सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अस्पतालमा बेड नपाए के गर्ने ? – डा. रवीन्द्र पाण्डे

दोस्रो लहरको कोरोना संक्रमणले छिट्टै निमोनिया गराउने भएको हुँदा यति बेला सबै अस्पतालमा चाँप बढेको छ | जसको कारण अस्पतालमा बेड पाउनु निकै कठिन भएको छ | पिसिआर पोजिटिभ आएका तथा अक्सिजनको मात्रा ९० बाट पनि घटेका व्यक्ति १ मिनेट पनि घरमा बस्नुहुँदैन | यस्तो अवस्थामा नजिकको अस्पतालको फिभर क्लिनिकमा जानुपर्दछ | फिभर क्लिनिकमा चिकित्सकको जांच, एक्सरे आदि हुन्छ | त्यसपछि भर्ना हुने अवस्था भएमा उक्त अस्पताललाई नै बेड खोज्नको लागि अनुरोध गर्नुपर्दछ |

उपरोक्त अस्पतालमा बेड नपाएमा आफै अस्पताल खोज्दै भौतारिनु हुँदैन | त्यहाँ रहेको ट्रली, कुर्सि, चौर, बरण्डा जहाँ भएपनि बसेर उपचार सुरु गरिहाल्नुपर्छ | अस्पतालमा बेड प्याक हुने र खाली हुने क्रम भइरहेको हुन्छ | कहिलेकाँही केहि घण्टा असजिलो अवस्थामा बसेर प्रतीक्षा गर्दा बेड पाउने सम्भावना बढी हुन्छ | ट्रली वा कुर्सीमा बसेर उपचार गरेको बेला गाह्रो भएमा अस्पतालले आकस्मिक उपचार गर्दछ वा आफै बेड खोजेर अर्को अस्पतालमा पठाउँछ |

आइसीयुमा बस्नुपर्ने अवस्था भए उपरोक्त अस्पतालले या आइसियुमा एडजस्ट गर्छ या अर्को अस्पतालमा आइसीयु खोजेर पठाउँछ | यहि बीचमा स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएका हटलाइन तथा फोन नम्बरमा सम्पर्क गरेर बेडको खोजि गर्न सकिन्छ |

यस्तो बेलामा उच्च मनोबलले निकै काम गर्छ | धेरै बिरामी भुईमा सुतेर भएपनि उपचार सुरु गरेर निको भएर फर्किएका छन् भने कतिपय बिरामी आरामदायी बेडको खोजीमा भौतारिदा जीवनलीला समाप्त गरेका छन् | जीवन बच्यो भने घरकै आरामदायी बेडमा सुत्न पाइन्छ |

आफुले चिनेका अस्पतालका स्टाफ, आफ्ना जनप्रतिनिधि वा अन्य व्यक्तिसंग सम्पर्क गर्दा पनि बेड पाउने सम्भावना हुन्छ | अस्पतालको फिभर क्लिनिकमा उपचाररत भएर यी उपायको खोजी गर्नु बुद्धिमानी हुन्छ | गाह्रो भएको बेला सुरुमै घरबाट फोन गरेर बेड पाउने सम्भावना कम हुन्छ | विषम परिस्थितिमा अप्ठ्यारो भोगेर भएपनि उपचार पाइन्छ भने यो विकल्पलाई कहिल्यै पनि नजरअन्दाज गर्नुहुँदैन |

अस्पतालमा गएका हरेक बिरामीलाई आफ्नो समस्या सबैभन्दा ठूलो र महत्वपूर्ण लाग्छ | सबै चिकित्सक तथा नर्सले आफुलाई मात्र ख्याल गरे हुन्थ्यो भन्ने लाग्छ | चिकित्सक तथा नर्सको फोकस गम्भीर बिरामीमा हुन्छ | तसर्थ तपाईलाई कम महत्व दिनुको अर्थ तपाइंको अवस्था खतरा छैन भनेर पनि बुझ्नुपर्दछ | आफुलाई समस्या परेमा स्पष्ट रुपमा स्वास्थ्यकर्मीलाई बताउनुपर्दछ | शालीन ढंगले आफ्नो समस्या राख्दा राम्रो उपचार पाउने सम्भावना बढी हुन्छ |

सबैभन्दा ठूलो कुरा त मनोबल नै हो | म अस्पतालमा छु, छिटोढिलो उपचार पाउँछु, बेड पनि पाउँछु र सन्चो भएर घर फर्किन्छु भन्ने तीब्र इच्छाशक्तिले तपाइंलाई बचाउने छ | कतिपय बिरामी धेरै आत्तिएर पेनिक एट्याक हुन्छ | यस्तो अवस्थामा कोभिडको कारणले भन्दा पनि आत्तिनुको कारणले स्वास्थ्य जटिल हुन्छ | एक सर्को सास बाँकी छउन्जेल आत्मबल कायम रह्यो भने त्यहि एकसर्को सासले हामीलाई जीवनको सुन्दर बिहानीमा पुर्याउँछ | आत्मबल कमजोर भएमा स्वास्थ्य राम्रो भएपनि आकस्मिक घटना घट्न सक्दछ | तसर्थ उपचार र आत्मबल एकै सिक्काका २ पाटा भएको तथ्य कहिल्यै बिर्सिनु हुँदैन | कहिल्यै पनि आत्मबलभन्दा रोग ठूलो हुँदैन |

(डा. पाण्डे जनस्वास्थ्य बिज्ञ हुन )

श्रोत : डा. रबिन्द्र पाण्डेको फेसबूक बाट

भर्खरै

सम्बन्धित खबर

Language »