सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अझै उठेन काठमाडौको फोहोर

काठमाडौं । काठमाडौं महानरपालिका र नुवाकोट सिसडोलका स्थानीयबीचको वार्ता सहमति भइ भदौ १६ गतदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न थालेको थियो । करिब १ महिनापछि उपत्यकाको सडक, चोक तथा गल्लीमा थुपारिएको फोहोर उठाउन सुरु गर्दा केही दिनमा सबै फोहोर उठाइसक्ने अपेक्षा उपत्यकाबासीको थियो । तर, फोहोर उठाउन सुरु भएकै दुईसाता वित्दा पनि उपत्यकाको फोहोर अझै उठ्न सकेको छैन ।

फोहोरमैला व्यवस्थापन ऐन २०६८ ले फोहोरमैला व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारलाई दिएको छ । तर, भक्तपुर नगरपालिका बाहेक उपत्यकाका सबै नगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले वाग्मती किनारा, धोबीखोला किनारालाई फोहोर थुपार्ने ठाउँ बनाएको छ । महानगरपालिकाले भदौ १६ गतेदेखि फोहोर उठाउने बेला नै एक सातामा फोहोर उठाइसक्ने बताएको थियो । तर, फोहोर उठाउन नसकेर वाग्मती किनारा र धोबीखोला किनारामा फोहोरका गाडीहरु राखिएका छन् ।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभागले एकदुई दिनमा फोहोर उठिसक्ने दाबी गरेको छ । विभागका प्रमुख हरिकुमार श्रेष्ठ भदौ १६ गतेदेखि निरन्तर फोहोर उठिरहेको दाबी गर्छन् । ‘‘वर्षायामको समय भएकाले केही समस्या आएको हो । निरन्तर फोहोर उठिरहेको छ । वाग्मती र धोबीखोला किनारामा लामो समय जम्मा भएको फोहोर डोजरले उकासेर व्यवस्थापन स्थलसम्म पुगिरहेकै छ । पहिले सडक अवरुद्ध भएकाले लामो समय फोहोर उठाउन सकिएको थिएन,” उनले भने ।

विभागका अनुसार भदौ २१ गते पुन ठूलो वर्षा हुँदा सिसडोल ल्याण्डफिल साइटको करिब २ सय मिटर कच्ची सडक अवरुद्ध भएको थियो । उक्त समयमा काठमाडौंका बस्तिहरु पनि डुवानमा परेका थिए । श्रेष्ठका अनुसार कच्ची सडकमा वर्षा हुँदा त्यहाँसम्म फोहोरका गाडी पुर्याउने अवस्था थिएन । ‘‘घाम लागेको समयमा दैनिक ७५ को हाराहारीमा फोहोरका गाडी सिसडोलसम्म पुर्याउन सकिएको छ । अबको एकदुई दिनमा सबै फोहोर उठिसक्नेछ,” उनले भने ।

महानगरले करिब ४६२ रोपनी क्षेत्रमा फैलिएको ल्यान्डफिल साइटमा १६ वर्षदेखि फोहोर व्यवस्थापन गर्दै आएको छ ।

सिसडोलको विकल्पमा बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्नेगरी सहरी विकास मन्त्रालयले स्यानिटरी ल्याण्डफिल साइट तयार बनाइरहेको छ । मन्त्रालयले २ किलोमिटर दूरीमा फोहोर व्यवस्थापन गर्ने ल्याण्डफिल साइट तयार पारिरहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माका अनुसार बन्चरेडाँडामा बनिरहेको ल्यान्डफिल्ड साइट एक हजार ७९२ रोपनीमा फैलिएको छ । ‘‘काठमाडौंबाट अहिलेकै अवस्थामा फोहोर निस्किए बन्चरेडाँडामा ५० वर्षसम्म फोहोरको व्यवस्थापन गर्न सकिनेछ । तत्काल बन्चरेडाँडाको ८० रोपनीमा फोहोर व्यवस्थापन गर्ने र बाँकी भू–भाग विस्तार गर्दै लैजाने मन्त्रालयको तयारी छ,” उनले भने ।

महानगरले बन्चरेडाँडासम्म गाडी पुग्ने पूर्वाधार निर्माणको काम सम्पन्न नभइसकेकाले अझै केही समय लाग्ने जनाएको छ । महानगरपालिकाले बन्चरेडाँडामा फोहार व्यवस्थापन गर्ने तयारी गरिरहेको छ । तर, महानगरले फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समाधान नगरेसम्म फोहोर फाल्न नदिने घोषणा गरेका छन् । बन्चरेडाँडा–सिसडोल ल्याण्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन समितिले असोज २ गते दबाबपूर्ण कार्यक्रम गर्ने घोषणा गरेको छ ।

मन्त्रालयले सिसडोलको विकल्पका रुपमा २०६३ सालमा बन्चरेडाँडा निर्माणको काम सुरु गरेको थियो । उपत्यकाबाट दैनिक एक हजारदेखि १२ सय टनसम्म फोहोर निस्कन्छ । उक्त फोहोरलाई अहिलेसम्म महानगरले सिसडोलमै व्यवस्थापन गर्दै आएको छ । बन्चरेडाँडाको ल्यान्डफिल्ड साइट सञ्चालनमा आएमा करिब ५० वर्षसम्म फोहोर व्यवस्थापन गर्न सकिने अनुमान गरिएको छ ।

यस विषयमा महानगरले समितिसँग छलफल गरेर मात्रै बन्चरेडाँडामा फोहोर व्यवस्थापन गरिने जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »