सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सबै तह र प्रकृतिका परीक्षा सञ्‍चालन गर्न मन्त्रिपरिषद्बाट स्वीकृति

काठमाडाैं। मन्त्रिपरिषद्ले सबै तह र प्रकृतिका परीक्षा सञ्चा‍लन गर्न स्वीकृति दिएको छ ।

कोरोना संक्रमणको सुरुवात भएसँगै गत चैतयता निर्धारित परीक्षा स्थगित भएकामा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरेर त्यस्ता परीक्षा सञ्चा‍लन गर्न स्वीकृति दिइएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

मन्त्रिपरिषद्को असोज १९ गतेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सबै परीक्षा सञ्चा‍लन गर्न स्वीकृति दिएको मन्त्री ज्ञवालीले बताए । ‘नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी गरिएको जनस्वास्थ्य एवं सुरक्षासम्बन्धि मापदण्डहरू पूर्णरूपमा पालना गर्ने गरी परीक्षासम्बद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थाहरूलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरू सञ्चा‍लन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको छ,’ उनले भने । कोरोना संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्न भनिएको मन्त्री ज्ञवालीले बताए ।

त्यस्तै, व्यावसायिक तालिम प्रदायक संस्थाहरूलाई पनि स्वास्थ्य मापदण्ड पालना गरेर विभिन्न व्यवसायका लागि तालिम प्रदान गर्न स्वीकृति दिइएको छ । त्यस्ता तालिममा २५ जनाभन्दा बढीको सहभागिता भने नगर्न भनिएको छ । त्यस्ता तालिम छोटो अवधिका लागि हुनुपर्ने छ ।

साथै राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको पदपूर्तीसम्बन्धि प्रक्रियालाई सुचारु गर्न पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । उक्त प्रक्रिया बैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले स्थगन गरेको थियो ।

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै लकडाउन जारी गरिएपछि एसईई, कक्षा ११ र १२ का परीक्षा रोकिएका थिए । एसईईको परीक्षा आन्तरिक मूल्यांकनमार्फत गरेर नतिजा प्रकाशन भए पनि अन्य परीक्षा भने हुन सकेका थिएनन् ।

कर्मचारी भर्नाका र विभिन्न विश्वविद्यालयका परीक्षा पनि स्थगित गरिएका थिए । मन्त्रिपरिषद्को यो निर्णयले अब ती परीक्षा सञ्चा‍लन हुने भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »