सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगे

काठमाडौँ । दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आइपुगेका छन् । तीनदिने भ्रमणमा नेपाल आएका उनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेर फर्कने कार्यक्रम छ । कुटनीतिक स्रोतका अनुसार उनी तीन सदस्यीय टोलीसहित विस्तारा विमानमार्फत भारत हुँदै केहीबेरअघि काठमाडौंमा ओर्लिएका हुन् ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा लु नेपालको तीनदिने भ्रमणमा आएका हुन् । लुले अमेरिकी विदेशमन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने अवार्ड फर कर्पोरेट एक्सिलेन्स नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई प्रदान गर्ने छन् ।

‘उक्त कम्पनीले परम्परागत रूपमा सीमान्तकृत व्यक्तिहरू र शोषणबाट बचेकाहरूको सशक्तीकरण गर्दै नीतिपरक उत्पादनको प्रवर्द्धन गर्दछ,’ दूतावासले भनेको छ । यस्तै, सहायकमन्त्री लुले व्यापार, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग पनि भेटघाट गर्ने दूतावासले जनाएको छ । लु गत मंसिरमा नेपाल भ्रमणमा आएका थिए ।

नेपाल सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने निर्णय गरेको एक महिनापछि लुले नेपालको भ्रमण गरेका हुन् । सरकारले असार ६ मा एसपीपीलाई अघि नबढाउने निर्णय गरेको थियो । तर सरकारले हालसम्म अमेरिकालाई औपचारिक रुपमा पत्राचार गरेर जानकारी समेत गराइसकेको छैन ।

लुले मंसिरमा नेपालमा भ्रमण गर्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्‌बाट अनुमोदन भएको थिएन । उनले उक्त भ्रमणका दौरान नेपालको राजनीतिक र कूटनीतिक तहमा एमसीसी सम्झौतालाई अघि बढाउने सम्बन्धमा संवाद गरेर फर्केका थिए । नेपालको संसदले फागुन १५ मा एमसीसीलाई १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित संसद्‌बाट पारित गरेको थियो ।

उनी शनिबार कतार एयरलाइन्सबाट फर्किने छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »