मेलम्ची दुर्घटनाकाे प्रारम्भिक निष्कर्षः नटबोल्ट राम्ररी नकस्दा दुर्घटना

काठमाडौ। मेलम्ची खानेपानी आयोजनाको सुरूङभित्रको गेट नम्बर १७ कसरी फुट्यो भन्ने अध्ययन गर्न बनेको प्राविधिक समितिले गेटको नटबोल्ट राम्ररी नकस्दा दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा गठित छ सदस्यीय प्राविधिक समितिले नटबोल्ट राम्रोसँग नकस्सिँदा पानी बाहिर निस्केको प्रारम्भिक निष्कर्ष निकालेको हो।

यही असार ३० गते आयोजनाको अम्बाथानस्थित सुरूङभित्रको गेट नम्बर १७ निरीक्षण गर्न पुगेका आयोजनाका इन्जिनियर सहित चार जनालाई पानीले बगाएको थियो। घटनामा परेका इन्जिनियर सतिस गोइतको शव फेला परिसकेको छ भने आयोजनाका चालक राधाकृष्ण थापा अझै बेपत्ता छन्। सुरूङभित्र रहेको हाइलक्स गाडी पनि गेट नम्बर १७ बाट निस्केको पानीले बगाएर मेलम्ची खोलामा पुर्याइदिएको थियो।

पानीमा बगेर घाइते भएका आयोजनाका अर्का इन्जिनियर शेखर खनाल र प्राविधिक पेमा दोर्जे तामाङको हेलिकप्टरबाट उद्धार गरी काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको थियो।

‘१७ नम्बर गेटको ढोकामा समस्या नदेखिएको र पहिलेजस्तो थियो त्यस्तै भएकाले ढोकाको नट बोल्ड राम्रोसँग नकस्सिँदा पानी बाहिर निस्केको प्रारम्भिक निष्कर्ष निकालेको सहसचिव दुवाडीले बताउनुभयो । ‘अझै अध्ययन गरेर हामी तीनरचार दिनपछि मन्त्रालयलाई विस्तृत प्रतिवेदन दिन्छौं, नटबोल्ट जति कस्सिनु पर्ने हो त्यति कसिलो भएन। खुकुलो हुँदा ढोकाबाट पानी आएको हुन सक्ने हाम्रो बुझाइ छ।’ उहाँले भन्नुभयो । उहाँकाअनुसार प्राविधिक टोलीले गेट नम्बर १७ पुगेर त्यहाँको अवस्था बारे बुझेको हो।

‘गेट भत्किएको छैन, गेटलाई टेवा दिने पिल्लरमा पनि क्षति पुगेको छैन। पानीको चाप थेग्न नसक्दा नटबोल्ट ‘लुज’ भएको र त्यहाँबाट पानी बाहिर निस्केको हुनसक्छ’ उहाँले भन्नुभयो ।

यो सुरूङमार्गको काम चिनियाँ सिनो हाइड्रो कम्पनी र गेटलगायत निर्माण कार्य भारतको प्रिसिजन इनफाट्रिक कम्पनीले गरेको हो। सुरूङमा पानी परीक्षणका क्रममा दुर्घटना भएपछि सुरूङको निर्माण र त्यहाँ प्रयोग गरिएका सिमेन्ट लगायत सामग्री गुणस्तरबारे पनि प्रश्न उठेका छन्। गेट र सुरूङ निर्माणमा कतै समस्या छन् कि भन्नेबारे पनि मन्त्रालयबाट खटिएको समितिले अध्ययन गर्नेछ। आयोजनाको मुहानबाट गत असार २१ गते करिब आठ सय मिटरसम्म सुरूङमा पानी हालेर सफल परीक्षण गरिएको थियो।

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »