मानव समाजमा धर्मले पारेको असर

ज्योतिलाल बन

मानव सभ्यताको प्रारम्भदेखि नै संसारमा धार्मिक मतहरुको उत्पत्ति र विकास हुदै आयो । ती बढ्दै बीसौ शताब्दीसम्म आइपुग्दा सयौंको संख्यामा पुगे । जस्मध्ये यतिबेला हिन्दू, ईसाई, इश्लाम, बुद्ध र जैन विशिष्ट प्रभावशाली धार्मिक मान्यता बन्न पुगेका छन् । अन्ध आस्था र विश्वासमा आधारित यस्ता धार्मिक मान्यताहरु भित्र कतिपय सकारात्मक पक्षहरु नरहेका हैनन् । तर, यीबाट फैलिएको प्रभावलाई केलाउदा सकारात्मकभन्दा नकारात्मक परिणामहरु नै बढी देखिन आउछन् ।

मैले यहाँ तिनका सकारात्मक र नकारात्मक पक्षहरुलाई आफुले बुझेसम्म केलाएर प्रस्तुत गरेको छु ।

दुःख र दुःखमुक्तिको उपायलाई आफ्नो मूलभूत मान्यता बनाएका बुद्ध धर्म सत्य, अहिंसा, समानता तथा मानवताकासाथै समाजमा व्याप्त अन्धविश्वासको विपक्षमा रह्यो । जैन धर्मले पनि लगभग बुद्ध धर्मकै आदर्शलाई अगाडी बढाएको पाइन्छ ।

दास प्रथालगायत अन्य अमानवीय व्यवहारका विरुद्ध र पीडित मानवको सेवालाई नै ईसाई धर्मले आफ्नो परम कर्तव्य ठानेको थियो । व्याप्त अन्धविश्वास, निर्दोष व्यक्तिको हत्या, शोषण उत्पीडन एवं नारी माथि हुने अन्याय र व्यभिचारका विरुद्ध देखिएको ईश्लाम धर्ममा पनि मानवीय दया, करुणा र परोपकारका पक्षहरु पर्याप्त थिए । संसारमा प्रचलित अन्य विभिन्न धर्महरुमा पनि मानव समाजको समुन्नती, शान्ति, दुष्टता र अपराधको अन्त्य जस्ता मानवतावादी मान्यताहरु नरहेका हैनन् ।

संसारका अन्य धर्महरुका अनुपातमा वैदिक दार्शनिक मान्यतामा आधारित हिन्दू धर्ममा मानव समाजको हित र समुन्नतिका निम्ति निकै समृद्ध विधि–विधानहरु रहेको पाइन्छ ।

ऋग्वेद, उत्तरवैदिककालका अन्य तीन वेद, उपनिषदहरु, ब्राह्मण वाङ्मयअन्तर्गका सूत्र साहित्यहरु, मनुस्मृतिलगायतका स्मृति ग्रन्थहरु, श्रीमद्भागवत गीता तथा महाकाव्यअन्तर्गतका पुराण साहित्यहरु । यी सवैको समुच्चय भित्र आदर्श मानवजीवन निर्माणका लागि प्रच्युर ज्ञानको भण्डार नै रहेको छ । वैदिक मान्यताबाट निर्देशित यस धर्ममा मानव जीवनलाई कर्तव्यनिष्ठ, शुद्ध आचरण, अनुशासित, विवेकशील, मानवीयताले युक्त आदिजस्ता आदर्शहरुबाट मानव समाज तथा राज्यको परिचालन, व्यवस्थापन र नियमन गर्ने कुशल विधिहरु पनि पर्याप्त नै रहेका छन् ।

प्रायः सवै धार्मिक मान्यताहरुमा यस्ता कतिपय सकारात्मक पक्षहरु रहे पनि झाङ्गिदै आएको अन्धविश्वास, उन्माद, अशहिष्णुतालगायत मानवताविपरित व्यवहारले सकारात्कतहरुलाई प्रायः निष्फल नै पारिदिए । यिनमा निहित अन्धविश्वास र मानवताविपरिका व्यवहारहरुबाट भने मानव समाजले निकै धेरै क्षेतिहरु व्यहोर्दै आयो, जस्को निरंतरता अध्यावधि जारी नै रहेको छ । यस्ता मूलभूत १० क्षतिहरुलाई तल उल्लेख गरिएको छ ः—

१) आ–आफ्नो धर्मको घमण्ड, उन्माद र असहिष्णुताका कारण अलग–अलग धार्मिक आस्था राख्नेहरुमा मात्रै हैन, एउटै धर्मभित्रका पृथक सम्प्रदायका बीचमा समेत धार्मिक युद्ध र दंगाहरु हुदै आए । अहिले पनि मध्यपूर्वका कतिपय मुलुकहरुमा त्यस्ता युद्धहरु चलिरहेकै छन् । प्राचीन कालदेखि चल्दै आएका यस्ता लडाई र दंगाहरुका कारण संसारमा अत्यधिक धेरै मानिसहरु मारिए ।

२) धार्मिक मतभिन्नताकै कारण सामाजिक वैमन्यस्यता विश्वव्यापी रुपमा नै बढ्दै आएको छ ।

३) साम्राज्यवादी देशहरुले आफ्नो साम्राज्य विस्तारका लागि धर्मलाई पनि एउटा हतियार बनाउदै आए ।

४) मान्छेले मान्छेमाथि अत्याचार गर्ने, ठूलो जात र सानु जातमा विभाजन गरेर ठूला जात भएकाहरुले साना जात बनाईकाहरुलाई घृणा, तिरस्कार, अपहेलना, छुवाछुत र प्रताडित गर्ने अमानवीय मान्यता र परंपराको विकास पनि धर्मकै कारणबाट भएको पाइन्छ ।

५) पुरुषलाई स्वामी (मालिक) र नारीलाई सेविका (दासी) बनाएर नारीमाथि शोषण, उत्पीडन र प्रताडित गर्ने मान्यता र परंपरा पनि धार्मिक आधारमा नै भएको थियो र भै रहेकै छ ।

६) बलिया, बाठा र जालि फटाहा बनेकाहरुले निर्धा, सोझा सिदा, इमान्दार र निमुखाहरुमाथि शोषण उत्पीडन गरेर चरम वर्गीय असमानताको विकास गराउनमा पनि धार्मिक मान्यता नै जिम्मेवार रहेको छ । किनकी यसले मानिस सुखी र दुखी हुनु, धनी र गरिव हुनुमा यहाँ कसैको दोष छैन । पूर्व जुनीमा पुण्य गरेकाले यो जुनीमा सुखी र धनी भयो पाप गरेकाले दुखी र गरिव भयो । त्यसैले यो त प्रारब्धको खेल र ईश्वरको निगाह हो भनेर अत्याचारमा परेकाहरुलाई चित्त बुझाउन र सन्तोष लिने परिस्थिति सृजना गरियो ।

७) अनेकौ सामाजिक कुरीति तथा अन्धविश्वासजन्य कृयाकलाप जस्तै नारी दासत्व र अत्याचारमा आधारित सती प्रथा, देउकी (देव दासी) प्रथा, कुमारी प्रथा, दाइजो प्रथा, छाउपडी प्रथा आदि एवं बलि प्रथा, भूतप्रेत, डायन, बोक्सा–बोक्सी, ब्रत, भाकल, पूजा अर्चना, पितृश्राद्ध आदि जस्ता कुप्रथाहरुको प्रेरकआधार पनि धार्मिक मान्यता नै बनेको छ ।

८) कथित महात्मा तथा साधु सन्त (यस्तामध्ये कतिपयले त आफूलाई ईश्वरीय अंश नै बताएका हुन्छन्) भेषधारी जालि फटाहा र अपराधी प्रवृति भएकाहरुले अन्धविश्वासग्रस्त मानसिकता भएका मानिसहरुलाई वसिभूत पारी ठग्ने र विभिन्न अपराधजन्य कर्म गर्ने परिवेश र प्रोत्साहन पनि धार्मिक मान्यताबाटै प्राप्त भएको छ ।

९) ‘ब्रह्मसत्य जगत मिथ्या’ ‘‘भगवान भरोसा’ ‘लक्ष्मीबाट धनधान्य र सरस्वतीबाट विद्याको आशा’ आदि । धर्म कै कारण सृजित यस्तो मनोविज्ञानले मानवमा विकास हुनपर्ने सृजनशील र वैज्ञानिक चिन्तन र प्रतिभालाई कुण्ठित गर्न मद्दत पुर्याएको छ ।

१०) विभिन्न धार्मिक गतिविधिका खातिर गरिने आर्थिक लगानी र यस्ता गतिविधिहरुमा व्यतित गरिने समयका कारण धन र जनशक्तिको अत्यधिक व्यय हुन पुगेको छ ।

कथित ईश्वर तथा देवी देवताको अस्तित्वमा आधारित धार्मिक उन्माद र अन्धविश्वासले मानव समाजामा पुर्याएको क्षतिहरुका सम्बन्धमा यी केही उदाहरण मात्र हुन् । मिहिन रुपले केलाउने हो भने धार्मिक अन्धविश्वासका कारण मानव समाजमा हुन पुगेको क्षेतिको निकै लामो सूची बन्न सक्छ ।

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »