सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अब नेकपा ”फिल्ड’मा,प्रदेश–५ को बाँकेको कोहलपुरबाट सुरु

काठमाडौँ , तत्कालीन एमाले र माओवादीबीच पार्टी एकताको २१ महिनापछि एकीकृत पार्टी नेकपा ‘फिल्ड’मा पुगेको छ । यो अवधिभर नेकपाको मूल नेतृत्व पार्टी एकीकरणको काम र बैठकका लागि राजधानीमै व्यस्त थियो । यद्यपी एकीकरणका केही काम अझै बाँकी छन् ।

तल्लो तहका कार्यकर्तासम्म पुग्ने नेकपाको तीन महिने विशेष अभियानका कार्यक्रम आइतबारबाट सुरु भएका छन् । पार्टी एकतापछि नेकपाले कार्यकर्ता तहमा चलाउन थालेको यो पहिलो अभियान हो ।

शीर्ष नेताकै उपस्थितिमा ‘पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार विशेष अभियान’को तयारीका रुपमा प्रदेशस्तरीय प्रशिक्षण नेकपाले सुरु गरेको हो । प्रदेश–५ को बाँकेको कोहलपुरबाट सुरु भएको प्रशिक्षणमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु पुगेका छन् ।

प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पार्टी एकताको विषयमा कार्यकर्ता र नेतृत्वबीच लामो समयदेखि छलफल नहुँदा द्वविधा उत्पन्न भएको भन्दै भेला प्रशिक्षण सुरु गरेको बताएका छन् । पार्टी एकताका विषयमा कुनै द्वविधा नभएको भन्दै दाहालले पार्टी सुदृढिकरण र संगठन विस्तार नै प्रशिक्षणको मुख्य एजेन्डा रहेको बताए ।

नेकपाको सात भौगोलिक र गैरभौगोलिक क्षेत्रमा चल्ने अभियानको तयारी बैठक तथा भेलामा पार्टीका शीर्ष नेता जाने कार्यक्रम तय भएको थियो । प्रदेश ५ को प्रशिक्षण कार्यक्रममा महासचिव विष्णु पौडेल,सचिवालय सदस्य रामबहादुर थापा, प्रदेश ५ का इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोख्रेललगायतका सोही प्रदेशबाट प्रतिनिधित्व गर्ने स्थायी कमिटीका नेताहरु सहभागी थिए ।

नेकपाले फागुन महिनालाई अभियानको तयारी महिना भनेको छ । यसैअनुसार हरेक प्रदेशमा प्रदेशस्तरीय भेला र बैठक आयोजना हुँदैछन् । प्रादेशिक भेला र बैठक फागुन ४ देखि सुरु भएर फागुन २१ मा सकिनेछन् । चैत्र १ बाट जिल्ला जिल्लामा अभियान सञ्चालन गर्ने योजना नेकपाको छ ।

प्रदेश ५ मा फागुन ४ गते भेला र ५ गते बैठक, कर्णाली प्रदेशमा फागुन ६ र ७, सुदूरपश्चिम प्रदेशमा ९ र १०, गण्डकी प्रदेशमा १२ र १३, वागमती प्रदेशमा १५ र १६, प्रदेश २ मा १८ र १९ र प्रदेश १ मा २० गते भेला र २१ गते बैठक गर्ने कार्यसूची छ । विशेष प्रदेश र सम्पर्क समन्वय विशेष कमिटीको पनि छुट्टै भेला गर्ने तयारी छ ।

यी भेला तथा बैठकमा नेता–कार्यकर्तालाई अभियानको उद्देश्यबारे प्रशिक्षण दिइनेछ । वैचारिक,राजनीतिक,भावनात्मक एकता सुदृढ गर्दै सरकारका सकारात्मक कामको प्रचार गर्ने र जनसम्बन्ध विस्तार गर्ने अभियानको मुख्य उद्देश्य छन् ।

नेकपा नेताहरुका अनुसार अभियानकै क्रममा तत्कालीन् एमाले र माओवादीका पार्टी सदस्यको अभिलेखसहित पार्टी सदस्यताको नवीकरण हुनेछ । यसबाहेक यो अभियानमा नयाँ सदस्यतासमेत वितरण हुने बताइएको छ । आठ लाख सदस्य नेकपाको दाबी छ ।केन्द्रीय सचिवालय,सबै केन्द्रीय सदस्य,प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य र स्थानीय कमिटी परिचालन मार्फत् सबै ८ लाख सदस्यलाई अभियानमा जोड्ने नेकपाको तयारी छ ।

अभियानसम्बन्धी कार्ययोजना माघ १५ देखि १९ सम्म बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकबाट पारित भएको थियो । फागुनमा तयारी र असार–साउनमा समीक्षा गरेर अभियान सम्पन्न गर्ने नेकपाको योजना छ । अभियानमार्फत् पार्टीभित्रका गुटबन्दी निरुत्साहित गर्ने नेकपाको योजना छ ।

भर्खरै

सम्बन्धित खबर

Language »