सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिका कोरोना : मृत्यु हुनेको संख्या एक लाख नाघ्यो,१७ लाख संक्रमित

काठमाडौँ। अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिर्सोस सेन्टरका अनुसारस बिहीबार बिहानसम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३ सय ९६ पुगेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब १७ लाख पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये करिब ४ लाख निको भएका छन् ।

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमण र मृत्युका केसहरु रहेकाे संयुक्त राज्य अमेरिकामा पनि दैनिक मृतक संख्या फेरि ह्वात्तै बढेकाे छ । साेमबार काेराेनाबाट ५०५ जनाकाे मृत्यु भएकाे थियाे भने मंगलबार फेरि बढेर ७७४ जनाकाे मृत्यु भयाे । तर बुधबार पुनः दाेब्बरले बढेर याे संख्या १ हजार ५३५ पुगेकाे छ ।

गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा जनवरी २१ मा पहिलो पटक देखिएको थियो । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिकामै मृत्यु भएको छ । बीबीसीका उत्तर अमेरिकी संवाददाता जोन सोपेलका अनुसार कोरिया, भियतनाम, इराक र अफगानिस्तानमा गरी भएको ४४ वर्षको युद्धमा भन्दा बढी अमेरिकी नागरिकको यस भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

छिमेकी मुलुक भारत पनि कोरोना भाइरसको संक्रमण धेरै भएका देशमध्येमा पर्छ । बिहीबार बिहानसम्म भारतमा एक लाख ५८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । भारतमा ६७ हजारभन्दा बढी निको भएका छन् ।

कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भने संक्रमण नियन्त्रणउन्मुख भएको बताइन्छ । चीनमा अहिलेसम्म ८४ हजार १ सय ४ जनामा संक्रमण पुष्टि भएको छ । चीनमा अहिलेसम्म ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये ७९ हजार ३ सय ६६ जना निको भएका छन् । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार अहिले चीनमा संक्रिय केसहरु करिब सयको हाराहारीमा मात्रै रहेको छ । पछिल्ला केही दिन यता चीनमा संक्रमण देखिएको छैन ।

कोरोना भाइरसको संक्रमणबाट बिहीबार बिहानसम्म विश्वका विभिन्न देशमा गरी ३ लाख ५५ हजार ५ सय ७५ जनाको मृत्यु भएको छ । त्यस्तै ५६ लाख ९० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये करिब २३ लाख ५० हजार निको भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »