सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अर्को वर्षको सुरूसम्म आमप्रयोगका लागि कोरोनाको भ्याक्सिन ल्याइसक्ने चीनको तयारी

काठमाण्डौ। एक चिनियाँ स्वास्थ्य विज्ञले चीनले आगामी वर्षको सुरुवातसम्म आम प्रयोगका लागि कोरोना भाइरस कोभिड-१९ को भ्याक्सिन ल्याइसक्ने सम्भावना व्यक्त गरेका छन्।

साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित समाचारका अनुसार आकस्मिक प्रयोगका लागि सेप्टेम्बरमा आउने अनुमान गरिएको सो भ्याक्सिन आममानिसको प्रयोगका लागि आगामी वर्षको सुरुवातमा उपलब्ध हुने अनुमान छ।

कुनै पनि चिनियाँ अधिकारीले कोरोना भाइरसको उपलब्धताका बारेमा समयसीमा तोकेको यो पहिलो पटक हो। खोपको विकास महामारीसँग जुधिरहेको विश्वका लागि महत्वपूर्ण हुने विश्वास गरिएको छ।

अमेरिकी खाद्य तथा औषधी व्यवस्थापनले भ्याक्सिन निर्माणबाट अमेरिका कम्तीमा एक वर्ष टाढा रहेको विश्वास गर्दै आएको छ। यसैगरी विश्व स्वास्थ्य संगठनले पनि यसका लागि १२ देखि १८ महिना लाग्ने बताइसकेको छ।

चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख गाओ फुले बिहिबार चाइना ग्लोबल टेलिभिजन नेटवर्कमा हाल खोपको दुई वा तीनवटा क्लिनिकल परीक्षण भएको र त्यो संक्रमण सम्भावित दोश्रो लहरको बेलासम्म उपलब्ध हुनसक्ने बताएका हुन्।

समाचारका अनुसार तीन चिनियाँ खोपले आफ्नो परीक्षणको पहिलो चरण पार गरिसकेको छ। ‘हामी भ्याक्सिन विकासको अग्रमोर्चामा छौं र आकस्मिक प्रयोगका लागि सेप्टेम्बरसम्म उपलब्ध भइसक्छ होला’,गाओले भने, ‘हाल परीक्षणका क्रममा रहेका यी नवनिर्मित भ्याक्सिन स्वास्थ्यकर्मीहरू जस्ता केही विशेष समूहका मानिसहरूलाई प्रयोग गर्न मिल्ने ठानिएको छ।’

गाओले आगामी वर्षसम्म स्वस्थ्य मानिसहरूका लागि खोप उपलब्ध भइसक्ने जनाए। ‘अर्को वर्षको सुरुसम्ममा स्वस्थ्य मानिसहरूका लागि खोप उपलब्ध भइसक्छ होला’, उनले भने।

उनले यसको सम्भावना भ्याक्सिन विकासको प्रगतिमा निर्भर गर्ने जोड दिएका छन्। गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाले हाल थुप्रै मानिसहरूलाई घरभित्र सिमित गरिदिएको छ।

निश्चित उपचार प्रक्रिया र खोप उपलब्ध नभएकाले मानिसहरूमा यस रोगलाई लिएर ठूलो त्रास छ। यस्तोमा उच्च तहका चिनियाँ अधिकारीले दिएको यो जानकारी राहत दिने खालको छ।

संसारमा हालसम्म २८ लाख बढी मानिस यसबाट संक्रमित भइसकेका छन् भने मृतक संख्या २ लाखको नजिक पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »