सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अत्तालिनुपर्ने अवस्था छैनः डाक्टर शेरबहादुर पुन

काठमाडाैँ । विश्वभर महामारी बनिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि एक युवतीमा देखिएपछि यतिबेला देशभर त्रास बढेको छ।

यसअघि पनि चीनको उहानबाट फर्किएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरस संक्रमण पुष्टि भएकै हो। तर त्यो संक्रमणको सुरुवात समय, उपचारपछि उनी निको भएको र उनबाट अरूलाई संक्रमण नसरेकाले खासै धेरै चर्चा भएन।

त्यसयता शंका गरिएका साढे ५ सय जनाजतिको स्वास्थ्य परीक्षण गरिए पनि कोरोना संक्रमण पाइएको थिएन। जसका कारण नेपालमा कोरोनाको विश्वव्यापी हिसाबले केही त्रास देखिए पनि खासै ठूलो चिन्ता थिएन।

तर जब सोमबार जनस्वास्थ्य तथा स्वास्थ्य मन्त्रालयले नै पत्रकार सम्मेलन गरी फ्रान्सबाट आएकी एक युवतीमा कोरोना संक्रमण देखिएको जानकारी गराएपछि नेपालीमा त्रासको मात्रा ह्वात्तै बढेको छ।

विदेशमा दिनप्रतिदिन सयौंको संख्यामा मानिसको मृत्यु भइरहेको खबर सुनिरहेका नागरिक अब नेपालमा पनि त्यस्तै हुन्छ कि भनेर त्राहिमाम भएका हुन्।

तर तिनै संक्रमित युवती उपचाररत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डाक्टर शेरबहादुर पुन भने सतर्कता अपनाउन जरुरी भए पनि धेरै अत्तालिनुपर्ने अवस्था नरहेको बताउँछन्।

उक्त अस्पतालका अनुसन्धान एकाइका प्रमुखसमेत रहेका डा। पुनले मंगलबार बिहान नेपालखबरसँग कुरा गर्दै भने, ‘केस थपिँदै गएपछि मानिस आत्तिनु स्वाभाविकै हो। तर यसमा मेरो हेराइ फरक छ। यस मानेमा कि अहिले जुन संक्रमण देखिएको छ, त्यो समुदायस्तरबाट फैलिएको भए व्यापक बन्ने हो कि भनेर डराउनुपर्थ्याे तर त्यस्तो नभएर विदेशबाट आएको एक जनामा देखिएको हो। त्यसकारण धेरै डराउनुपर्ने अवस्था म देख्दिनँ।’

डा। पुन यो पहिलेभन्दा अझ संयमित र व्यवस्थित ठान्छन्। पहिले भनेको सुरुको अवस्थामा चीनको उहानबाट फर्किएका एक विद्यार्थीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। जो अहिले स्वस्थ भइसकेका छन्।

उनीभन्दा अहिले संक्रमित युवती बढी सचेत र इमान्दार भएको डा। पुनको बुझाइ छ।

‘अहिलेकी युवती इमान्दारितासाथ अस्पताल आइन्, परीक्षण गराइन् र कोरोना पोजेटिभ देखिएपछि तुरुन्त पुन: अस्पताल आएर बसेकी छन्,’ डा। पुनले भने, ‘उनले जुन इमान्दारिता देखाएकी छन्, लापर्बाही पनि गर्न सक्थिन्, त्यसो भएको भए स्थिति भयावह पनि हुन सक्थ्यो, यस अर्थमा उनको इमान्दारितालाई म धन्यवाद दिन्छु।’

डा। पुनका अनुसार कोरोनाबाट संक्रमित पहिलो नेपालीको स्वास्थ्य अवस्था जति नाजुक थियो, अहिलेकी संक्रमित युवतीको अवस्था त्यस्ताे नभएकाे अर्थात् एकदमै सामान्य छ। त्यस्तो सिकिस्तजस्तै मानिस त उपचारपछि ठीक भए भने अहिलेकी युवती उपचारपछि पूर्ण स्वस्थ हुनेमा डा। पुन विश्वस्त छन्।

पहिलेका बिरामीका सम्पर्कमा रहेका कोहीमा पनि कोरोना संक्रमण नफैलिएकाले अहिले पनि यी संक्रमित युवतीबाट धेरै जनामा फैलिएको होला भनेर अत्तालिनुपर्ने अवस्था नरहेको उनको दाबी छ।

तर सतर्कता भने कडा रूपमा अपनाउनुपर्ने उनको सुझाव छ। अहिले सरकारले गरेको देशै लकडाउन पनि अत्यन्त राम्रो कदम भएको डा। पुन बताउँछन्।

‘यस्तो सतर्कतालाई अझ कडा बनाउँदै लानुपर्छ,’ उनले भने, ‘अहिले गरिएको लकडाउनले पनि भिडभाड, भोजभतेर हुन पाउँदैन, त्यसले यो संक्रमण फैलिने जोखिम घटाएको छ।’

तर पनि विदेशमा जस्तै यहाँ पनि महामारी आउँछ कि भनेर सबै तरिकाले तयारी अवस्थामा रहन भने आवश्यक रहेको उनले बताए।

जानकारीका लागि नेपालखबरबाट साभार

भर्खरै

सम्बन्धित खबर

Language »