सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सलहको अर्को झुण्ड नेपाल प्रवेश गर्दैः सतर्कता अपनाउन र पूर्वतयारी गर्न विज्ञको आग्रह

काठमाडौं / २८ असार।

सलह किराको नयाँ झुण्ड नेपाल प्रवेश गर्ने सम्भावना बढेको छ । प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सलहको नयाँ झुण्ड नेपाल प्रवेश गर्ने तयारीमा रहेको हो ।

भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपास करिब एक सय ५० हेक्टर क्षेत्रफलमा सलहका दुईवटा झुन्ड छन् । यी झुन्डहरू हावाको बहावसँगै भारतको पूर्वतर्फ वाराणसी, मुजफ्फरपुर र दरभंगा आसपासको क्षेत्र हुँदै धनुषा, महोत्तरी, सर्लाही जिल्लाको नाकाबाट नेपाल प्रवेश गर्नसक्ने सम्भावना रहेको केन्द्रले जनाएको छ ।

‘ती झुण्ड एकदुई दिनभित्रै महोत्तरी, धनुषा, सर्लाही लगायतका तराईका जिल्ला हुँदै नेपाल प्रवेश गर्ने सम्भावना छ,’ केन्द्रको सूचनामा भनिएको छ । त्यसैगरी भारतकै राजस्थानका विभिन्न ठाउँमा रहेका विभिन्न झुण्ड पनि दुईतीन दिनभित्र प्रदेश पाँच र सुदूरपश्चिम प्रदेश हुँदै नेपाल प्रवेश गर्ने सम्भावना रहेको केन्द्रले जनाएको छ । झण्डै एक सय ५० हेक्टर जमिनमा फैलिएको सलहको दुई वटा ठूलो झुण्ड नेपालतर्फ अघि बढेकोले सतर्कता अपनाउन र पूर्वतयारी गर्न अनुरोध गरेको हो ।कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा। हरिबहादुर केसीले असार १४ गते नेपाल प्रवेश गरेका सलह फाट्टफुट्ट रूपमा मात्र देखिएकामा अर्को झुन्ड आउने सम्भावना पनि बढ्दै गएको बताए । सलह अझै प्रवेश गर्ने सम्भावना रहेकाले त्यसमा सतर्क रहन प्रदेश तथा स्थानीय तहलाई उनले आग्रह गरे ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले भारतको राजस्थानका विभिन्न स्थानमा ठूलो संख्यामा रहेका सलहका झुन्ड दक्षिण पश्चिमी वायुसँगै नयाँदिल्ली आसपासका क्षेत्र हुँदै उत्तर प्रदेशका मुरादावाद, बरेली तथा शाहजहाँपुरतर्फ अगाडि बढिरहेको र त्यो झुन्ड नेपाल छिर्नसक्ने सम्भावना पनि बढ्दै गइरहेको बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »