२९ वर्षे सरकारी जागिरे जीवनलाई स्मरण गर्दा

भिम उपाध्याय ( पुर्व नेपाल सरकारको पुर्व सचिव )

बिस २०४५ साल साउन १ गतेदेखि ०७४ साल भदौ १३ गतेसम्म निजामति सिभिल ईन्जिनियरको तृतीय श्रेणीदेखि विशिष्ट श्रेणीको सचिवसम्मको २९ वर्षको निरन्तर दीर्घ सेवालाई आज स्मरण गर्न मन लाग्यो।

असाधारण बिदा लिईएन, अध्ययन बिदा लिईएन, बिरामी बिदा लिईएन, केजुअल बिदा ल्याप्स भईरहन्थे। फिल्ड भ्रमण गर्दा अफिसको नियमित काममा बाधा नपरोस् भनेर विदाको अवधि पारेर कार्यक्रम बनाईन्थ्यो। फिल्ड जॉदा सहयोगी साथै लगिन्थ्यो, पूर्वसूचना गरिन्थ्यो ताकि भेट्न वा गुनासो गर्न चाहनेहरूले सहजै भेट्न सकून्।

माथिल्लो तह चढ्दै जॉदा म चढ्ने गाडीमा र मेरो कार्यकक्षमा एयर कण्डिशनर हुन्थे तर ज्यादै समस्या परेको दिनमा बाहेक चलाउने गर्दिनथेँ। ताकि, मेरो घर र अफिसबीचमा स्ट्याण्डर्डमा फरक परेर आफ्नो बानी बिग्रन नपाओस् र राज्यको श्रोत पनि फजुल नहोस्।

लवाई खवाई जहिले पनि साधारण नै राखेँ ताकि पछिको जीवन कष्टमय नहोस्।

जागिरे सेवा कालमा जिवनमा २३ वटा मुलुकको अध्ययन भ्रमण गर्ने अवसर मिल्यो। सकेसम्म बिदेशबाट सिकेका ज्ञान सीपलाई कार्यक्षेत्रमा अपनाउन कोशिश पनि गरियो। आफ्नो कार्यक्षेत्र पूरै राष्ट्र नै भएकाले देशका ७३ जिल्लाको भ्रमण गरेर स्थानीय समस्या र समाधानका उपायको खोज गर्दै गईयो। दर्जनौँ योजना र प्रोजेक्ट बनाईयो। नेपालमा भएका सबै दातृसंस्था र बिदेशहरूसंग प्रोजेक्ट सहकार्य गरियो। एकसा एक बिदेशीबिज्ञहरूको संयोजन र नेतृत्व गरियो। बिसौँ ठूला बैदेशिक प्रोजेक्ट लागू गरियो। दुर्गमका विपन्न परिवारसंग घुलमिल एवं हातेमालो गरियो। ती क्षणहरूको स्मरण मात्रले त्यति नै आनन्द दिदोरहेछ।

पचासौँ हजार किमीका हजारौँ ग्रामीण कृषि सडक बनाईयो। ,दुर्गमका एकमात्र आधुनिक सुन्दर प्रविधिका संरचना स्वरूप ५,६ हजार झोलुंगे पुल बनाईयो। माईक्रो हाईड्रो, खानेपानीका हजारौँ योजना पूरा गरियो, ९५% जनताका घरघरमा चर्पी बनाउन सकियो। सरसफाईमा प्राप्त सफलताले झाडापखाला र हैजाले मर्ने केसहरू देख्न नपर्ने अवस्थामा मुलुकलाई पुगाईयो।

२३ मुलुकको भ्रमणबाट तुलनात्मक ग्रामीण पूर्वाधार विकासका आधारमा देशमा धेरै नीति, रणनीति र योजना तर्जुमा गर्न सफल पनि भएको महसुस हुन्छ। जीवनभरि ग्रामीण विकास ईन्जिनियर बनेर सेवाबाट बाहिरिदा गरिब ग्रामीण जनतासंग नाता र माया प्रगाढ बनेको महसुस भइरहन्छ। मलाई गाउँमा पुग्दा बढी रमाईलो अनुभूति हुनेगर्छ। बिदेशमा पनि गाउँ घुम्ने कार्यक्रमलाई नै प्राथमिकता दिईन्थ्यो। भ्रमण गरिएका यी देशहरू हुन्-

१. जापान २. बंगलादेश ३. बेलायत ४. केन्या ५. तान्जानिया ६. इथियोपिया ७. भुटान ८. स्वीट्जरल्यॉण्ड ९. फिनल्यॉण्ड १०. मोनाको ११. टर्की १२. अमेरिका १३. चीन १४. भारत १५.श्रीलंका, १६. थाईल्यॉण्ड १७. कम्बोडिया १८. मलेशिया १९. इन्डोनेशिया २०. फ्रान्स २१.अष्ट्रेलिया २२. भियतनाम २३. ईटली ।

जागिरको लामो अवधिमा निडर, जिम्मेवार र कर्तव्यपरायण भई मनले जे ठीक ठान्यो गरियो, डर धाक मानिएन। कसले के भन्ला, रिसाउला, खुसाउला नभनी मुलुक र जनताको सोझो ठानी काम गरियो । कति गर्न सकियो वा सकिएन त्यसलाई वास्ता पनि गरिएन । विवेक र ब्रह्मले सही मानेको गरियो, नमानेको विरोध गरियो, आलोचना गरियो, लेखियो, बोलियो, प्रतिरोध वा विद्रोह गरियो, मनमा पकाएर गुम्साएर राखिएन ।

सायद, त्यसैले अहिले जागिर पश्च्यात् ओकल्न, मन खोल्न पर्ने केही कुरा मनमा बचेकै छैन । जागिर सकिएपछिका दिन र जागिरे दिन खासै फरक अनुभूति नै भैरहेको छैन । कसैलाई दोष आरोप लगाउनु पनि छैन किनभने आफूले जति गर्न सकियो गरियो, जे सकिएन भएन । गर्दैमा वा चाहदैमा अपेक्षित नतिजा आउछ भन्ने पनि हुदैन किनभने नतिजा ल्याउनमा धेरै दृष्य अदृष्य फ्याक्टरहरू संलग्न भैरहेका हुन्छन् । कर्ममात्र आफ्नो हातमा छ, फल हुदैन भनेर सदा मनमा लिईयो।

अहिले केही कसैप्रति गुनासो छैन । तर गर्नुपर्ने धेरैधेरै अथाह काम बॉकी देखिन्छन् । तिनका बारेमा के गर्ने कसरी गर्ने भन्नेमा गहन चिन्तन भने जारी छ।

जागिरको कार्यक्षेत्र पूरा राष्ट्र नै थियो र विषयक्षेत्रका सीमा भने सीमित थियो।

अहिले कार्यक्षेत्र र विषय सीमा सीमाहीन भएको छ। कसैको अदबमा वा खटनमा बस्न पनि पर्दैन। मनमौजी हुन पाएको छु। कसैसंग लेनादेना छैन, आश पनि छैन। डर पनि छैन, लोभ पनि छैन।

अहिले दु:खी पीडित विपन्नलाई सके केही दिने हो, नसके दयाभाव र करूणा दर्शाउने हो। कर्म र भाग्य दाहिने हुदॉसम्म कसैले केही बिगार्न सक्ने होईन, जबसम्म आफैले आफैमाथि घात गरिदैन। कसैले कसैलाई बनाईदिने पनि हैन। सबै आफ्नै हात हो। बस दिमाग, मन र हातबीच समन्वय रहनुपर्छ।

+ posts
Language »