मस्त निन्द्रामै आतिएको त्यो रात

           सुरज क्षेत्री

वास्तवमा भन्ने हो भने मैले १० बर्षे जनयुद्धमा आफुले लगानिगरेको समयलाई एउटा कालो अतित सम्झेर भुल्ने काशिस गरिरहेको हुन्छु । तर के गर्नु चाहेरपनि अतित बिर्सन नसकिने रहेछ । जनयुद्धमा मैले समयमात्र ब्यतितगरेको भने होईन धेरै पसिनाका भेलहरु र थोरै रगत पनि बगाएको छु । घाईते शरीर बोकेर तिनै क्रान्तिकारीहरुले भन्ने गरेको बिचलित यात्रा तय गरे पछिको पिडा त झन सम्झि नसक्नुको छ । धेरै साथिहरुले त मलाई चिन्दैनन् होला तर चिन्नेहरुले अहिलेसम्म बिर्सिएका छैनन् । देउरालिमा एम्बुस नपड्किएर होस् या बयलबासको रेडमा पेस्तोल जाम भएर,कालिन्चोकको जंगलमा बाटो भुल्दा होस् या दश्मनले लखेट्दा आफ्नै टीमको सदस्य भिरबाट खस्दा ,जनयुद्धमा होमिएका ति समयमा म धेरै पटक मृत्युको नजिकै पुगेर फर्किएको छु । फेसबुकका भित्ता हरुमा रंगिएका ति यादगर स्टाटस हरुले मलाई आज भोलि अलि भाबुक बनाउन थालेको छ । मलाई क्रान्ति केहो भनेर चिनाउने मेरा कमाण्डर दिनेश,राम्जी देखि मैले सैन्य तालीम गराएका थुप्रै साथिहरुको बलिदानिमा मेरो गैह्रजिम्बेवारीको आभाष भएकै कारण मैले कहिलै माओवादी पार्टीमा फर्कने सोच बनाइन । अहिले सम्म पार्टीको नाममा कहिँ बाटपनि ब्यक्तिगत लाभ हुने या पार्टीलाई प्रत्यक्ष असर पर्ने कार्य गरेँ जस्तो पनि लाग्दैन । त्यो समयलाई सम्झेर लेख्न थाल्ने हो भने एउटा ठुलै किताब बन्ने पक्का छ ।
आज म पहिलो चोटी जनयुद्ध भित्रको यस्तो संस्मरण लेख्दै छु । बोद्ले घटना मेरो लागि एक अबिस्मरणीय क्षण ,म तत्कालिन सिन्धु – दोलखा पार्टी ईन्चार्ज क. देशबन्धुको कार्यलय सचिब बाट भर्खरैमात्र सैन्य फर्मेशन मा फन्टगार्ड लिडर भएर गएको थिएँ । त्यतिबेला हाम्रो प्लाटुन कमाण्डर क. राम्जी हुनुहुन्थ्यो । दोलखाको कार्यक्रम सकाएर कामको शिलशिलामा क. राम्जी ,क. देशबन्धु र म दोलखाको माघापौवा देउराली बजारमा साथिहरु संग छुट्टीएर ढुङ्गे बजार हुँदै ताम्चेतमा सेल्टर लिन पुग्छौं ।
क.देशबन्धुको कार्यलय सहयोगिको रुपमा मैले लामो समय काम गरेको हुनाले उहाँले मलाईनै सिन्धुपाल्चोक सम्म लैजाने र क.राम्जी संग फर्काउने भन्दै नयाँ बनेको फर्मेशनबाट छुट्याएर लैजानु भयो ।
हामी ताम्चेतमा बास बसेकै रात बोद्लेमा घटना घटेको रहेछ । नियोजित तरिकाले घटना घटाईएको कारण सेनाले अन्यत्र कतैपनि छापा मारेको थिएन । बिहानै ताम्चेतबाट सिन्धुपाल्चोक तिर अगाडी बढ्ने क्रममा हामीलाई बोद्ले घटनाको अपुष्ट खबर आयो ।
जिल्ला ईन्चार्जले तत्कालै सबै सम्पर्क श्रोतबाट घटनाको सत्य तथ्य पत्तालगाउने प्रयत्न गर्नुभयो । घटना घटेको कुरा कनफर्म भयो तर क्षतिको बारेमा अझै थाहा भएन । जिल्ला ईन्चार्जले क. राम्जी र मलाई घटना स्थलमा पुगेर सत्य तथ्य पत्ता लगाएर आउन भनेर बोद्ले तिर पठाउनु भयो । हामिलाई दुश्मनको मुभिलाईजेशनको बारेमा अलिकति पनि जानकारी हुने सम्भाबना समेत थिएन । पार्टीका संपर्क श्रोतहरु टुटेका थिए । आम जनमानसमा आतंक सिर्जना भएको थियो । तै पनि पार्टीको आदेशलाई शिरोपर गर्दै एउटा पेस्तोल र दुईवटा ग्रीनेड को साहारामा हामि चनाखो बन्दै घटना घटेको भोलिपल्ट बेलुका बोद्ले मै पूग्यौं ।
त्यहाँ पुग्दा करीब बेलुकाको सात जति बजेको थियो होला , त्यो दृश्य सायद मेरो मानस पटलबाट कहल्यिै पर जाने छैन । जो जनता ,जो गाउँले ले हामिलाई सयौं छाक खाना खुवाएका थिए तिनिहरुले त हामिलाई भुत र राक्षस आएको झैं गरे । कसैले पनि बोल्न चाहेनन् । महिनौ सम्म बस्न दिएका जनताले एकघुट्की पानि माग्दापनि दिएनन् । तपाईँहरु तुरुन्त भाग्नुस् यहाँ मार्छ भन्दै सबैले ढोकाहरु बन्द गरे । एकै छिनमा सन्नाटा छायो । क्षतिको केहिपनि विवरण पत्तालगाउन सकिएन ।
हामि पनि निरास भएर केहि उकालो लाग्यौं र एउटा गोरु बाध्ने गोठ भित्र पसेर एकजना ड्युटि बस्ने एकजना सुत्ने भनेर प्लान बनायौं । क . राम्जीले तपाईँलाई अलि बढि निद्रा लागेजस्तो छ सुत्नुस भन्नुभयो । कमाण्डरनै ड्यूटी बस्ने भएपछि म ढुक्कले निदाएछु। न्निदाउनु पनि किन खाई न पाइ , दिनभरको हिँडाई ।
अब ड्युटी बस्ने पालो मेरो आयो , केहिबेर त चनाखो भएर बाहिरको आवजलाई ध्यान दिदै बसें , कमाण्डर निदाउनु भएको थाहा छ , कत्तिबेला म पनि भुसुक्कै निदाएछु । बिहान झिसमिसे उज्यालो भएको हुँदोहो ड्याम्म पड्एिको आवाज ले पो झसंग भएछू । लौ दुश्मन नजिकै आयो कि क्याहो भनेर हतार हतार कमाण्डरलाई उठाउन पूग्छु त, कमाण्डरले किन डराएको यो त चरीकोटमा पड्केको आवाज हो पो भन्नु हुन्छ । म दंग परें कसरी थाहा पाएको होला यति दुरीमा पड्केको आवाज भनेर । अहिले पनि म सोच्छु त्यति दुरदर्शि नेतृत्व अहिले भेट्टाईएला त ?
अझ अर्को रमाईलो कुरो त म त्यसरी निदाएको कुरापनि उहाँलाई सबै थाहा रैछ । थाकेको होला भनेर केहीपनि नभनेको रे ।
भोलिपल्ट बिहानै खतरा मोल्दै फेरी बोद्ले पुगेर क्षतिको केहि विवरण संकलन गरेर साथिहरुलाई खाल्डो खनेर पुरेको ठाउँमा पार्र्टीको झण्डा गाडेर कमाण्डरले पठाएको लिखित सुचना सहित म जिल्ला ईन्चार्ज को संपर्कमा आएर सिन्धुपाल्चोक तिर आयौं ।
त्यसरी जिल्ला ईन्चार्जले मेरो नाम नलिईदिएको भए म पनि सत्रहजारको लिष्टमा हुन्थें कि ? मेरै गाउँको गुमनाम शहिद क. निर्जला ( लक्ष्मि पराजुली) झैं ,अझैपनि मनमा यो कुरा खेलि रहन्छ ।

+ posts
Language »
%d bloggers like this: