“म मान्छे बनेर फर्कनेछु”

आफुले पाइला टेकेको माटोमा

हरेक दिन पेटले सारंगी रेटे पछि

पापी पेट बोकेर मुग्लान पस्दैछु मालिक

अब म मुग्लान पस्दैछु,

अब त वैँशमा किनेको दौरा पनि

जडौरी हुँदै गयो,

जहाँनले लाज टालेको टालो

बिस्तारै च्यातिँदै  गयो

ऐलेनीमा बा ले बनाएको छाप्रो भत्किए पछि

सुकुम्बासीले कहाँबाट बनाओस् र आरन मालिक?

गुँड नै नभए पछि

चरीले कहाँ बाट हुर्काओस् बचेरा?

पुन्की र बालीले ज्यान धान्नै मुश्किल छ मालिक!

पोहोर साल भुण्टेलाइ व्यथाले अँठ्याए पछि

अस्पताल बाटै फर्किएको छु

ऋणको पोको बोकेर

कुपोषणले खाएको उसलाई तङ्-याउँन

कहाँबाट गरौँ ओखती मालिक?

बाजेले बनाएको खलाँती

प्वालै प्वाल बन्दैछ

जसबाट छर्लङ्ग देखिन्छ

सामन्ती व्यवस्थाको मानचित्र

सानी छोरीले लगाएको

मैलो जामाले गिज्याउन थाल्यो

बढ्दै गएका पेटले चारो मागेपछि

के गर्नु र मालिक?

त्यसैले म मुग्लान पस्दैछु।

आफ्ना मालताल लैजानुहोस् मालिक

यो पटकलाइ धारिलो पारिदिएको छु

खन्नुहोस् आफ्नो रैकर जग्गा

अनि उब्जाउँनुहोस् धेरै अन्न

अबदेखि बाली थाप्न आउँदिन मालिक

मान्छेले बनाएका भगवान र

भगवानले बनाएका मान्छे दुबै उस्तै रहेछन्

दुबैको नजरमा पर्दैन रहेछ गरिब

हुँदो  रहेछ अछुत

थाहा छैन फेरी यता फर्किन्छु या फर्किन्न

कुनै दिन मुग्लान बाट फर्किएँ भने

मान्छे बनेर फर्किनेछु

हो म तपाई जस्तै बनेर फर्किनेछु।

+ posts
Language »