महामारीबाट बच्न कृषि: पूर्व कानुनमन्त्री तथा सांसद शेर ब. तामाङ

“हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बिउ जोगाउनु” हाम्रो पुर्खाहरुले जानेबुझिकनै अनुभवको आधारमा यो कहावत बनाए । अहिले हामी जिउ र बिउ दुबै जोगाउनु पर्ने अवस्थामा पुगेका छौं । कोरोनाको महामारी एकदुई हप्तामा जानपनि सक्छ, एकदुई महिन जानपनि सक्छ वा एकदुई वर्ष रहन पनि सक्छ । यसैभन्न सकिने अवस्था छैन । यस्तो बेला आत्तिनु पनि हुँदैन, डराउनु पनि हुँदैन । यो बेला आएको विपत्तिलाई सामना गर्ने बाहेक हामिसंग अरु कुनै विकल्प बाँकी छैन । तसर्थ अहिले हाम्रा पुर्खाले भने जस्तै जिउ र बिउ जोगाउने समय हो ।

मानव वा कुनै जीव बाँच्नको लागी प्रकृतिमा उत्पादन हुने वनस्पति र त्यसवाट उत्पादन हुने अन्नपात नै हो ।

मानिस बाँच्ने कृषिको अरु कुनै बिकल्प छैन । दिनभर सुनको बिस्कुट बेच्ने साहुले खाना खाँदा सुनको बिस्कुट खाँदैन बाँच्न पिठोको नै बिस्कुट खानु पर्छ । दिनभर सिमेन्ट बेच्ने पसलेले भरे ढिडो खाना एक किलो सिमेन्ट पोको पार त भनेर सहयोगीलाई पक्कै भन्दैन, बरु उसले ढिंडो खान त अन्नको नै पिठो चाहिन्छ । हिरामोती, सुन, पैसा, घर, गाडी, हवाईजहाज, पानीजहाज, भाँडावर्तन, लात्ताकपडा, औषधि यी सबै मानव समुदायले आफु बाँच्न सजिलोको लागी बनाईएका साधनहरु हुन ।

मानवसंग बाँच्नको लागी खाने वस्तु र बाँच्नको लागी सजिलो बनाउने साधन गरी दुइथरीमात्र बस्तु छन । बाँच्नको लागी सजिलो बनाउने साधन विविध माध्यमबाट प्राप्त गर्न सकिन्छ तर बाँच्नको लागी खाने बस्तु केवल कृषिवाट मात्र पाउन सम्भव छ । तसर्थ यो महामारीको बेला प्रमुख काम भनेको बाँच्नको लागी चाहिने अन्नवालीको संरक्षण र उत्पादन नै हो ।

पहिलो त बाँचौं त्यसपछि अरु सबै कुरा हुनेछ । अहिले त कोरोनाको महामारीवाट बाँच्न मानिसहरु भाग्दैछन, तर हामीले खाने कृषि उत्पादनमा ध्यान दिएनौं भने नेपाली जनतालाई खाना पुग्ने खाद्यान्न मुस्किलले आधी वर्षाभन्दा बढी छैन । अहिले नै खेती सुरु गर्‍यौंभने अर्को ४,५ महिनामा नयाँ अन्न पाउन सक्छौं । कोरोनाको प्रभाव विश्वब्यापी भएकोले अरुले उत्पादन गरेको आयात गरेर खाउँला भन्ने समय अब हामीलाई छैन । तसर्थ अब हाम्रो नेपाली कृषिको पुन:जगरण अनिवार्य छ । यो लकडाउनको समयमा पनि नेपाली कृषिलाई कसरी पुन:जागरण गर्न सकिन्छ ? सरकार र सबै सम्बन्धित निकायको ध्यान जावस । विश्वमा जस्तोसुकै महामारी फैलिएपनी कृषिमा बलियो भएको मुलुकलाई केहि हुँदैन ।

अरु सबै अर्थतन्त्रको जग बनावटी हुन्छ । यस्तो महामारीमा ती सबै ध्वस्त हुन्छ । तर कृषि अर्थतन्त्र सानो भएपनी त्यो मजबुत र टिकाउ हुन्छ । कुनैबेला कृषि उत्पादन निर्यात गर्ने हामी अहिले आयातमा भर परेका छौं । यो कोरोनाको महामारी लामो समय रह्योभने हामीले नसोचेको अकल्पनीय परिस्थिति पनि आउन सक्दछ । तसर्थ यसबाट बच्न कृषि बाहेक हामीसंग अरु कुनै बिकल्प छैन ।

अहिले नयाँ बाली लगाउने समय हो । प्रत्येक किसानलाई सम्मान गरौं । छिटोभन्दा छिटो नयाँ बाली लगाउन प्रोत्साहन गरौं । शहर छोडेर गाउँ पसेका सबैले बाँझो खेत आवाद गर्न थालौं । केहि न केहि गरौं कमसेकम आफुलाई चाहिने खाद्यान्न आफैं उत्पादन गरौं । कोरोनाको प्रभाव लामो समय रह्यो भने !? हामी कल्पना पनि गर्न सक्दैनौं । राष्ट्र र जनतालाई दीर्घकालीन रुपमा आत्मनिर्भर बनाउने उपाय नै कृषि हो ।

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »