सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अर्थमन्त्री डा. युवराज खतिवडा सँगै १८ जना सांसदहरु मंगलबारबाट बिदा हुँदै

काठमाडौं । राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेर १८ जना सांसदहरु मंगलबारबाट बिदा हुँदैछन् । बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् छन् ।

अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाको कार्यकाल पनि आजबाटै सकिँदैछ । उनी राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए ।

दुईवर्षे कार्यकाल सकिने नेकपाका सांसदहरुमा हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली छन् ।

कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ । दुईवर्षे कार्यकाल भएका कांग्रेसका अर्का सांसद दुर्गाप्रसाद उपाध्यायको भने निधन भइसकेको छ ।

यसैगरी राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षे कार्यकाल सकिँदैछ ।

राष्ट्रियसभा सदस्यहरुको कार्यकाल गोलाप्रथाबाट निश्चित गरिएको थियो । ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेसले १३ सिट पाएको थियो । त्यसमा चिठ्ठा तान्दा ७ जना कांग्रेस सांसद दुईवर्षे कार्यकालमा परेका थिए ।

१८ जना सांसदको दुई वर्षे कार्यकाल सकिएर राष्ट्रियसभा सदस्य पद रिक्त हुनुअघि नै गत माघ ९ गते सातवटै प्रदेशमा चुनाव भएको थियो । जसमा नेकपाका १६ र राजपाका २ जना उम्मेदवार निर्वाचित भएका छन् । उनीहरुको सपथ ग्रहण मंगलबार हुँदैछ ।

डा. युवराज खतिवडाको ठाउँमा भने कसैको नाम सिफारिस हुन सकेको छैन । वामदेव गौतमको नाम सिफारिस गर्न नेकपा सचिवालयले निर्णय गरे पनि प्रधानमन्त्री ओलीले मानेका छैनन् ।

डा. युवराज खतिवडाले आफू दोहोरिने दाबी गर्दै आएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »