सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विपदमा परेकालाइ उद्धार, राहत र पुनर्स्थापन प्रभावकारी बनाउनु : प्रधानमन्त्री

काठमाडौं / असार २७
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा प्राकृतिक विपदमा परेका व्यक्तिको उद्धार, राहत, तथा पुनर्स्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को चौथो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै विपद्जन्य घटनाबाट क्षति न्यूनीकरण गर्ने भरपर्दो उपाय अवलम्बन गर्नसमेत सम्बद्ध निकायलाई आग्रह गर्नुभएको हो ।

परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले राहत सामग्रीलाई व्यवस्थित गर्दै प्रभावितसम्म पुर्‍याउन र उद्धारकको मनोबल बढाउने गरी काम गर्न परिषद्का सदस्यहरुलाई निर्देशन दिनुभएको परिषद्का सदस्यसचिव तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो ।

विपद्को राहत, उद्धार तथा आवश्यक व्यवस्थापकीय कार्यमा सरकारले आर्थिक अभाव हुन नदिने विश्वास दिलाउँदै प्रधानमन्त्री ओलीले आवश्यक आर्थिक व्यवस्थापनमा कमी हुन नदिन अर्थमन्त्री डा युवराज खतिवडालाई निर्देशन दिनुभयो। उहाले बाढी–पहिराका कारण अवागमनमा समस्या परेको क्षेत्रमा वैकल्पिक मार्ग वा बेलिब्रिज निर्माण गरी सञ्चालन गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभयो।

गत बिहीबारदेखिको अविरल वर्षापछि आएको बाढी–पहिरामा परेर मुलुकका विभिन्न जिल्लामा ठूलो धनजनको क्षति भएको छ। अहिले सरकारले राहत तथा उद्धार कार्य जारी राखेको छ। बेपत्ता भएका व्यक्तिको खोजीमा सबै सुरक्षा अङ्ग परिचालन गरिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »