सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिका भनेर मात्रै के गर्नु बाबै ?

अमेरिकाकाे न्यूयोर्क शहरकाे अवस्था कस्ताे छ ? सामाजिक संजालमा साहित्यकार नदिया लिभाङले स्टाटस लेखेकाे छ । उहाँकाे स्टाटसलाई जस्ताकाे तस्तै साभार……..

पापी पेटको सवाल ——
धेरैपछि रायोको साग खाने तिर्सना जाग्यो एक्कासी । आज नखाए त मरि नै जान्छु जस्तो भो । मास्क र पंजा लगाएर जाने जति सावधानी अपनाउदै हामी निक्ल्यौ ओजन पार्कको बजार ।

हामी नेपालीहरुलाई मनपर्ने उही इन्डियन बजार त हो जहॉ हामीले खाने रासन सजिलै उपलब्ध हुन्छ ।ज्याक्सन हाइट्स जाने ऑटै आएन । मनमनै सोचें- हामीलाई त ऑट आएन र गएनौ तर त्यही बस्ने अरु साथीहरुलाई कस्तो हुदों हो……… मन खिन्न भयो ।

ज्याकसन हाइट्स जाने भनेपछि कहिल्यै नथाक्ने म त्यहॉका सारी पसल, गहना गुरीया, पटेल ब्रदर्स, सब्जी मण्डी, बुटाला, नेपाली रेस्टूरेण्टहरु सबै ऑखामा आए । कति शून्य होला त्यो ज्याक्सन हाइट्सको चौक जहॉ नेपालीहरु थुप्रै भेटिन्थे ।

जब ज्याक्सन हाइट्स पुग्छु, म नेपालको असन बजार घुम्दैछु जस्तो लाग्छ । सधै हिन्दी गानाहरु घन्किरहने, नुन देखि सुन सम्म पाइने मेरो प्यारो ज्याकसन हाइट्समा एक किसिमको अपनत्व भेट्छु म । आज ज्याकसन हाइट्स नगएर सब्ज़ी किन्न ओजन पार्क जानुपर्दा खल्लो लाग्यो मनमा । के गर्नु ? सकेसम्म सावधानी त अपनाउनै पर्यो नि । कोरोनाको मुख्य केन्द्र बिन्दु भन्ने थाह पाउदॉ पाउँदै कसरी जानु फेरी ?


हामी सिंग फार्म तिर लाग्यौ । पसल त्यति भिड़ थिएन, सामानहरु पनि त्यति थिएन- सेल्फहरु प्राय: खाली खाली थिए तर महंगाइले भने आकाश छोएको थियो । त्यत्रो ठूलो २४ घण्टा खुल्ला हुने स्टोरको त्यो अवस्था देख्दा नराम्ररी झस्किएँ ।

सधै किनिरहने :
करेला —
अहिले $ 4।99/ lb पहिले $1।99/lb
काउली—
अहिले $6।00 each पहिले $3।00 each
हरियो खुर्सानी —
अहिले $5।99/ lb पहिले $ 1।29/lb
रातो प्याज —
अहिले $9।00/pouch पहिले $ 6।00/pouch

रायो साग—-
अहिले $5।99/ lb पहिले 99 Cents/ lb
टमाटर —
अहिले $3।50/ lb पहिले 99Cents/ lb
लसुन—
अहिले $ 4।99/ stack। पहिले 99 Cents/ stack
पालुंगो—
अहिले $2।75 bunch पहिले $ 1।25/ bunch
कागती —-
अहिले $1।00 each पहिले $1।00 for 6 pc
दूध —-
अहिले $4।99/ gallon पहिले $ 2।99/ gallon
मैदा र सुजी त पाइएन पनि ।


यही अनुपातमा खाद्यान्नको बृद्धि दर बढ्ने हो भने त हामी जस्ता सर्वसाधारणहरुलाई न्यूयोर्कमा बॉच्न गार्हो पर्ने भो । अमेरिका भनेर मात्रै के गर्नु बाबै ? नेपालमा मात्रै यस्तो मौकाको फाइदा उठाउने “ठग” व्यापारीहरु हुन्छन् भनेको त यहॉ पनि ढेबु फिजाएर बसेका हुदॉरहेछन् दाउ हेरेर ।

के गर्नु ! यो कहरमा ग्रोसरी नै गर्न भनेर निस्किसकेपछि केही त किन्नै पर्यो, खाली हात फर्किने कुरा पनि त भएन । बाध्यता थियो मैले पनि अरुले जस्तै किनें चुपचाप, पापी पेटको सवाल जो छ ।

भर्खरै

सम्बन्धित खबर

Language »