बदलियो बालाजु कि बदलिएँ म ?

ऐना हेर्छु, बालाजुमात्र होईन म पनि बद्लिएको रहेछु । झुस्स दाह्री, अनुहारमा केही चाउरी अनि दुईचारवटा सेता कपाल । यो त सायद समयसँगसँगै ममा आएका शारीरिक परिवर्तनका संकेतहरु मात्र हुन् । जुन प्राकृतिक नै हुन् । यी बाहेक पनि अन्य थुप्रै अप्राकृतिक  चेन्जेजहरु भएका छन् ममा । व्यवहारिक, मानसिक र सोचमा परिवर्तन । जसलाई राम्रा परिवर्तनतिर ढाल्न सकिन्थ्यो तर ढालिँन । समय परिवर्तनशील हुन्छ भन्ने कुरा, कोही ! कसरी भुल्न सक्छ ? म स्वयं नै बद्लिएको छु त बालाजु बद्लियो भनेर आश्चर्य मान्नु पर्ने के नै थियो र ?             

यहाँ अवस्थित औद्योगिक क्षेत्र, नयाँ बसपार्क अनि बाइसधारा उद्यान पनि त बद्लिएकै हुन् । खोई ती बालाजु औद्योगिक क्षेत्रका डोल्मा घडी र मैदा मिल । जुन उत्पादनमुखी थिए । स्थानीय र वातावरणमैत्री थिए । परिवर्तनको नाममा हाल वातावरण र यहाँका स्थानीयहरुलाई प्रतिकूल असर गर्ने जिप्याक जस्ता उद्योगहरुको हालिमुहाली छ । बिषालु धुँवाले हरेक क्षण आजित बनेका स्थानीयहरुको वातावरण विभागसम्मको उजुरीले समेत बन्द गराउन नसकेको जिप्याकको त्यो ध्वाँसे रुप पनि समयले आफूसँगसँगै ल्याएको परिवर्तन भन्छु म त ?  देशमा औद्योगिक क्रान्ति विदेशी गाडीहरु औद्योगिक क्षेत्रमा भण्डारण गरेरै संभव होला त ? समयले ल्याएको परिवर्तन सम्झेरै होला त्यस्ता समुदाय विरोधी कृयाकलापहरुलाई पनि सहजै स्वीकार्दै आईरहेका छौं; म लगायत यहाँका सबै स्थानीयहरु । फेरी कसलाई छ र फुर्सद यहाँ व्यक्तिगत फाइदाको कुरा छोडेर यावत समुदायको हितको विषयमा सोच्ने र बोल्ने ? यसर्थ पनि बदलिएनौं र हामी ? हरेक कुरा टुलुटुलु हेरी बस्ने!

बालाजुको बिकास गराउने अर्को प्रमुख कडी (बालाजु) गोङ्गबूँस्थित नयाँ बसपार्क पनि हो । बस पार्कको कारणले धेरैले रोजगारी पाएका छन् । बस पार्कको स्थापनासँगसँगै थुप्रै होटेल लजहरु खोलिए । देश भरका मानिसहरुको आवतजावत हुने हुँदा यहाँको व्यापार व्यवसाय बढ्यो । धेरै सकारात्मक परिवर्तनहरु भए, जुन सुखद कुरा हुन् । 

बिभिन्न स्थानबाट आउने बसहरु पार्क गर्न बनाइएको त्यो बस पार्कमा अन्य परिवर्तन पनि देखिएका छन् । बसहरुलाई लामबद्ध मिलाएर राख्न, आउजाउ गर्ने बसहरुलाई ब्यवस्थित गर्न खुला ठाउँहरु  हुनु आवश्यक थियो तर हाल बस स्टेशनभित्र व्यापारिक ठुला भवनहरुको निर्माण भईरहेको छ । आफन्त वा पाहुनालाई बस चढाउन बस स्ट्याण्ड छिरेर निस्किनु पर्‍यो कि त पार्किङ भनेर पैसा तिर्नु पर्ने परिवर्तित नयाँ व्यवस्था लागु भएको छ । पार्किङ नै नगरी पार्किङ शुल्क लिने लोत्सेले ल्याएको नयाँ नियम पनि सायद समयले ल्याएको परिवर्तन नै मान्नु पर्ला ।     

परिवर्तन त त्यो पनि हो जहाँ एकाध मानिसले व्यक्तिगत फाइदाको लागि समुदायलाई अहित हुने खालका काम गर्छन् र त्यस्तो अहितकारी परिवर्तनमा पनि तपाईं हामी मुकदर्शक बनेर बस्छौं । मैले के नै गर्न सक्छु र ? यो मेरो मतलव वा दायित्वको विषय नै होईन ।  अरुले नि बोल्न सक्छन् नि ! म मात्र यो समाजमा बस्ने हो र ? जस्ता मानसिकताले गर्दा हामी चुप रहने गर्दछौं र यही मानसिकताको कसैले फाइदा उठाउनु भनेकै समुदाय अहितकारी परिवर्तनका कारक हुन् ।        

परिवर्तनको नाममा बस पार्कभित्र पैसाको चलखेलमा ती भवनका सटरहरु हारालुछ भएको देखिँदा अब अर्को एउटा परिवर्तन पनि भए राम्रो भन्ने जमात पनि छन् यही समाजमा । त्यो हो – नाम नै परिवर्तन गर्ने “बस पार्कको सट्टा शपिङ मल” राख्ने । यदि त्यस्तो नै भए पनि हामी मध्य प्राय: यस्तो भन्छौं, ‘सबै भ्रष्ट, सिध्याउने भयो देश । यसरी कसरी बन्छ देश ?” देश भ्रष्टहरुले मात्र बिगार्ने होईन । देश बिग्रीनुको अर्को कारण तपाईं हामी जस्तो अन्याय सहने मानसिकता भएका नागरिकहरुले गर्दा पनि हो । अन्याय सहनु पनि अपराध नै हो किनकी सहनेले गर्दा अन्याय गर्नेलाई प्रोत्साहन मिल्छ र झनझन उग्र अन्यायी बन्दै जान्छ ।   

व्यक्तिबादी प्रदुषित सोच हावी हुँदै जाँदा मान्छेमा सामाजिक साँस्कृतिक बिचलन आउनु कुनै नौलो होईन । अनि जब मान्छेमा सामाजिक साँस्कृतिक विचलन आउँछ तब ऊ क्षणिक खुशी वा फाईदाको लागि जुन सुकै हद पार गर्न पनि पछि पर्दैन र समुदायमा पर्ने हजार बेफाइदाको पर्वाह नगरि बिनाशकारी परिवर्तन गर्नतिर हरदम उन्मुख रहन्छ । र यही यस्तै हुँदै आएको छ – म र बालाजुमा पनि । जहाँ जे भए पनि चुप बस्ने प्रतिकार नगर्ने मेरो चरित्रको कारण पनि यहाँ थुप्रै नकारात्मक परिवर्तनहरु हुँदै आएका छन् । यसमा बदलिएको बालाजु हेरेर दिक्क र दु:ख मान्नु भन्दा एक पटक गहिरिएर मनन गर्नै पर्ने बेला भएको छ । “बदलियो बालाजु कि बदलिएँ म ?”    

दिनदिनै प्रदुषित बन्दै गएको; औद्योगिक क्षेत्र मात्र होइन, म पनि हुँ । अस्तव्यस्त अनि पाइलापाइलामा व्यवसायिक बन्दै गएको नयाँ बस पार्क मात्र होइन स्वयं म पनि हुँ । “यति दिनपछि मैले आज बालाजु देख्याँ, पृथ्वी तल भरीमा स्वर्ग हो जानी लेख्याँ ।” भनी आदिकवि भानुभक्त आचार्यले बालाजु उद्यान देखेर लेखेका ती हरफ अक्षरमा मात्र सीमित भएका छन् । उद्यान जर्जर बञ्जर बन्दै त थियो नै त्यसमाथि मनलाग्दी ढंगले सडकका बेसाहाराहरुको अस्थाई स्कृनिङ सेन्टर यसभित्रै बनाइनु हाम्रै लापर्वाहीको उपज होईन र ? किनकि यो चिसोमा राम्रो अभियान थालिएको भए पनि स्थान छनोट गलत भयो भनेर हामीमध्य धेरैले बोल्न सकेनौं । त्यस्तै बाईसधारा उद्यानबाट दिनदिनै हजारौँ लाखौं लिटर पानी बाहिर लगिन्छ । पानी थाप्न बीसौं ट्याङ्करहरुको लाईन लाग्ने गर्छ । तर मलाई मतलब नै छैन । रित्तो गाग्रो हेर्दै मेलम्चीलाई सराप्छौं । समग्र बालाजु र राजधानी कै सौन्दर्यको रुपमा रहेको बाईसधारामा पानी नआउँदा धिक्कार्छौं आफैँलाई ।  म किन यस्तो बन्दै गैरहेको छु ? सोझो भनु कि सेल्फिस ? आफ्नो व्यक्तिगत झिटिझ्याम्टा बाहेक अन्य कुराहरु सरासर ‘नाउँ मेरो गाउँ तेरो’ बनाइए पनि म देख्दिँन । मबाट प्रतिवादका एक शब्द निस्कँदैन । मेरो घरभित्रको या खल्तिको बाहेक अरु कुराको मलाई पर्वाह छैन । सोच्दासोचै म यही निष्कर्षमा पुगें – ‘ग्रसित अनि बदलिएको त म रहेछु बालाजु बाइसधारा उद्यानमात्र होईन’ । 

त्यसैले, दिनदिनै प्रदुषित, बञ्जर, अस्तव्यस्त अनि पाइलापाइलामा स्वार्थी व्यवसायिक बन्दै गएको ‘म’ लाई हरेकले चिन्न सक्नु पर्ने भएको छ । जब हामीले त्यस हिसाबले स्वंमलाई चिन्न सक्ने छौं, तबमात्र हामीलाई समाजमा घटिरहेका घटना र नकारात्मक परिवर्तनहरुले पोल्ने छ । अनि जब हामी म स्वंमलाई बदल्न शुरु गर्ने छौं अनि मात्र सही अर्थमा समय अनुसारको समुदाय मैत्री परिवर्तन संभव छ ।

बिकासलाई मात्र पनि उचित परिवर्तन मान्न पक्कै सकिँदैन। बिकास योजनासहितको हुनु पर्छ। अनि मात्र बिकासले समृद्धि ल्याउने गर्दछ। योजनाविहिन बिकासले झन समस्या निम्त्याउने गर्दछ। उदाहरणका लागि सडक बिस्तारको नाममा बालाजु बाईपास सडकखण्ड लगायत उपत्यकाका थुप्रै स्थानमा भएका स्थानीय घरहरुको आहुतिलाई हेरौं। एउटा ठोस योजनाबिना थालिएका ती बिकास न्यायोचित नहुँदा आज थलिएर बसेका छन्। न त त्यसले एउटा सकारात्मक रुप लिन सक्यो अनि न त त्यसले दिन खोजेको सुबिधा नै दिन सक्यो स्थानीयलाई । धेरै परिवारको घरसँगसँगै सपनाहरु पनि भत्किएका छन्।

भत्काइएका घर र सडकले तत्काल व्यवस्थित हुन नसक्दा समुदाय दिनदिनै धुलो खान विवश छन् र रुटका सवारीसमेत चलिरहेका छैनन्। स्थानीयहरु दुई कित्तामा विभाजित छन्। अन्ततः लामो समय अघि नै स्थापित बालाजु बजार विस्थापित हुन पुगेको छ। अब यो विवादास्पत समस्या सुल्झाउन अझै कति समय लाग्ने हो र कसकसले कस्तो कसरत गर्नु पर्ने हो ? त्यो हेर्न बाँकी नै छ।

…………………..बाँकी अर्को अंशमा                          

+ posts
Language »