काठमाडौँ। संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणमा उल्लेख्य कमी आउन सकेको छैन । अघिल्ला केही दिनहरुमा दैनिक नयाँ संक्रमितको संख्यामा कमी आएको भए पनि यो संख्या अझै बढी नै रहेको छ ।
सोमबार मात्र अमेरिकामा कोरोनाका २४ हजार ७१३ नयाँ संक्रिमत फेला परेका छन् । यससँगै अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १२ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोना संक्रमितको कुल संख्या १२ लाख १२ हजार ८३५ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।
यसअघि अप्रिल २७ मा मार्च ३० यताकै सबैभन्दा कम २३ हजार १९६ नयाँ संक्रमित भेटिएका थिए । तर पछिल्ला दिनहरूमा फेरि दैनिक संक्रमित संख्यामा
उतारचढाव आइरहेको छ । आइतबार त्यहाँ २७ हजार ३४८ नयाँ संक्रमित थपिएका थिए ।
अमेरिकामा कोरोना संक्रमणका कारण अहिलेसम्म ६९ हजार ९२१ को ज्यान गइसकेको छ । सोमबार मात्र त्यहाँ १ हजार ३२४ को ज्यान गयो । आइतबार भने यो संख्यामा कमी आएको थियो, त्यसदिन कोरोनाका कारण अमेरिकामा १ हजार १५३ को मृत्यु भयो ।
साथै कुल संक्रमितमध्ये १ लाख ८७ हजार ५५३ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । बाँकी ९ लाख ५५ हजारभन्दा धेरै संक्रमित हाल उपचाररत छन्, जसमध्ये १६ हजारभन्दा बढी केस जटिल अवस्थाका रहेको जनाइएको छ ।
सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा भने पछिल्ला केही दिनमा कोरोना संक्रमणका घटना र दैनिक मृत्युमा कमी देखिएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २९६ रहेको छ ।
न्यूयाेर्कमा साेमबार ३ हजार ४९१ नयाँ बिरामी फेला परेका छन् । यससँगै न्यूयोर्कमा मात्रै कोरोना संक्रमित संख्या ३ लाख २७ हजार ३७४ पुगेकाे छ । हालसम्म त्यहाँ २४ हजार ९४४ जनाले ज्यान गुमाइसकेका छन् ।
यसैबीच अमेरिकाले कोरोना भाइरस संक्रमणको महामारीसँग जुध्न आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन खर्ब डलर ऋण लिने भएको छ । ऋण लिनका लागि सरकारले स्वीकृति दिइसकेको छ । यो ऋण रकमलाई स्वास्थ्य सेवा र राहत प्याकेजमा उपयोग गरिने छ । सन् २००८ मा वित्तीय संकटको बेला अमेरिकाले लिएको कर्जाको तुलनामा यो पाँच गुणा बढी हो ।
अब अमेरिकाको कूल ऋण २५ खर्ब डलर पुगेको छ । अर्थव्यवस्थाको करिब १४ प्रतिशत रकम अमेरिकाले कोरोना भाइरससँग जुध्न दिइने आर्थिक प्याकेजमा खर्च गर्दैछ । सन् २०१९ को डिसेम्बर अन्तिम सातादेखि चीनको वुहानबाट सुरु भएको कोरोनाको महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा बढी प्रभावित १६ राज्यको पछिल्लो अवस्था-