सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

१० दिनमा आइसोलेसन भवन बनाउन इँट्टा बोक्दै जनार्दन शर्मा

रुकुम। लकडाउनका बेला नेता के गर्दै छन्? सरकारमा हुनेहरू कोरोना नियन्त्रण तथा रोकथामका गतिविधिमा संलग्न छन्। सरकार बाहिर हुनेहरू सरकारलाई सुझाव दिइरहेका छन्, राहत वितरणमा सघाएका छन्, जनचेतनाका कामहरू गर्दैछन्।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद जनार्द्धन शर्मा रूकुम पश्चिममा छन्।पिपिईलगायत स्वास्थ्य सामग्री लिएर गृहजिल्ला पुगेका शर्मा दश दिनभित्र आठ कोठे आइसोलेसन भवन बनाउन इँट्टा बोक्दैछन्।

आठबीसकोट नगरपालिका रूकुममा आइसोलेसन बनाउने भवन भएन। पूराना भवन मर्मत गरे पनि प्रयोगमा ल्याउन सकिने देखिएन। शर्मासहित गाउँलेहरू हिजोआज नयाँ भवन बनाउन दिनरात जुटेका छन्। ३० घण्टामा भवनको डिपिसीको काम सकेका उनीहरूले झ्याल, ढोका राखेर गारो लगाउने काम गर्दैछन्।

‘मैले पनि इँट्टा बोकें,’ शर्माले भने, ‘कामदारलाई साथमा साथ दिन र उच्च मनोबलका साथ काम गर्न मैले पनि काम गरेको हुँ।’ दश दिनमा भवन निर्माण कार्य पूरा गरी प्रयोगमा ल्याउने गरी तीव्रताका साथ काम भइरहेको शर्माले बताए।

भवन अभाव भएकोले हतारहतार नयाँ भवन निर्माण गर्नुपरेको शर्माले जानकारी दिए। ‘अस्पतालका भवनमा बिरामी छन्, स्कुल भवनमा विदेशबाट आएकाहरूलाई राख्न क्वारेन्टाइन बनाइयो,’ उनले भने, ‘बिरामीको उपचार गर्न मिल्ने भित्रै शौचालय सहितका सुविधा सम्पन्न भवन अभाव भएपछि नयाँ बनाउनुपर्‍यो।’

नगरपालिका र गाउँलेहरूको मागअनुसार भवन निर्माण गरिएको उनले बताए। ‘सामान ल्याउन अलिअलि समस्या छ अरू काम तीव्रताका साथ भइरहेको छ,’ उनले भने, ‘सामाजिक दूरी कायम गरेर कामदारले काम गरिराखेका छन्।’

नगरपालिकाकी उपमेयर गीता नेपालीका अनुसार दैनिक १५/२० जना कामदारले भवन बनाउने काम गरिरहेका छन्। ‘१२ शैयाको आइसोलेसन भवन बनाउने काम भइरहेको छ,’ उपमेयर नेपालीले सेतोपाटीसँग भनिन्।

उनकाअनुसार प्रदेश सरकार र विभिन्न संघसंस्थाबाट खर्च जुटाएर भवन निर्माण सुरू गरिएको हो।‘प्रदेश सरकारबाट पनि पैसा आउने कुरा छ। संघसंस्थाले पनि चन्दा सहयोग गर्छु भनेका छन्,’ उनले भनिन्। संकटका बेला आफू गाउँ आएकोमा जनता खुसी भएको सांसद शर्माले बताए।

‘संकटमा गाउँ आउनुभयो, आत्मविश्वास बढेको छ भनेका छन्,’ शर्माले भने, ‘यहाँ गहुँ पाकेको छ। भित्र्याउनुपर्ने काम पनि छ। आठ/दश घरको एक समूह बनाएर मिलेर काम गर्ने तयारी गर्दैछौं।’ श्रम सहकारीमार्फत् गाउँमा काम गरिएको शर्माले बताए।

‘जनता नै शक्तिका स्रोत हुन्, सबै कुरा जनताबाट सिकौं,’ शर्माले भने, ‘संकटमा भाग्ने होइन डटेर सामना गरेर मात्र जित्न सकिन्छ।’ उनले चौरजहारी अस्पतालमा आवश्यक केही स्वास्थ्य सामग्री उपलब्ध गराएको पनि बताए।

‘कोरोनाबाट हुन सक्ने महामारी रोकथाम गर्न अस्पतालले राम्रो तयारी गरिरहेको छ,’ उनले भने, ‘ल्याव सञ्चालन गर्न सरोकारवालासँग छलफल भइरहेको छ।’
जिल्लाका छ वटै स्थानीय तहका प्रमुखसँग आफूले छलफल गरेको शर्माले बताए।

‘महाविपत्तिमा सरकार, पार्टी र जनतासँगसँगै परिचालन गर्ने योजना बनाएका छौं,’ शर्माले भने, ‘यहाँका स्वास्थ्यकर्मीहरू सँग पनि छलफल भयो। ज्वरोलगायतका बिरामी अस्पतालबाट अन्यत्रजस्तो यहाँ फिर्ता गरिएको छैन। स्वास्थ्य सामग्री चाहियो हामी उपचार गर्न तयार छौं भन्ने डाक्टरहरूको भनाइ छ।’

शर्माले सानोभेरी अस्पतालमा पनि गाउँपालिकाका तर्फबाट स्वास्थ्य सामग्री उपलब्ध गराएको जानकारी दिए। ‘आज पनि म गाउँकै समस्याहरू सुनेर समाधानका लागि जाँदै छु,’ शर्माले भने, ‘दूरी कायम गरेर भेटघाट गर्ने, जनताका समस्या सुन्ने र समाधानका लागि पहल गरिरहेको छु,’ शर्माले भने।

भर्खरै

सम्बन्धित खबर

Language »