शहरबाट गाउँ फर्केकाहरूले कृषि उत्पादनमा साथ देला त ?

काठमाडौं । डिलबहादुर गुरुङ धादिङ सदरमुकाम धादिङबेसीमा कस्मेटिक व्यवसाय गर्छन् । लामो समय जिल्ला सदमुकाममा रहेर व्यापार गर्दै आएका गुरुङ यसपटक लकडाउन सुरुभएलगत्तै सपरिवार जन्मथलो पात्ले फर्किए । अनिश्चितकालीन लकडाउनसँंगै गुरुङले गाउँको पुर्ख्यौली थलोको पाखोबारीमा खेताला लगाए । आफू पनि कस्सिएर काम थाले ।

कयौं वर्षदेखि प्रयोग नभएको केही र भएको पनि मुस्किलले एक बालीमात्रै फल्ने पाखोमा गुरुङले नमिलेका रुख कटाए, बाली लगाउन अवरोध भएका ढुंगा मिल्काए र अकबरे खुर्सानीसहितको नगदेबाली बारीमा ढकाए । सामान्यतया खेती नभएर सुकेको पाखोलाई उनले केही दिनमै हेर्नलायक बनाएका छन् । लकडाउनमा गाउँ फर्केर बारीमा रमाएका फोटाहरु फेसबुकमा राख्दै गुरुङले आफ्नो लकडाउन समय कृषि उत्पादनमा लगाएको लेखेका छन् ।

जिल्ला सदमुकामको चल्दापूर्जा व्यवसायी धुलोबारीमा खटेको देखेर धेरैले उनको प्रशंसा गरेका छन् । लकडाउन र कोरोना समस्यालाई अवसरमा बदल्न आफू परिवारसहित कृषि उत्पादनमा लागेको गुरुङले बताए । विदेशबाट तरकारी आयात गरेर खाने परिपाटी अन्त्य गर्न सबैले आफ्नो परिवारबाट प्रयास गर्नुपर्नेमा उनको जोड छ । डिलबहादुर गुरुङ एक जना प्रतिनिधि पात्र मात्रै भए पनि जिल्लाको नीलकण्ठ नगरपालिका १ अन्तर्गतका पात्ले, धुसेनी, गैरीबसाह, काउले लगायतका गाउँमा लकडाउन अघि धेरै मानिसहरु शहर तथा विदेशबाट फर्किएको नगरपालिकाले जनाएको छ ।

खेतीपातीमै काम गरेका तर विभिन्न कारणले सहर तथा परदेश पुगेकाहरु गाउँ फर्केर परम्परागत कृषिमा लागेको नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले बताए । ‘ठूलो संख्यामा मानिसहरु नगरस्थित आफ्नो घर आएका छन् र उनीहरु अहिले खेतीपातीमा व्यस्त छन्,’ मेयर ढुंगानाले भने ।

भारतको राजस्थान, पञ्जाब लगायतका क्षेत्रमा खेतीपातीकै कामका लागि गएका दर्जनौं स्थानीयहरु कोभिडकै कारण फर्किएर कृषि पेशामा लागेको हरिवन नगरपालिकाले जनाएको छ । ‘बढी आम्दानी हुने भएपछि उहाँहरु त्यता जानुभएको थियो, अहिले फर्कनुभएको छ र सिकेको ज्ञान प्रयोग गरिरहनुभएको छ,’ हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईले भने । परम्परागत नै भए पनि गाउँ फर्किएका मानिसहरु कृषिमै लागेको मेयर प्रसाईले बताए ।

‘२५ /३० हजार कमाउन खाडी जानुपर्दैन’

गाउँ फिरेका मानिसहरुलाई गाउँमै रोक्न नगरको बजेटमार्फत कार्यक्रमहरु ल्याइएको नीलकण्ठ नगरपालिकाका मेयर ढुंगानाले बताए । कृषिमार्फत युवालाई उद्यमी बनाउन नगरसभामार्फत पशु बिमाको ८५ प्रतिशत दायित्व नगरपालिकाले लिने, ब्याज अनुदानमा ऋण पाइने तथा प्राविधिक सेवालगायतका कार्यक्रम ल्याइएको उनले बताए । ‘भर्खरै कार्यक्रम घोषणा गरेका छौँ, गउँमा फर्केका मानिसलाई सीप सिकाएर उद्यमी बनाएरै छाड्छौं, २५ /३० हजार मासिक कमाउन खाडी जानुपर्दैन,’ मेयर ढुंगानाले भने ।

कृषिलाई आत्मानिर्भर बनाउन, उत्पादनमा आत्मानिर्भर बनाउने, व्यावसायी करण, यन्त्रीकरण, समूह खेतीलाई व्यवस्थित गर्न नगरपालिकाले कार्यक्रमहरु ल्याएको हरिवनका मेयर प्रसाईं बताउँछन् ।

कृषि गर्न अनुदान, नगपालिका ग्यारेण्टी बसेर कृषि गर्न ऋण दिने जस्ता कार्यक्रम घोषणा गरेको बताउँदै उनले २०/२५ हजार मासिक कमाउन गाउँका मानिस सहर र विदेश नफर्किने उनले दाबी गरे । ‘तराईमा दुई विघा जग्गामा कृषि गरेर वार्षिक २ लाख बचाउन कुनै समस्या छैन, नीति तथा कार्यक्रम पछि मलाई युवाहरुको फोन आउन थालेको छ,’ मेयर प्रसाईंले भने । नगदेबाली, गाई पालेर दूध बिक्री, बाख्रा पालन, माछाजस्ता पेशामा प्रत्येक वडाका १० जनाका दरले समूहमा आउने युवाहरुलाई उद्यमी बनाउने योजना नगरले ल्याएको पनि उनले बताए ।

मानिस कति छन् गाउँमा ?

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले केही समयअघि गरेको सम्भावित श्रम जनशक्ति सम्बन्धी एक अध्ययनअनुसार झण्डै ९ लाख श्रम गर्न योग्य मानिसहरु अहिले नेपालभर छन् । कोभिडका कारण गरिएको लकडाउनले छिमेकी मुलुकसहित विश्वभरको अर्थतन्त्रमा परेको प्रभावले तीन लाख भन्दा बढी मानिस स्वदेश फर्किसकेको र अझै यो क्रम जारी रहेको बताइन्छ ।

अर्कोतर्फ, लकडाउनले धेरै मानिसहरु शहरबाट गाउँ पसेकाले ती मानिसहरु परम्परागत कृषिमा लागेको विश्वास गरिन्छ । खाडी लगायतको देशमा रहेका झण्डै २५ हजारमा मानिसलाई सरकारले उद्धार पनि गरिरहेको छ, यद्यपि कुन प्रदेश, जिल्ला वा नगरमा कति मानिस कहाँबाट फर्किए भन्ने एकीकृत विवरण भने सरकारसँग छैन । लकडाउन र अन्य आर्थिक गतिविधि कमजोर हुनु तथा बर्खाका कारण ठूलो जनशक्ति यतिबेला गाउँमा रहेको र सक्रिय कृषिमा सहभागी भएको कृषि मन्त्रालयको अनुमान छ ।

कृषि उत्पादन बढ्न सक्छ

अघिल्लो वर्षको तुलनामा यस पटक देशभर रसायनिक मलको माग अत्यधिक बढ्नुले पनि खेती भएको क्षेत्रफल बढेको हुनसक्ने मन्त्रालयको अनुमान छ । गत वर्षको तुलनामा बर्खा सिजनमा २५ प्रतिशत बढी रसायिनक मल बिक्री भएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए । मल धेरै खोज्नुको अर्थ खेती गर्नकै लागि भनेर बुझ्नुपर्ने उनको भनाइ छ । ‘मनसुन राम्रो छ, जनशक्ति गाउँमा छन् यस वर्ष कृषि उत्पादन बढ्नेमा आशावादी छ,’ प्रवक्ता डा. केसीले भने ।

कृषकले माग गरे जति जति रासायनिक मल दिलाउन समस्या भए पनि पाखा र खेती नभएको जमिनमा खेती गर्न श्रमशक्ति परिचालन भएको सूचना मन्त्रालयमा आएको उनले बताए । मल अभाव चिर्न मन्त्रालयले हरसम्भव प्रयास गरिरहेको पनि उनको दाबी छ ।

शहर पस्दा छोडेका २२ प्रतिशत जमिनमा खेती

देशभर करिब ३३ लाख हेक्टर खेतीयोग्य जमिन रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आकलन छ । मन्त्रालयको पुरानो संरचनाअनुसार जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा विदेश गएका तथा सहरमा बसाइँ सराइँ गर्दा करिब २२ प्रतिशत जमिन बाँझै छोडिएको अनुमान गरिएको मन्त्रालयका प्रवक्ता डा. केसीले बताए ।

कुल खेतीयोग्य जमिनको ४७ प्रतिशत हिस्सामा धान खेती हुने र ३३ प्रतिशतमा अन्यबाली हुने मन्त्रालयले जनाएको छ । मानिसले सहर पस्दा छोडेको जमिनमा खेती गर्ने प्रचलन देशभरी नै बढेको कृषि विज्ञ डा. हरि दाहाल बताउँछन् ।

कोभिडका कारण मानिसको मानिसहरु जन्मथलो फर्किएको र मानिस बढ्ने बित्तिकै परम्परागत खेती बढेको उनको भनाइ छ । ‘मानिस बढ्ने बित्तिकै बालीको स्याहार पनि बढ्छ, खानकै लागि उब्जनी गर्दा पनि त्यसले समग्र उत्पादनमा वृद्धि ल्याउँछ,’ डा. दाहालले भने ।

जुनकुनै किसिमबाट कृषिमा संलग्न मान्छेलाई टिकाइराख्न राज्यले कृषि सामाग्रीको उपलब्धता, बजार सुनिश्चितता जस्ता विषयको प्रत्यभूति भने गर्नु पर्नेमा उनले जोड दिए ।

सहरबाट गाउँ पुगेका मान्छेहरुको कृषि श्रमको सहभागिता तीन प्रकारको देखिएको अर्का विज्ञ जीवन राई बताउँछन् । बाध्यताले घर फर्किएर परम्परागत खेतीमा लागेका, मौसम तथा परिस्थितिका कारण कृषिमा लागेका तर जुनसुकै बेला अर्को अवसरमा फर्कन सक्ने र एकाथरी योजना बनाएरै गाउँ छिरेर काम सुरु भएको राईको बुझाइ छ ।

पहिले विविध कारण बाँझो रहेको कुल जमिनको करिब २५ प्रतिशत जमिनमा उनीहरुकै कारण खेति भएको राई बताउँछन् । युवाहरुको गाउँ प्रवेशलाई स्थायी बनाउन सबै तहका सरकारले विशेष नीति तथा कार्यक्रम ल्याउनुपर्ने र भूमी उपयोग नीतिमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । ‘संकटमा गाउँ फर्केका मानिसको कृषिमा सहभागीले अवश्य उत्पादन बढ्छ तर यसलाई टिकाइराख्न सरकार चुक्यो भने त्यो दूर्भाग्य हुन्छ,’ राईले भने ।

अनलाइन खबरबाट साभार

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »