बाल सिपाही

लेखक – राजन राउत

‘हाम्रो कलिलो उमेरको रगत र पसिना देशको लागि योग्य भयो, हाम्रै रगत र पसिनाको मूल्यमा गणतन्त्र आयो तर हामी चैँ अयोग्य भयौँ । हामीलाई गणतन्त्रले अन्याय गर्‍यो दाई ।’

आजभोली मेरो मोवाईलमा मात्र हैन मन मस्तिष्कमा गुञ्जिरहन्छ उसको यो अडियो मेसेज । भित्र कताकता चसक्क दुख्छ । मलाई मात्रै किन दुख्छ बाल सिपाँहीको कथा ? अनि मैले उसको कथा लेख्ने निर्णय गरेँ ।

बाहिर टन्टलापुर घाम चर्किएको थियो । शितलमा बसेर अरुका स्टाटस अनि समर्थन र विरोधका कमेन्टमा लाइक गर्नुको पनि छुट्टै मजा थियो । सरकारले गणतन्त्रका लागि लड्ने पूर्व जनमुक्ति सेनाका योद्धालाई दिन शुरु गरेको सम्मान पत्र स्वीकार र अस्वीकार गर्ने बिचको सामाजिक सञ्जालमै मतभेद पनि कम चर्किएको थिएन ।

‘दाई चिन्नु भएन होला मलाई । म कमरेड विष्फोट ।’

मेसेन्जरमा उसले मलाई चाहिँ दाई सम्बोधन गर्दै आफूलाई भने कमरेड नै भन्यो । मनमनै लाग्यो कमरेड नै भन्न किन आवश्यक थियो र । उसको नाम नै उसलाई कमरेडको परिचय दिन काफी थियो ।

‘विष्फोट जी तपाँइ पो ! सरि है , मैले त नचिनेर अहिले सम्म रिप्लाइ नदिएको ।’ मैले नि रोमनमै टाइप गरेर पठाइदिएँ । उसले तुरुन्तै हाँसेको इमोजी पठायो ।

‘अनि कहाँ हुनुहुन्छ नि आजभोली ? के गर्दै हुनुहुन्छ ?’ मैले केवल औपचारिकता पूरा गर्न खोजेँ ।

‘दाई म त साउदी तिर छु त । पेट पाल्नै पर्‍यो । नेपालमा केहि गर्न सकिएन त दाई । पढने उमेरमा बुर्जुवा शिक्षा भनेर बन्दुक बोकेर हिँडियो । के के न होला सोचियो त्यो बेला । अहिले त्यहि शिक्षा हुनेहरुले जागिर पाए, नहुनेहरु हामी जस्तै तातो घाममा मरुभूमिमा खट्टिने त हो नि ।’ उसले लामो मेसेज पठायो ।

कताकता मेरो पढाई र जागिरलाई पो ब्यङ्ग्य गर्‍यो कि जस्तो लाग्यो मलाई । यद्यपि उसका शब्दहरुले भने मन छोए । ति दिनहरुका याद आए जतिबेला बुर्जुवा शिक्षा भनेर स्कुलको भित्तामा लेख्दा लेख्दै मैले एसएलसी पास गरेको थिएँ । कालान्तरमा त्यहि एसएलसीको प्रमाणपत्र मेरो जागिरको लागि निर्णायक भएर आयो ।

‘सरकारले गणतान्त्रिक योद्धाको कदर गर्दै सम्मान पत्र दिँदै छ रे नि दाई ।’

‘तपाँइ सँग लामै कुराकानी गर्नु छ अहिले मेरो ड्युटी जाने बेला भयो दाई भरे कुरा गर्छु है ।’

मैले केहि जवाफ दिनुपूर्व नै उ मेसेज छोडेर अफ लाईन भईसकेको थियो । शायद त्यहि सम्मान पत्रबारे बुझ्न चाहन्थ्यो उ । अफ लाईनमा केहि मेसेज छाड्न उचित ठानिँन । बरु उसलाई यो प्रमाण पत्रबारे के पो भन्ने होला भनेर आफैँ दोधारमा परेँ म । यो सरकारले दिने सम्मान पत्र थुप्रै योद्धाहरुले नलिने घोषणा गरिसकेका थिए । अव उसलाई पो लिनु भन्ने कि नलिनु भन्ने द्वन्द्व चर्कियो म भित्र ।

२०६६ साल पौष २३ गते सिन्धुलीको दुधौली मुख्य शिबिरबाट अयोग्य लडाकुको परिचय बोकेर बाहिरिएको थियो ऊ । २०६३ जेठ सम्म अठार बर्ष उमेर पुगेको प्रमाणित हुन नसक्दा अनमिनले गरेको प्रमाणीकरणमा ऊ बाल सिपाँही ठहरियो ।

त्यो दिन घरसम्म पुग्ने बाटो खर्च थापेर झोला झ्याम्टा बोकेर ऊ रुँदै औपचारिक रुपले बिदाई भएको थियो । उनिहरु अनमिनले ब्यबस्था गरेको बसमा खचाखच भरिएका थिए । अनमिनले बाँडेको ठूला ठूला झोलाहरुले बसको छत भरिएको थियो । हामीबाट छुटेर ति आफ्नो घर फर्कने बेला बेस्सरी भक्कानिएका थिए । शायद त्यतिका बर्ष युद्ध र क्यान्टोनमेन्टमा बिताउँदा त्यो दिन आउला तिनले कहिल्यै सोचेका थिएनन् ।

त्यस यता पटक पटक तिनीहरुले आफ्नो उचित ब्यवस्थापनको लागि संगठित रुपमै आन्दोलन गरे । जनमुक्ति सेना समायोजनको बेला समायोजन हुन नचाहनेका लागि आर्थिक प्याकेजको ब्यबस्था थियो तर अयोग्यको रुपमा जो बाहिरिए तिनको लागि कुनै ब्यबस्था हुन सकेन । गणतन्त्रका लागि तिनको रगत पसिना बगे पनि ब्यक्तिगत रुपमा गणतन्त्रले केहि दिन सकेन उनिहरुलाई । आज एक्कासी उसको सम्मानपत्र बारेको जिज्ञासाले म निकै दोधारमा परेँ । दिनभर जस्तो ऊ अनलाइनमा देखा परेन । मलाई भने जनयुद्धका ति उत्कर्षका दिनहरुमा दुई वटा ग्रिनेड कम्मरमा भिरेर अघि पछि कुदिरहने त्यो फूच्चे भाई कमरेड बिष्फोटको झझल्को आई नै रह्यो ।

कमरेड बिष्फोट जस्तै कति बाल सिपाहीँहरु वंकरमा हाम फालेर बिष्फोट भए । कति बम बनाउँदा बनाउँदै अर्धज्ञानले कलिलो उमेरमै ज्यान गुमाए । कतिले दोहोरो भिडन्तमा त कतिलाई राज्य पक्षले समातेर हत्या नै गर्‍यो । कति त्यो उमेर देखि नै घाइते छन । यसको कुनै लेखाजोखा छैन ।

आज पनि त्यो कलिलो उमेरमा बलिदान गर्नेहरुलाई आतंककारी नै देख्नेहरुको कुनै कमी छैन । मानौ उनिहरु नेपाली आमाका छोराछोरी नै होइनन् । ति आतंककारी हुन, ति अर्कै ग्रहबाट आएका हुन, तिनीहरु यो देशका नागरिक नै होइनन्, खासमा ति मान्छे नै होईनन् । तिनले रगत र पसिना बगाएर गणतन्त्र आएको होइन बरु उनिहरु आफैले ति आतंककारीहरुको बिरोध गरेर गणतन्त्र ल्याएका हुन ।

जव जव बाल सिपाँहीका कुरा आउन थाल्छन एकथरि मानिसहरु न्वारान देखिको बल लगाएर तिनीहरुको बिरुद्धमा उभिन्छन । उनिहरुलाई राज्यले कुनै सुविधा दिने सुइको सम्म तिनले पाए भने तिनलाई औडाहा हुन्छ । मानौ ति बाल सिपाँही सँग तिनको युगौँ देखिको दुश्मनी छ ।

साँझ उसलाई अनलाइनमा देख्नासाथ मैले नै मेसेज गरेँ ।

‘बिष्फोट जी, कस्तो छ त परदेशमा कमाई ? काम त पक्कै सजिलो छैन होला है ।’

‘पैसा त राम्रै छ दाई ओभर टाईम गर्न सके त अलिक बचत गर्न सकिन्छ नि । गर्मिले नै नसक्ने के दाई । अव त मलाई पुग्यो पैसा नाथे जति भए पनि नपुग्ने रहेछ ।’ उसले आवाज रेकर्ड गरेर पठायो ।

‘हातको मैला सुनको थैला के गर्नु धनले

साग र सिस्नु खाएको बेस आनन्दी मनले ।’

मैले नि लक्ष्मी प्रसाद देवकोटाको यो श्लोक रेकर्ड गरेर पठाएँ ।

‘हो नि दाई बर्षिको छोरो खेलाउने रहर हुँदाहुँदै छोडेर आएको अहिले स्कुल जाने भइसक्यो । सन्तानको भविष्य सम्झेर पनि परदेशीले आफ्ना थुप्रै रहरहरुको हत्या गर्नुपर्दोरहेछ दाई ।’

‘देशमै केहि गरौँ भनेर लागेको नि हो । अन्तिममा विना पैसा केहि नहुने रहेछ । न त लडाकु बनेर अवकाशमा जान सकियो न त समायोजनमा जान नै पाइयो । सरकारले अयोग्य लडाकुको दर्जा दिएर खाली हात घर पठाउँदा खुब रुन मन लाग्यो । घर पुग्दा साथमा केहि थिएन । सँगै पढ्ने साथीहरु निकै माथि माथि पुगिसकेका थिए । आफ्नो जे थियो त्यो सर्बस्व गुमिसकेको थियो ।’

‘हाम्रो कलिलो उमेरको रगत र पसिना देशको लागि योग्य भयो, हाम्रै रगत र पसिनाको मूल्यमा गणतन्त्र आयो तर हामी चैँ अयोग्य भयौँ । हामीलाई गणतन्त्रले अन्याय गर्यो दाई ।’

‘माओवादी सरकारमा हुँदा दुई लाख दिने निर्णय गर्यो । त्यो पनि हाम्रो लागि निकै ठूलो कुरा थियो । त्यहि पैसाले सानो तिनो व्यवसाय शुरु गर्ने योजना बनाएँ । देशमै केहि गर्नुपर्छ भन्ने भावनाले फेरि एउटा नयाँ जीवनको सपना सजाएँ तर त्यो सपनामा बज्रपात बनेर अदालत आईदियो अनि सबै सपना चकनाचुर भए ।’

उसले पठाएको अडियो सुनि नसक्दै उसले अर्को पठाइसक्थ्यो । कमै प्रतिक्रिया दिएँ मैले बढी उसलाई नै सुन्न समय खर्चिएँ ।

‘एकपटक त बजेट भाषणमै अयोग्य लडाकुलाई जनही दुई दुई लाख दिने बजेट आएको होईन र ?’ उसले पठाएका केहि अडियो प्ले नै नगरी मैले भने मेसेज टाइप नै गरेर पठाएँ ।

‘त्यस बेला त दिन्छ भनेर आश पनि थिएन । बजेट भाषण आउनासाथ एउटा समूह अदालत पुगिसकेको थियो । जो हामीलाई मान्छे जस्तो देख्दैनथ्यो । अनि तपाँइलाई थाहै छ न्यायलयबाटै हामी माथि अन्याय भयो । अयोग्य लडाकुको ट्याग लागेका हामी, हाम्रो न्यायको लागि बोलिदिने कोहि भएनन ।’

‘सबै लडाकुलाई जनही पाँच लाख दिन सक्ने सरकारले हामीलाई दुई लाख दिन सकेन । न त कुनै रोजगारी नै दिन सक्यो । हामीले पनि त त्यो उमेरमा गणतन्त्रको लागि शरिरमा गोली र बमका छर्रा बोकेका थियौँ नि । जिवनको त्यो उमेर लगानी गरेको बदलामा गणतन्त्रले अयोग्यका नाममा हामीमाथि अन्याय गर्‍यो दाई ।’

‘कतिपटक माओवादी केन्द्रिय कार्यलय पेरिसडाँडामा धर्ना दियौँ, कतिपटक सडकमा निस्कियौँ तर आफ्नै भनाउँदाहरुले पुलिस लगाएर धरपकड शुरु गरेपछि भने सारै मन दुख्यो अनि ऋण काढेर बिदेशको भिसा लगाएँ दाई ।’

मैले केहि प्रतिक्रिया दिन सकिँन । धन्न ०६३ जेठ अघि नै मैले अठार बर्ष पार गरिसकेको थिएँ र पो, नत्र मेरो नि हाल उस्तै हुने थियो । कमरेड बिष्फोट जस्तै आज म पनि खाँडीको गर्मिमा पसिना बगाउँदै बाल सिपाहीँका ति दिनहरु सम्झेर त्यो पसिनामा आँशु मिसाउँदै हुने थिएँ ।

‘आजभोली त गणतन्त्रले बिर्सियो हामीलाई तर हामीलाई गणतन्त्र आफ्नै सन्तान जस्तो लाग्छ । आफ्नो सन्तान जस्तो भए पनि बाउ आमाको लागि सुन्दर नै हुन्छ । हाम्रो रगत पसिना सँगै हाम्रो उर्बर उमेर खर्चेर प्राप्त गरेको गणतन्त्रमा हामी नै बिचल्ली भए पनि किन किन गणतन्त्र आफ्नै लाग्छ ।’

‘त्यहि भएर पनि सरकारले दिँदै गरेको गणतान्त्रिक योद्धाको सम्मान पत्र थाप्न साथीहरुले गरेको अनुरोधलाई मैले स्विकार गरेँ दाई । मेरो नाममा पनि सम्मान पत्र तयार भैसक्यो रे । फ्लाइट खुल्नासाथ म नेपाल फर्कन्छु । अव अरु केहि पाउने आशा राखिँन । त्यहि सम्मान पत्र सजाएर आत्म सन्तुष्टि लिने हो दाई ।’

‘कसैले त हाम्रा पनि कथा ब्यथा लेखिदयोस जस्तो लाग्छ ता कि हामीमाथि अन्याय भए पनि गणतन्त्रको लागि हाम्रो पनि केहि लगानी थियो भनेर हाम्रा सन्ततिले शीर ठाडो गर्न सकुन । हामीलाई पनि आत्म सन्तुष्टि मिलोस । तपाँइ त बेला बेला लेखिरहनु हुन्छ दाई म जस्ता बाल सिपाँहीको कथा नि लेख्नु न हामीले पनि पढेर गर्व गर्दै कमेन्ट र शेयर गर्न सकुँ ।’

‘जरुर बिष्फोट जी फूर्सद मिल्नासाथ एकदिन म ति बाल सिपाँहीहरुको संघर्षको कथा लेख्नेछु जो इतिहास बनेर हाम्रा पछिल्ला पुस्ताहरुमा पुग्नेछ ।’

उसलाई त सान्त्वना दिएँ मैले तर कसरी त्यो कथाको शुरुवात गरौँ ? कहाँबाट गरौँ ? बाल सिपाँहीको समग्र कथा लेख्न सके एउटा मार्मिक उपन्यास बन्दो हो । सोच्दा सोच्दै कैयौँ दिन बिते । दिन हुँदै हप्ता अनि महिना अलमलमै बित्यो । तर अँह मैले लेख्न सकिन बाल सिपाँहीको कथा ।

कोरोना महामारीले बन्द भएको अन्तराष्ट्रिय उडान आंशिक सूचारु भएको थियो । बिदेशमा ज्यान गुमाएका श्रमिक युवाहरुका शब धमाधम आईरहेका थिए । तिनै बाकसमा फर्किएकाहरुको तस्विर सामाजिक संजालमा शेयर भईरहेको थियो । मनले भन्यो ति बाकसमा फर्किएकाहरुको कथा पनि कति कारुणिक हुँदो हो । हजार सपना बोकेर ति बिदेशिन्छन अनि तिनै सपनाहरु मलामी बनाएर ति बाकसमा फर्कन्छन ।

एउटा चिरपरिचित साथीले शेयर गरेको तस्विरको क्याप्सन पढेपछि मलाई भाउन्न भएर आयो । त्यो खाँडीबाट आएको एउटा बाकस त्यहि बाल सिपाँहीको थियो । लेख्न नसकेको उसको कथा सियो बनेर मुटुमा घोच्यो । ति पाखा पखेरुमा बम र बारुद सँग खेल्दा उसले छाडेका पाईतालाका डोबहरु अझै हुँदो हो, आज त्यो माटो रुँदो हो, उ हिँडेको बाटो रुँदो हो, उसको नाममा बनेको सम्मान पत्र कतै अलपत्र हुँदो हो ।

उ बाकसमा फर्किदा गणतन्त्र रोयो रोएन, उसलाई भर्याङ्ग बनाएर सत्तामा पुग्नेहरुलाई छोयो छोएन, थाहा छैन । मेरा आँखाबाट भने अविरल आँशु बगिरह्यो ।

+ posts
Language »