सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अन्तर्राष्ट्रिय महिला दिवासकाे शुरूवात कहिले र कसरी

संसारभरी ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवास मनाइन्छ तर यसकाे शुरूवात कहिले र कसरी भयाे भन्ने विभिन्न तर्कहरू भएता पनि करिब एक शताब्दी अघि समाजवादी अान्दाेलनमार्फत् भएकाे थियाे ।

आज यसको स्वरुप निकै परिवर्तन भइसकेको छ । संसारका हरेक भागमा महिला दिवस विभिन्न तरिकाले मनाइन्छ ।

तपाईंले अन्तर्राष्ट्रिय महिला दिवसबारे मिडियामार्फत् थाहा पाउनुभएको होला वा कतिले साथीमार्फत् यसबारे जानकारी पाउनुभएको होला । तर यो अन्तर्राष्ट्रिय महिला दिवस किन मनाइन्छ त ?

यो कुनै उत्सव हो कि विरोधको नयाँ तरिका ? र के यसै गरी अन्तर्राष्ट्रिय पुरुष दिवस पनि मनाइन्छ त ?

पछिल्लो एक शताब्दीभन्दा अघिदेखि संसारभरीका मानिसहरुले ८ मार्चलाई महिलाका लागि विशेष दिनको रुपमा मनाउँदै आएका छन् । हामी तपाईंलाई यसको कारण के हो भनेर जानकारी दिँदैछौं ।

१। यसको सुरुवात कहिले भएको थियो ?

अन्तर्राष्ट्रिय महिला दिवस वास्तवमा मजदुर आन्दोलनको उपज हो जसलाई पछि संयुक्त राष्ट्रले वार्षिक आयोजनाको मान्यता दियो ।

अन्तर्राष्ट्रिय महिला दिवस आजभन्दा १ सय १२ वर्ष अघि अर्थात् सन् १९०८ मा मनाउन सुरु भएको थियो । त्यतिबेला अमेरिकाको न्यूयोर्क शहरमा करिब १५ हजार महिला सडकमा उत्रिएका थिए ।

यी महिलाले कामको घण्टा, राम्रो तलब र भोट हाल्न पाउने अधिकारका लागि माग गर्दै प्रदर्शन गरिरहेका थिए ।

महिलाको यो विरोध प्रदर्शनको एक वर्षपछि अमेरिकाको सोशलिस्ट पार्टीले राष्ट्रिय महिला दिवस मनाउने घोषणा गरेको थियो ।

महिला दिवसलाई अन्तर्राष्ट्रिय स्तरमा मनाउने विचार क्लारा जेटकिनको थियो ।

क्लारा जेटकिनले सन् १९१० मा विश्व स्तरमा महिला दिवस मनाउने प्रस्ताव पेश गरेकी थिइन् ।

क्लाराले त्यतिबेला युरोपेली देश डेनमार्कको राजधानी कोपेनहेगेनमा कामकाजी महिलाको अन्तरराष्ट्रिय सम्मेलनमा उपस्थिती जनाएकी थिइन् ।

उक्त सम्मेलनमा त्यतिबेला सय जना महिलाको उपस्थिती थियो, जो १७ देशबाट आएका थिए । यी सबै महिलाले सर्वसम्मतिमा क्लाराको यो प्रस्तावलाई पारित गरेका थिए ।

पहिलो अन्तर्राष्ट्रिय महिला दिवस सन् १९११ मा अष्ट्रिया, डेनमार्क, जर्मनी र स्विटजरल्याण्डमा मनाइएको थियो ।

यसको शताब्दी समारोह सन् २०११ मा मनाइएको थियो । त्यसकारण यस वर्ष हामी १ सय ९ औं अन्तरराष्ट्रिय महिला दिवस मनाइरहेका छौं ।

अन्तर्राष्ट्रिय महिला दिवसले औपचारिक मान्यता सन् १९७५ मा त्यतिबेला पायो जब संयुक्त राष्ट्र संघले यसलाई मनाउन सुरु गर्‍यो ।

अन्तर्राष्ट्रिय महिला दिवसलाई सन् १९९६ मा एउटा थीम अनुसार मनाइएको थियो । त्यतिबेला संयुक्त राष्ट्रले यसको थीम बनाएको थियो – ‘अतितको उत्सव, भविष्यको योजना ।’

यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको थीम निश्चित गरिएको छ – ‘एक सशक्त विश्वमा समानतामा आधारित दुनियाँ ।’

यसमार्फत् महिला र पुरुषका लागि समान अधिकार सम्पन्न संसारको निर्माणमा सबै देशका समस्त नागरिकलाई अपिल गरिँदै छ ।

आज अन्तर्राष्ट्रिय महिला दिवस एउटा यस्तो दिन बनेको छ जसमा हामी समाजमा, राजनीतिमा र अर्थव्यवस्थाको क्षेत्रमा महिलाको सफलताको उत्सव मनाउँछौं ।

यसको मद्दतले आज पनि संसारमा पुरुष र महिलाबीच कति असमानता छ, कति ठूलो खाडल छ भनेर जानकारी दिइन्छ ।

२। अन्तर्राष्ट्रिय महिला दिवस कहिले छ ?

संसारभरी अन्तरराष्ट्रिय महिला दिवस ८ मार्चमा मनाइन्छ ।

यद्यपि, जब अमेरिकी महिला अधिकार कार्यकर्ता क्लारा जेटकिनले अन्तरराष्ट्रिय महिला दिवस मनाउने प्रस्ताव राखेकी थिइन् उनले यसका लागि कुनै दिन निश्चित गरेकी थिइनन् ।

जब सन् १९१७ मा रुसमा महिलाले ‘ब्रेड एण्ड पीस’ को माग गर्दै चार दिनसम्म हड्ताल गरे तब यसले औपचारिकता पायो ।

त्यसपछि रुसका बादशाह जार निकोलसले आफ्नो पद छोड्नु पर्‍यो । तसर्थ रुसमा बनेको अस्थायी सरकारले महिलालाई भोट गर्ने अधिकार दियो ।

जब रुसमा यो हड्ताल भएको थियो तब त्यहाँ जुलियन क्यालेन्डर चल्थ्यो । जसअनुसार उक्त दिन फेब्रुअरी २३ तारिख थियो । यस्तै, संसारका अन्य देशमा प्रचलित ग्रेगरियन क्यालेन्डरमा त्यो मार्च ८ तारिखको दिन थियो । त्यसकारण त्यतिबेलादेखि अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा नै मनाउन थालियो ।

३। के अन्तरराष्ट्रिय पुरुष दिवस पनि हुन्छ ?

हो । अन्तर्राष्ट्रिय पुरुष दिवस पनि हुन्छ जुन नोभेम्बर १९ मा मनाइन्छ । यसको आयोजना सन् १९९० को दशकबाट सुरु भएपनि अहिलेसम्म यसले संयुक्त राष्ट्रबाट मान्यता भने पाएको छैन ।

यद्यपि, संसारभरी ६० भन्दा बढी देशमा मानिसहरुले अन्तरराष्ट्रिय पुरुष दिवस मनाउँछन् जसमा ब्रिटेन पनि समावेश छ । यस दिन ‘पुरुष र किशोरको स्वास्थ्यमा ध्यान दिनु, लैङ्गिक सम्बन्धलाई उत्कृष्ट बनाउनु, लैङ्गिक समानतामा जोड दिनु र समाजमा नकारात्मक भूमिका निभाउने पुरुषको प्रचार गर्नु ’ लगायतका मुद्दा उठाइने गरिन्छ ।

सन् २०१९ मा अन्तर्राष्ट्रिय पुरुष दिवसको थीम थियो – पुरुष र किशोरको जीवनमा परिवर्तन ल्याउनु ।

४। संसारभरी अन्तर्राष्ट्रिय महिला दिवस कसरी मनाइन्छ ?

धेरैजसो देशमा अन्तर्राष्ट्रिय महिला दिवसमा राष्ट्रिय अवकाश हुन्छ । यसमा रुस पनि समावेश छ जहाँ ८ मार्च को लगभग तीन चार दिन अघिदेखि फूलको बिक्री दुई गुणा बढी हुन्छ ।

चीनमा धेरैजसो महिलालाई ८ मार्चमा आधा दिनको छुट्टी दिइन्छ । यद्यपि, धेरैजसो कम्पनीले आफ्ना महिला कर्मचारीलाई यो दिन आधा दिनको सरकारी छुट्टी दिँदैन ।

इटलीमा अन्तर्राष्ट्रिय महिला दिवसलाई ला फेस्टा डेला डोनाको नामले मनाइन्छ ।

महिलालाई मिमोसाको फूल दिइन्छ । यो परम्पराको सुरुवात कसरी भयो, त्यो त स्पष्ट छैन तर दोस्रो विश्वयुद्ध पछि इटलीको राजधानी रोममा महिलालाई अन्तर्राष्ट्रिय महिला दिवसमा मिमोसाको फूल दिने चलनको सुरु भएको अनुमान गरिन्छ ।

अमेरिकामा मार्चको महिनालाई महिलाको इतिहासको महिनाको रुपमा मनाउने गरिन्छ । हरेक वर्ष यो दिन राष्ट्रपतिले एउटा आदेश जारी गरेर अमेरिकी महिलाको उपलब्धिको बखान गर्ने गर्छन् ।

५। अन्तर्राष्ट्रिय महिला दिवसमा यो वर्ष के–के भइरहेको छ ?

यो वर्ष अन्तरराष्ट्रिय महिला दिवस अभियानले #EachForEqual थीम छानेको छ । यो विचार सामूहिक व्यक्तिवादमार्फत् लिइएको हो ।

अभियान अन्तर्गत के हुनेछ, यसलाई यसरी परिभाषित गरिएको छ –

‘हामी सबै एक सम्पूर्ण विश्वको हिस्सा हौं । हाम्रो व्यक्तिगत काम, संवाद, व्यवहार र सोचले हाम्रो समाजमा व्यापक असर पार्छ । त्यसकारण हामी सबै मिलेर एउटा ठूलो परिवर्तन ल्याउन सक्छौं । हामी सबैले मिलीजुली एक लैङ्गिक रुपमा समान संसारको रचना गर्न सक्छौं ।’

पछिल्ला केही वर्षमा हामीले महिलाको अन्दोलन व्यापक स्तरमा पुगेको देखेका छौं ।

सन् २०१७ मा अक्टोबरमा लाखौं मानिसले ह्याशट्याग #MeToo अभियान सोसल मिडियामा सुरु गरेर शोषण र यौन हिंसाको आफ्नो अनुभवविरुद्ध आवाज उठाए । यी महिलाले संसारभरीका महिलाको यौन शोषण बन्द हुनुपर्ने माग गरे ।

सन् २०१८ मा पनि #MeToo संवाद विश्व स्तरमा जारी रह्यो । फ्रान्स, चीन, दक्षिण कोरिया, भारतजस्ता देश महिलाको यो अभियानको हिस्सा बन्यो र उनीहरुले स्थितीमा परिवर्तनको मागलाई तीब्र पारे । अमेरिकामा भएको मध्यावधि चुनावमा रेकर्ड स्तरमा महिलाले जीत हासिल गरे ।

गत वर्ष उत्तरी आयरल्याण्डलाई गर्भपतनलाई अपराधको दायराबाट अलग गरियो । यसै गरी अफ्रीकी देश सुडानमा महिलालाई सार्वजनिक स्थानमा कस्तो कपडा लगाउने, कस्तो व्यवहार गर्ने भन्ने जुन कानून निश्चित थियो, त्यसमा परिवर्तन गरियो ।

भर्खरै

सम्बन्धित खबर

Language »