मास्क बाँड्ने युवाको अनुभवः सरकारी कर्मचारीले नै मास्क लगाउन मान्दैनन्

दाङ । घोराही उपमहानगरपालिका निवासी एक युवाले केही महिनादेखि मास्क बाडेर दिन बिताउने गरेका छन् । घोराही–१४ का वीरबहादुर खत्री (बिरु) ले मास्क बाड्नमा नै दिन बिताउने गरेका हुन् । कोरोना जोखिमको समय भएका र बन्दका कारण बजारमा मास्क मूल्य बढेर किन्नै नसक्ने अवस्था भएको थियो । धेरैले कपडाका मास्क बनाए, बेचे आफ्नो कारोबार पनि बढाए । त्यही समयमा मास्क किन्न नसक्नेहरूका लागि मास्क बाड्न एक जना युवा सडकमा आए ।

उनले मास्क नलगाएर हिँड्ने व्यक्तिहरूलाई मास्क दिन थाले । कोरोनाविरुद्ध जोखिमका काम गर्नेहरूलाई उनले घरमै पुगेर पनि मास्क उपलब्ध गराए । सुरुका दिन उनले सञ्चार संस्थामा फोकस गरे । अनि भीडभाडमा रहने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई पनि उनले निःशुल्क रूपमा मास्क उपलव्ध गराए । कति रुपैयाँ खर्च गरे मास्क किन्न र मास्क बाँड्न कति इन्धन मोटरसाइकलमा खर्च भयो भन्नेमा उनको ध्यान छैन । तैपनि सचेतनाको अभियानमा उनी दौडिरहेका छन् । “संक्रमणको न्यूनीकरण र कोरोना भाइरसको खोप नबन्दासम्मका लागि मेरो अभियान जारी रहनेछ,” बिरु भन्छन् ।

उनले निःशुल्क रूपमा मास्क बाँड्नेसँगै मास्क प्रयोग गर्दाका फाइदासमेत सिकाउने गरेका छन् । उनले मास्क नलगाएर हिँड्ने मानिसहरूलाई रोक्दै मास्क दिन्छन् र प्रयोगका बारेमा सिकाउँछन् । संकटका समयमा मास्क वितरण गर्न सुरु गरेका उनी खत्रीलाई पछिल्लो समय जिल्लामा दंगालीले ‘मास्क म्यान’ समेत भन्ने गरेका छन् ।

जिल्लाका विभिन्न स्थानमा पुगेर मास्क वितरण गर्ने गरेका खत्रीलाई कहिल्यै घामपानीले छेकेन । न त भोक–तिर्खाले नै गलायो । अभियान निरन्तर रूपमा चलिरह्यो देउखुरीको भालुवाङदेखि पश्चिम दाङको हापुरेसम्म । यो बीचमा करिब ८ हजार केएन–९५ मास्क र ३३ हजार बढी मेडिकल मास्क वितरण गरे । निःशुल्क रूपमा मास्क वितरणमा लागेका उनमा एउटै चाहना छ कोरोनाको जोखिम रहेकाले सबैले मास्क प्रयोग गर्नुपर्छ । “म राजनीति गर्ने मान्छे हुँ, मलाई राजनीतिको स्वार्थभन्दा पनि कोरोनाको जोखिमको समयमा जनतालाई कसरी बचाउने भन्ने चिन्ता लाग्यो,” उनले भने, “त्यो समयमा दाङमा कोरोनाको जोखिम बढेकाले जनताले मास्क किन्न समेत पाउने अवस्था थिएन । त्यो अवस्थामा ५० पिस मास्क किनेर बाँड्न शुरु गरेको हुँ ।”

सुरुमा कोरोनाबाट आफू पनि डराएको थिए । जसका कारण सरकारले गरेको लकडाउनको पूर्ण पालना पनि गरे तर संक्रमित बढिरहेका थिए । मानिसहरू मास्क नपाएर नलगाएरै हिँडिरहेका थिए । त्यसपछि भने उनले आफूलाई घरभित्र बन्धक बनाएर राखिरहन सकेनन् । त्यसपछि परिवारमा बुवा, आमा, श्रीमती, भाइबुहारीसँग सल्लाह गरे । सबैको सहमति दिएपछि उनी कोरोना भाइरसको संक्रमणबाट जोगाउन आफू घर बाहिर निस्किएर स्वास्थ्य सामग्री निःशुल्क बाँड्ने थालेको उनले बताए । “यो अभियानमा लाग्न मलाई घर परिवारसँगै साथी भाइहरूको सहयोग छ,” उनले भने, “जोखिमको समयमा सबैको सहयोगले अभियान चलाउन समेत सहयोग पुगेको छ ।”

अभियानका क्रममा अहिले उनले के एन–९५ मास्क मात्र ८ हजार बढी बाँडिसकेका छन् । त्यसका लागि करिब ७ लाख रुपैयाँ खर्च भइसकेको समेत बताए । “अहिले केएन–९५ मास्कको मूल्य घटेर थोरै भइसकेको छ तर त्यो बेला एउटा मास्कको मूल्य ५ सय रुपैयाँसम्म पथ्र्यो,” खत्रीले भने, “त्यही समयमा मैले केएन–९५ मास्क निःशुल्क रूपमा बाँडे ।”

मानव सेवा नै उत्तम सेवा सम्झने खत्रीले अहिले गरिएको सेवाबाट आफू सन्तुष्ट रहेको समेत बताए । “मानवीय सेवाबाहेक अरू मेरो कुनै स्वार्थ छैन,” खत्रीले भने, ०जोखिमको समयमा जनतालाई बचाउने काम राज्यको थियो तर राज्यले सहयोग नगर्दा जनता जोखिममा रहेपछि मैले सुरु गरेको हुँ ।” अभियानमा उनले जनताले जितेर पठाएका नेतालाई समेत भने तर उनीहरूले सहयोग गर्न चाहेनन् । अभियानमा लागेका खत्रीका तीता अनुभव छन् । उनी सम्झन्छन्, “जनतालाई जोखिमबाट बचाउनका लागि स्थानीय सरकारले निःशुल्क रुपमा मास्क वितरण गर्न सक्छन्, सचेतनाका लागि मास्क लगाउन भन्न सक्छन् । तर, मास्क बाँड्न त सकेनन् सकेनन् । कार्यालयमा आफूसमेत मास्क प्रयोग नगरेर बस्ने गरेको भेटाए ।” मास्क नलगाउने कर्मचारीलाई मास्क लगाएर बस्नुस्भन्दा सरकारी कर्मचारी नै झगडामा उत्रिएको समेत बताए ।

कोही कर्मचारीले त उनको अभियानमा सहयोगसमेत गरे । त्यसमा उनले मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्काको सहयोगलाई कहिल्यै नभुल्नेसमेत बताए । “मैले मालपोत कार्यालयमा मास्क नलाएर पुगेका सेवाग्राहीलाई मास्क वितरण गर्दा कार्यालय प्रमुख बाहिर निस्किएर मलाई धन्यवाद दिनुभयो,” उनले भने, “त्यहाँ रहेका कर्मचारीहरूलाई कार्यालय समय र सेवाग्राहीलाई कार्यालय आउँदा अनिवार्य रूपमा मास्क प्रयोग गर्न समेत आग्रह गरे ।” सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई मास्क वितरण गरेका उनी पछिल्लो समय सडकमा हिँड्ने जो कोहीलाई पनि निःशुल्क मास्क बाँडिरहेका छन् । कारोबार दैनिकबाट ।

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »