सैनिक हिरासत ब्रेक गर्ने योद्धाहरूसँग भेट भएको क्षण

                            -डम्बर थामी ‘अनुपम’ 

    खरानीभित्र पूरिएको आगो जस्तै । ज्वालामुखी पहाडको गर्भमा लुकेको लाभा जस्तै । मीर फाटेपछी बिहानीमा उदाउने सूर्यको आभा जस्तै । जनयुद्धका अदम्य साहस, सौर्य र वीरताका अनगिन्ती कीर्तिमानहरू । बलिदानका शृङ्खलाहरू । जो भित्र भित्रै पूरिएर बसेकाछन । पूरा नभएका उद्देश्य झैं झुरिएर बसेकाछन । सार्‍है ओझेलमा पिल्सिएर रहेकाछन । म त्यसलाई अलि अलि गर्दै खोतल्ने प्रयास गर्दैछु । जतन गरेर खोस्रीने प्रयास गर्दैछु । यसलाई इतिहासको एउटा कडीसँग पनि जोड्न खोज्दैछु । जो हाम्रा अमूल्य निधिहरू हुन । वैभवहरु हुन् । अमूल्य आर्जनहरू हुन । अनुभवजन्य कठिन भोगाईहरू हुन् । छोटो समयको उपलब्धिहरू हुन । युद्धानुभवहरू हुन । युद्धका जवाहरत हुन । इतिहासका ठेलीहरू हुन । नेपाली क्रान्तिका नागबेलीहरू हुन् । साथै नालीबेली पनि । यिनै नालीबेलीहरूबाट केही शिक्षा मिलोस भन्ने हेतुले त्यो अदम्य प्रसंगको उजागर गर्दैछु । प्रसंग हो धादिङ जिल्लाको पृथ्वी राजमार्गको आडैमा रहेको गजुरी सैनिक ब्यारेकको । र सैनिक हिरासतको । २०६१ साल कार्तिक २९ गते तिहारको भाइटीकाको दिनको । आफूहरू सैनिक हिरासतमा रहँदा । उल्टै दुश्मनको गार्डलाई गुरिल्ला ट्याक्टिस अपनाएर अनाम कम्ब्याट प्रयोग गरेर गार्डको हतियार समेत खोसी सैनिक हिरासत ब्रेक गर्न सफल । साहसिक, ईस्पातिला लाल योद्धाहरूको । जनमुक्ति सेनाका जोदाहा सिपाहीहरूको । हाम्रो टोली (जनमुक्ति सेनाको फर्मेशन, सि कम्पनी) मकवानपुर, धादिङको भूगोलमा मार्चपास गरिरहेको बेला उनीहरूसँग पहिलो सम्पर्क भएको अविस्मरणीय क्षणको । धर्ती उचाले झैं लागिरहेको दिनको । वीरताको गगनभेदी तोप पड्काएर विजयोत्सव मनाए झैं लागेको दिनको । साथै आश्चर्य पनि लागेको क्षणको । 

      जनमुक्ति सेनाको बेथान स्मृति ब्रीगेड पन्ध्रौं बटालियन अन्तर्गत सि कम्पनीको टोलीले पर्सा, मकवानपुर र धादिङको भूगोलमा त्रि-लक्ष्य अभियान चलाईरहेको थियो । क्रान्तिका तीन जादुगरी हतियार (पार्टी, सेना र संयुक्त मोर्चा) ले चलाएको यो अभियान  निकै महत्त्वपूर्ण थियो । हाम्रो कम्पनी जिल्ला पार्टीसँग एकाकार भएको थियो । हुनुपर्ने जरुरी पनि थियो । हाम्रो कम्पनीको भूगोल धेरै ठूलो भए पनि केही संघर्षका प्रतिरोधपूर्ण योजनाहरू सफल पारेका थियौं । हाम्रो लागि त्यो भूगोल नितान्त नयाँ भए पनि हामीले पहाडदेखि चूरे अनि तराईसम्मको भूगोलमा फौजी पहलकदमी लिनुपर्ने अवस्था थियो । कतै कमाण्डो आक्रमण । कतै सेबोटेज । कतै एम्बुस । कतै बुबिट्रयाप्स । कुनै न कुनै हिसाबले दुश्मनलाई चक्मा दिईरहेका थियौं । ठूल्ठूला सैनिक ब्यारेकको बीचमा रहेर हाम्रो गतिविधि बढाउनु मामूली कुरा थिएन । भूगोल प्रतिकूल भएकोले भमराले झैं चक्कर काट्ने सैन्य रणनीति अपनाएका थियौं  । यसरी प्रतिकूलतालाई अनुकूलतामा बदल्नु पर्ने जरुरी थियो । साथै फौजी कार्वाहीलाई अगाडि बढाउनु पर्ने पनि । त्यसैले जनसमुदायसँग एकाकार हुँदै थियौं । विशेष गरी चेपाङ र तामाङ जाति बाहुल्य भएको भूगोलमा हामीलाई काम गर्न सजिलै थियो । किनकि यी आस्थाका धरोहर । क्रान्तिका खम्बा । उत्पीडित जनसमुदायले सि. आई. डि. सुराकी गर्न जानेका थिएनन् । पार्टी र  क्रान्तिप्रति पूरै समर्पित भएका  थिए । युद्ध सामग्रीका भारीहरू निश्चिन्त रुपमा बोकिदिने ! योद्धाहरूलाई त्यस्तो विकट बस्तीहरूमा पनि रासन बोकेर सहयोग गर्ने ती चेपाङ दाइहरूको समर्पण देख्दा अझै पनि मन बहकिएर आउँछ । (दुई महिना पनि मुस्किलले खाना नपुग्ने । गाँस, बास, कपास, स्वास्थ्य , शिक्षा , रोजगारबाट बन्चित भएका । सुत्केरीलाई पनि जंगली कन्दमूल खोजेर खुवाउनु पर्ने । गिठा भ्याकुर खोजेर खानु पर्ने । दिन रात नभनी मजदूरी गरेर आफ्नो परिवार पाल्ने । राज्यको आँखा कहिल्यै पनि नपुगेको   । सिधा-सोझा चेपाङ समुदायको जिन्दगीमा केही परिवर्तन आयो कि आएन होला ? छोरीको बिबाहमा चिउरीको रुख दाइजो दिने मौलिक चलन भएको जाति । चेपाङ-चिउरी र चमेराको घनिष्ठ सम्बन्ध भएको अनौठो चलन भएको । पहराको डिलमा घर बनाएर बस्ने ती सोझा र ईमान्दार जातिको झुपडीमा गणतन्त्रको घाम उदायो कि उदाएन होला ?  सार्‍है कौतुहलता जागेको छ । सार्‍है दु:ख पनि लागेको छ । यिनै जनताको झुपडीमा परिवर्तन ल्याउन भनी दिलोज्यान दिईयो । घुम्दै फिर्दै रुम्जाटार भने जस्तै हालत उही रह्यो ।) यिनै महान जनसमुदायसँग एकाकार हुँदा छुट्टै आनन्दानुभूति पैदा भएको थियो । नौलो अनुभूति पनि ।

       २०६१ साल मंसिर १ गते हाम्रो टोलीले मकवानपुर जिल्लाको अति विकट गाउँ कैलाश बैकुण्ठमा हार्बोरिङ सेट गरेको थियो । त्रि-लक्ष्य अभियानको शिलशिलामै हामी त्यहाँ पुगेका थियौं । जाडो याम शुरु भईसकेको थियो । बिहानै सबै टोलीलाई अल आउट गरिसकेपछि एक्कासि संचारबाट खबर आयो । “दुई थान एस एम जी सहित तत्कालीन शाही सेनाहरूले हतियार बुझाउन आउँदैछन भनेर ।” हामी यो के हुँदैछ भनेर आश्चर्यचकित पर्‍यौं । हतार हतार टोलीको रोलकल गरेर हामी तयारी भयौं । (लडाइँ हो आखिर जे पनि हुन सक्छ ! शान्त वातावरणपछि भीषण आँधी पनि त  आउनसक्छ । दुश्मनले हामीलाई लोभ्याएर आक्रमण पनि त गर्न सक्छ !) कम्पनीको एउटा एस.टि.एफ. कम्पनी सह-कमान्डर क. रन्जनको कमान्डमा कृष्णभीर कार्वाहीको लागि पठाईसकिएको थियो । गण्डक क्षेत्रमा काम कार्वाही बढाउने बासु स्मृति ब्रीगेडसँग हाम्रो टोलीको पनि समन्वय भएको थियो । हाम्रो टोलीसँग समन्वय गराउने काम जिल्ला ईन्चार्ज क. वीरजंगले गरेका थिए । (क. वीरजंग पनि क्रान्तिप्रति निष्ठावान । अत्यन्तै ईमान्दार र पूराना कम्युनिस्ट थिए । २०४७ सालमै जनमोर्चाको जिल्ला सेक्रेटरी भएका क. वीरजंग (मोहन बहादुर कार्की) वर्तमान सभामुख अग्नी सापकोटासँगैका मान्छे रहेछन् । उनीसँगको सहकार्य पनि अविस्मरणीय छ । आउँदा  दिनहरूमा थप चर्चा गर्नेछु ।) कम्पनीको बाँकी रहेको फोर्सको एस. टि.एफ. फेरि कम्पनी कमान्डर क. ज्वालाको कमान्डमा तैनाथ गरियो । के हो ? के हो ? भन्ने भएर हाई अलर्टकासाथ हतियार सहित पोजिशन सेट गरेर राखियो । क. ज्वालाले कमान्डिङ गरे । म पनि क. ज्वालाको साथमै रहें । र जिल्ला ईन्चार्ज क. वीरजंग र जिल्ला सेक्रेटरी क. रमण पनि साथमै थिए । (म त्यतिबेला कम्पनीको राजनीतिक कमिशार थिएँ । प्रायः युद्धमा अग्रपंक्तिमा हतियार बोकेर लड्ने कमिशार मै नै थिएँ होला । यसो भनिरहँदा आत्मप्रसंशा भए जस्तो लाग्ला तर सत्य यही नै थियो । क्रान्तिकारी जिवनमा कहिले कमिशार भएँ । कहिले कमान्डर भएँ । कहिले ईलाका जनसरकार प्रमुख भएँ । कहिले जिल्ला जनसरकारको उपप्रमुख भएँ । कहिले एरिया सचिव पनि भएँ । कहिले क्षेत्रीय ब्यूरो सदस्य भएँ । कहिले सैन्य ब्यूरो सदस्य त कहिले डिभिजनल कमिटीको स्टाफ पनि । उछलकुद जिन्दगीका भर्‍याङरुपी पाईलाहरु रहेछन् यी । सत्ता आफ्नो हातमा आएपछि कुकुरले हड्डी नछाडे झैं कहाँ छोड्ने रहेछन् र ? नभए कमिशारहरू दुई चार वटा राजनीतिक-सैद्धान्तिक कुराहरू भट्याएर मात्रै हिंड्थे । कतिपय फर्मेशनमा कमिशारहरूलाई सदस्यहरूले भाते कमिशार भन्न पनि पछि परेनन् । राजनीतिक कमिशार हुँदा एके-४७ बोकेर लडेको मान्छे पनि हुँ । त्यही भएर यो कुरा गरेको हुँ । अन्यथा नलागोस ।) हामी करिब आधा घन्टा पोजिशनमा बसेपछि चार जना सामान्य लाग्ने मान्छेहरू प्लास्टिकको बोरामा केही बोके झैं गरेर देखा परे । बिहानीको घामको लालीसँगै मुहारमा खुशीको आभा पोतिएका मान्छे झैं लाग्थ्यो । कमान्डर ज्वालाले उनीहरूसँग तुरुन्तै मिसिएर कुराकानी गरे । ती मान्छेहरूले शुरुमै अभिवादन गरे । कमरेड भनेर सम्बोधन गरे । हामीलाई अचम्म लाग्यो । हामी एक आपसमा मुखामुख गर्‍यौं । बुझ्दै जाँदा बातचित गर्दै जाँदा आखिर ती मान्छेहरू तत्कालीन शाही सेना नभएर आफ्नै साथी जनमुक्ति सेनाका योद्धाहरू रहेछन् । शुरुमा त निकै शंका गरियो । गलत सूचना प्रवाह भएको परिणाम थियो यो । तुरुन्तै संचारलाई खबरहरू स्पष्ट बुझेर मात्र प्रवाह गर्ने चेतावनी पनि दिईयो । संवाद गर्दै जाँदा गजुरी ब्यारेकको कठोर सैनिक हिरासत ब्रेक गरेर आएका ईस्पातले बनेका योद्धाहरू रहेछन् । संकटकालको बेलामा जनमुक्ति सेनाको पोखरा शहरको स्पेसल टास्क फोर्स (एस. टि.एफ.) मा काम गर्ने योद्धाहरू भएको कुरा थाहा भयो । उनीहरूलाई २०६० साल कार्तिक १ गते गिरफ्तार गरेपछि बेपत्ता बनाउने क्रममा गजुरी ब्यारेकमा हेलिकप्टरबाट ल्याएर लुकाईएको रहेछ । मानव अधिकारवादीहरूले खोज्दा पनि नभेट्ने गरी टेन्टभित्र लुकाईएको रहेछ । तर पनि  ईस्पातले बनेका मान्छेहरूलाई केही प्रवाह भएन । (“कोडभाषा प्रयोग गरेर दुश्मनलाई चक्मा दिने योजना बनाउनु । सबै योद्धाहरूलाई योजनामा एक ढिक्का बनाउनु । कार्वाहीको होल कमान्ड क. शैलेस र सहकमान्ड क. रवीन्द्रले गर्नु । योजना अनुसार क. रवीन्द्रले हतियार खोस्ने काम । क. विप्लवले समात्ने काम । क. विगुलले सेन्टीलाई थिच्ने काम । क. राजु क्षेत्रीले ठाकुरसिंहलाई थुनेको कोठाको ताल्चा खोली क. सेवकले कोतमा रहेको गोली ग्रिनेड निकाल्ने काम एकसाथ हुनु । करिब १५ सेकेन्डमा काम फत्ते हुनु ।यी आश्चर्यजनक युद्धकला हुन । हाइ टेकका विरुद्ध लो टेकले लड्ने गुरिल्ला वारफेरको ट्याक्टिस हुन् ।”) आखिरमा दुश्मनको कमजोर पोईन्ट पत्ता लगाएर यो एक्सन सफल भएको रहेछ । प्लास्टिकको बोरामा दुई वटा एस. एल.आर. र  ६थान ३६-ग्रीनेड प्याक गरेर ल्याएका रहेछन् । दुई रात हिंडेर बल्लतल्ल हामी भएको ठाउँमा आईपुगेका रहेछन् । सेनाले पिछा त गरेको रहेछ तर भेट्टाउन सकेनछ । अर्को कृष्णभीर (२०६१ साल मंसिर १ गते ) लडाइँमा जनमुक्ति सेनाले भीषण हमला गरेपछि पनि उनीहरूको ध्यान त्यतै केन्द्रित भएछ । त्यो कार्वाहीले पनि ठूलो सपोर्ट गर्‍यो । सबै कुरा पछि मात्र थाहा भयो । हामी उनीहरूको साहस देख्दा आश्चर्यचकित भयौं । यो नेपाली क्रान्तिको एउटा मौलिक युद्धकला थियो । क्रान्तिकारीहरूले सुरुङ खनेर जेल ब्रेक त गरेका थिए । तर हातमा हतकडी र खुट्टामा नेल भिरेको योद्धाले उल्टै दुश्मनको हतियार खोसेर बाहिर आउनु धेरै ठूलो साहसको पर्याय पनि थियो । सायद नेपालको इतिहासमा यो पहिलो घटना हुनसक्छ । अत्यन्तै दुर्लभ घटना हुनसक्छ । 

        यसरी साथीहरूसँग भेट भएपछि सुरक्षाको चिन्ता बढ्यो । हामीसँग पनि तत्कालीन अबस्थामा हाम्रो नफ्री कमै थियो । फौजी कार्वाहीको लागि विभिन्न ठाउँमा शक्ति विन्यास भएको थियो । साथीहरूलाई कसरी सुरक्षा गर्ने भनेर जिल्लाका साथीहरूसँग पनि सल्लाह गरियो । जिल्ला ईन्चार्ज क. विरजंग र जिल्ला सेक्रेटरी क. रमणसँग सल्लाह गरेर साथीहरू केही समय हामीसँगै रहे । कडा सेन्ट्री, ड्युटी र ईन्टलीजेन्स, मोबाइल गस्ती गरेर अलि सुरक्षीत ठाउँतिर बसियो । सैनिक हिरासतमा भोगेका कहालीलाग्दा यातनाहरूको शृङ्खला सुनाउँदा अझै पनि आङ सिरिङ्ग हुन्छ । (यी सबै घटनाको नालीबेली आईसकेको छ । क. रवीन्द्रको “उज्यालो” क. राजु क्षेत्रीको “गजुरी ब्यारेक ब्रेक” र क. शैलेसको पनि हिरासतका भोगाइहरू पुस्तककै रुपमा आईसकेको छ । सम्पूर्ण घटनाका फेहरिस्तहरू यी पुस्तकका पानामा सुनौलो अक्षरले कोरिएर आईसकेको छ । मैले केवल सम्झनाका लागि मात्र यी कुराहरू उल्लेख गरेको हुँ ।) सैनिक हिरासत ब्रेक गरेका साथीहरू सात जना थिए । क. प्रकाश खनाल (शैलेस) चितवन, क. बुद्धि पाण्डे  (बिगुल) चितवन, क. देवी बहादुर पराजुली (रवीन्द्र) सिन्धुपाल्चोक, क. बद्री बहादुर कार्की (विप्लव) दोलखा, क. कृष्ण पन्त (सेवक) गोर्खा, पत्रकार क. राजु क्षेत्री (विवेक) पोखरा, कास्की र क. ठाकुरसिंह तामाङ धादिङ  । ठाकुरसिंह तामाङ चाहिँ माओवादी आरोपमा गिरफ्तार परेका सामान्य समर्थक मात्र थिए । यो कार्वाहीको कमान्डर क. शैलेस र सह कमान्डर क. रवीन्द्र भएको कुरा पनि थाहा भयो । र हामीसँग भेट भएका साथीहरू चार जना (क. रवीन्द्र, क. बिगुल, क. विप्लव र क. राजु) थिए । केही समय हामी संगसँगै रह्यौं । क. रवीन्द्र खुब हक्की र साहसिक स्वभावका थिए । जतिखेर पनि बडो उर्जावान कुरा गर्थे । क. विप्लव पनि हक्की स्वभावकै थिए । उनी त झन आफ्नै जिल्लाका भएकाले पनि गर्वबोध भएको थियो । (कामको शिलशिलामा पोखरा पुगेका क. बद्री उतैबाट भूमिगत भएछन् । दर्जनौं लडाइँहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकै कारण एस. टि. एफ. को टोलीमा परेका रहेछन् । उनको जीवनसंगिनी क. देवकी कार्कीको पनि कास्कीको भूमिमा रगत बगेको रहेछ । पछि उनको पनि २०६१ सालमा लेखनाथमा सेनाले गिरफ्तार गरेर ढुंगाले किचिकिची बीभत्स हत्या गरे । र उनको पनि कास्कीकै भूमिमा रगत बग्यो । योद्धाहरूको रगत जहाँ पनि बग्न सक्ने स्थिति थियो त्यो बेला ।) क.विगुल पनि उस्तै स्वाभवका थिए । क. राजु क्षेत्री चाहिँ अलि भावुक स्वभावका रहेछन् । सायद पत्रकार भएको कारणले होला । यसरी केही समय साथीहरू हामीसँग रहेपछि दु:ख सुख साटासाट गरेपछि चितवन जिल्ला पार्टीसँग  सम्पर्क गरेर उतै सम्पर्कमा लागे । चितवन पुगेपछि सबै साथीहरू (सातै जना ) जम्मा भएर पत्रकार सम्मेलन गरेर सबै कुरा सार्वजनिक गरेछन् । पछि थाहा भयो । हामी खुशीले माथि-माथि उचालियौं । टाढैबाट बधाई तथा शुभकामनाका राता मुट्ठीहरू उठायौं ।

        त्यसपछि कृणभीर कार्वाहीमा सहभागी भएर हाम्रो कम्पनीको एस.टि.एफ. को टोली पनि फर्किएर सम्पर्कमा आयो । नेपाल वान टेलीभिजनको पत्रकारले भिडन्तको प्रत्यक्ष प्रसारण गरेको सो लडाइँ  पनि नेपालकै इतिहासमा चर्चित भयो । कार्वाहीको होल कमाण्डिङ गरेका थिए हालका नेपाली सेनाका जर्नल याम बहादुर अधिकारी (क. प्रतीक्षा) ले । (संकीर्णता त जहाँ पनि हुने । क्रान्तिकारी भनेर पनि के गर्नु ? शुरुमा बासु स्मृति ब्रीगेडका एसाल्ट कमान्डरहरूले हाम्रो टोलीलाई कुन कुन हतियार चलाउन आउँछ ? भनेर सोधेछन । आखिर हाम्रो टोली पनि दर्जनौं लडाइँ लडेको अनुभवी टोली थियो । यस्तो बिडम्बना पनि  हुँदोरहेछ कहिलेकाहीँ । साथीहरूलाई सम्झाउने काम गरियो ।) साथीहरूले मोर्चामा राम्रै भूमिका निभाएछन । बहादुरिपूर्वक लडेछन । जीवन देवकोटा (क. श्रोत) ले त्रिशुलीको किनारमा सबैभन्दा पहिला हतियार टिपेको कुरा गरेका थिए । जे होस हाम्रो टोली लडाइँमा सहभागी भएर आयो । समग्रमा भन्नुपर्दा कार्वाही शानदार ढंगले सफल भयो । दुश्मनको लाईफलाईनमा गरिएको आक्रमण बिना क्षति सफल भयो । साथीहरूले हाम्रो टोलीलाई दुई थान ग्रिनेड दिएर पठाएछन । हामीले यसैमा चित्त बुझायौं । र क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न नयाँ राजनीतिक र फौजी योजना बनाएर त्रि-लक्ष्य अभियानलाई नै निरन्तरता दिईरह्यौं ।

३० अक्टोबर २०२०, पराईभूमी ।

+ posts
Language »