर्न सकेनन्। एनआरटी र जावलाखेल युथ क्लब विचको खेलमा उनी गोल विहिन मात्र भएनन्, दुबै खेलमा च्यासल पराजित हुन पुगेको थियो।

सन्तोष साहुखलको शतक
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा गोल

साल क्लब गोल
2060 थ्रीस्टार ६
2061 एपीएफ ६
2062 थ्रीस्टार ९
2063 थ्रीस्टार ११
2067 थ्रीस्टार १९
2068 मनाङ १६
2069 थ्रीस्टार १७
2070 थ्रीस्टार ९
2075 च्यासल ३
2076 च्यासल * ४
विसं २०६४-६६ र २०७१-७४ सम्म लिग फुटबल आयोजना भएको थिएन।

स्कुलबाटै खेलमा

थ्रीस्टार क्लबका पूर्वअध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठले हुर्काएका खेलाडी हुन् साहुखल।

भक्तपुर बोडेको स्कुलमा पढ्दै गरेका फुच्चे साहुखलको प्रतिभा दखेर श्रेष्ठले उनलाई सोझै थ्रीस्टार क्लबमा अनुबन्धित गरिदिए।

१७ वर्षीय ठिटोले सङ्कटाविरुद्ध खेलेको ए डिभिजन लिगको आफ्नो पहिलो खेलमा नै गोल गरेर आफूलाई प्रमाणित गरिदिए।

त्यसयता न साहुखलबाट थ्रीस्टार निराश हुनु पर्‍यो न थ्रीस्टारबाट साहुखल बेखुशी भए। उनी थ्रीस्टारको पर्याय बने।

त्यही क्लबबाट साहुखल चम्के, झन्डै एक दशक नेपाली फुटबलको अब्बल स्ट्राइकरको छवि बनाए र राष्ट्रिय टिमको जर्सी लगाए।

लिगको १० सिजनमध्ये छ सिजन उनले थ्रीस्टारबाट खेले र क्लबका लागि ७१ गोल गरे।

बाँकी २९ गोल भने मनाङ मर्स्याङदी, एपीएफ र च्यासलका लागि खेल्दा गरेका हुन्।

सर्वाधिक महँगा खेलाडी

विसं २०६८ मा उनी थ्रीस्टार छोडेर त्यतिबेलाको सर्वाधिक मूल्यमा मनाङ मर्स्याङ्दी क्लबमा अनुबन्धित हुँदा ठूलै चर्चा पाए।

मनाङका लागि उनले १६ गोल गर्दै आफ्नो भूमिकामा न्याय गरे।

तर उनी मनाङमा निरन्तर बस्न सकेनन् र थ्रीस्टार फर्किए।

अहिले च्यासलबाट खेलिरहँदा पनि उनी भन्छन्, “थ्रीस्टारले नबोलाएकोले मात्र च्यासल आएको हुँ।”

गत वर्षदेखि उनी च्यासल क्लबबाट खेलिरहेका छन्।

उनी ए डिभिजनमा गत वर्षमात्र उक्लिएको च्यासललाई नयाँ परिचय दिने क्रममा छन।

साहुखलको क्षमता

साहुखल बल साथमा हुँदा निकै बलिया बन्छन् र पोस्टमा आक्रमण बुन्ने क्रममा विपक्षी रक्षकलाई आच्छुआच्छु नै पार्छन्। गोल गर्ने शैली गजबकै मानिन्छ।

त्यही क्षमताले एक दशक उनले नेपाली अग्रपङ्क्तिमा राज गरे।

तर राष्ट्रिय टोलीमा भने उनको उपस्थिति जमेन। अधिकांश समय उनले बेञ्चमा बस्नुपर्‍यो।

त्यतिबेला राष्ट्रिय टोलीको अग्रपङ्क्तिमा अनिल गुरुङ र जुमानु राई थिए। प्रशिक्षकको हेराइमा उनी वैकल्पिक रहे।

उनले राष्ट्रिय टोलीबाट जम्मा तीन गोलमात्र गरेका छन्।

स्वभावले पछाडि

साहुखल हठी स्वभावका थिए। जिद्दी गर्थे।

खेल्ने उनको आफ्नै शैली थियो, मेहनत नगरे जस्तो। निकै कम बोल्ने। आवश्यकता भन्दा बढी सक्रिय नहुने।

उनको दाजु तथा च्यासल क्लबका प्रशिक्षक बालगोपाल साहुखलले भन्छन्, “मैदानमा धेरै कुद्ने र अभ्यासमा प्रशिक्षकको कुरा मान्ने मात्रै रोजाइका खेलाडी बने र साहुखलको प्रतिभा छाँयामा परेकै हो।”

“उनी नेपालका उत्कृष्ट खेलाडी हुन् तर प्रशिक्षकहरू उनलाई बुझ्न सकेनन्।”

फिस्स मुस्कानको कथा

साहुखल निकै अन्तर्मूखी खेलाडी हुन्।

अनि राम्रो भएपनि, नराम्रो भएपनि फिस्स हाँस्ने उनको परिचय हो। तर यही बानीले उनी समस्या पनि परेका छन्।

एउटा किस्सा त खुब चर्चित बन्यो।

सन् २००८ मा जर्मन प्रशिक्षक थोमस फ्ल्याटले कम्बोडियामा हुने एएफसी च्यालेन्ज कप र माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको लागि टीम बनाउँदै थिए।

बन्द प्रशिक्षणमा पोस्टमा बल प्रहार गर्ने अभ्यास थियो र साहुखलको प्रहार लक्ष्यमा पुगिरहेको थिएन।

तर उनी जतिपटक प्रहार बिगार्थे ,फिस्स हाँसेर फर्किन्थे।

प्रशिक्षक फ्ल्याटलाई लाग्यो उनी खेलमा गम्भीर छैन र गल्तीमा हाँसिरहेको छ।

उनले बोलाएर सोधे र साहुखलले फिस्स हाँस्दै गम्भीर भएको बुझाउन खोजे।

फ्ल्याटले उनलाई टीमबाट आउट गरिदिए। हठी साहुखल पनि के कम, उनले प्रशिक्षक फ्ल्याटको प्रशिक्षणमा कहिल्यै खेल्दिन भनिदिए।

घाटा साहुखल र नेपाली फुटबललाई नै भयो।

फेरिएका साहुखल

जापान गएर त्यहाँको व्यवसायिक फुटबल खेल्न थालेपछि साहुखल फेरिए।

विसं २०६८ मा जापान लागेका उनी अहिले त्यहाँको आठौं डिभिजनको क्लब एसएस इजुबाट खेल्छन्।

नेपाली खेलाडीहरू विदेश पुगेपछि उतै हराएका छन्। तर साहुखल हरेक लिग खेल्न नेपाल फर्किन्छन्।

उनी भन्छन्, ” जापानमा खेलेर फुटबलको नयाँ अध्याय सिके। नेपालमा भएकै बेला सिक्न पाएको भए के के गर्थें हुँला।”

च्यासलको जिम्मेवारी

अहिले दुई जापानी खेलाडीसहित च्यासल सम्हालिरहेका कप्तान साहुखलकै कारण क्लब अधिकारीहरू जोसिएका छन्।

उनी सिकेको कुरा नेपाली क्लबलाई पनि हस्तान्तरण गर्ने अभियानमा छन्।

उनी भन्छन्, “सानासाना कुराहरू जस्तै समयमै अभ्यासस्थलमा आइपुग्ने, मन लगाएर प्रशिक्षण गर्ने, निश्चित डाइट खाने, समयमै सुत्ने सिकाउन खोजिरहेछु।”

“यति काम पनि सफल खेलाडी बन्न ठूलो हो। “

उमेरले ३४ लागेका साहुखल अब अल्लारे छैनन्।

एक सय गोल पछि के?

थुप्रै प्रशिक्षकहरूको भनाइमा साहुखल अहिले फर्ममा छन्।

त्यसो भए राष्ट्रिय टोलीमा पुगिन्छ त? उनी फिस्स हाँस्दै भन्छन्, “बोलाए र समय मिलेमा किन नखेल्ने?”

तर उनका लागि राष्ट्रिय टोलीमा फर्किने विषयमा प्राथमिकता होइन।

अहिले लिग खेलिरहेकाहरूमा विजय गुरुङ र उनीमात्र हुन् विसं २०६० को लिग खेल्ने खेलाडीहरू हुन्।

बाँकी खेलाडी उनीहरूको छेउछाउ पुग्ने पनि छैनन्। स्ट्राइकरहरु त झन् धेरै नयाँ छन्, भर्खरै गोल गर्न थालेका छन्।

त्यसैले उपेन्द्रमान सिंहले भने जस्तै ‘एक सय गोलको कोशेढूंगा छुने’ दोस्रो स्ट्राइकर नेपाली फुटबलले पाउन अझै धेरै समय लाग्नेछ।

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »